एन्फाका पूर्व अध्यक्ष गणेश थापाको आत्मकथा आउँदै

काठमाडौँ– एशियाली फुटबल महासंघ- एएफसीका पूर्वउपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघ- एन्फाका पूर्वअध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ।

बुक–हिल पब्लिकेशनबाट आगामी फागुनमा प्रकाशन हुने उक्त आत्मकथाको आवरण सार्वजनिक गरिएको छ।

सफलता, चर्चा, विवादलगायत सबै कोणबाट फुटबलको केन्द्रविन्दुमा रहेका थापाको आत्मकथामा उनको जीवनगाथासँगै नेपाली फुटबलको विकासक्रम समेटिने जनाइएको छ।

थापासँग जोडिएका चर्चित काण्डहरु– भ्रष्टाचार अभियोगमा सार्वजनिक लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय, फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाको निर्णय, एएफसीका तत्कालीन अध्यक्ष महम्मद बिन हमामसँगको सम्बन्धलगायत विषय पुस्तकमा समेटिने जनाइएको छ।

थापा भन्छन्, ‘पुस्तक आत्मश्लाघाको पुलिन्दा नहोस् भनेर मैले आफूलाई सकेजति इमान्दार र सत्यको नजिक रहेर प्रस्तुत गर्ने जमर्को गरेको छु।’

थापाले अहिलेसम्म सार्वजनिक नगरेका आफ्नो निजी जीवनका पाटा र फुटबल प्रशासनका बारेमा पनि पुस्तकमार्फत खुलासा हुने जनाइएको छ। पुस्तक वरिष्ठ खेल पत्रकार हिमेशरत्न बज्राचार्यको सहलेखन र सम्पादनमा तयार हुनेछ ।

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्