अष्ट्रियासँग जलविद्य‌ुतमा सहकार्य गर्ने सम्झौता

काठमाडौं– नेपाल र अष्ट्रिया उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन्। नेपाल र अष्ट्रियाबीच बनेको उर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देश उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका हुन्।

काठमाडौंमा सोमबार बसेको संयन्त्रको पहिलो बैठकमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाकोतर्फबाट त्यहाँको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी थिए। सम्झौता पत्रमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले गरेकी थिइन्।

संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दुधकोशी र एक सय मेगावाटको तामाकोशी–५ जलविद्य‌ुत आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्य‌ुत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको उर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए। त्यसैगरी नेपाल विद्य‌ुत प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागि समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ।

नेपाल र अष्ट्रियाबीच जलविद्य‌ुत पूर्वाधार प्रविधि सहकार्य सम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्द्रेईस रेईकार्डसँग सो सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने उक्त सहमतिमा उल्लेख थियो। त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारीसमेत त्यतिबेला भएको थियो।

समझदारी अनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने समझदारी अनुसार सोमबार दुवै पक्षबीच उक्त सहमति भएको हो।

कात्तिक ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्