सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता नहुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका सबै सैनिक सिरियाबाट फिर्ता नहुने बताएका छन् अगस्टको दोस्रो हप्ताको सुरुमा ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए ।

त्यसलगत्तै टर्कीले सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसलाई लक्षित गरी सैन्य आक्रमण सुरु गरेको थियो । ट्रम्पले टर्कीलाई आक्रमणका लागि स्वीकृति दिएको भन्दै तीव्र आलोचना भएको छ ।

विज्ञापन

इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईँमा कुर्दिसहरुको सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) ले साथ दिँदै आएको थियो । तर ट्रम्पले कुर्दिसलाई एक्लै पार्ने गरी सैनिक फिर्ता बोलाउने निर्णय गरेपछि टर्कीले आक्रमण गर्दा लाखौँ बिस्थापित भएका छन् ।

टर्की कुर्दिसलाई आतंकवादी मान्छ । हाल कुर्दिस र टर्कीबिच अस्थायी युद्धविराम भएको छ र त्यो मंगलबार बेलुका सकिँदैछ । कुर्दिस लडाकु मंगलबार बेलुकासम्ममा तय गरिएको स्थानबाट नबाहिरिएमा कडा कारवाही गर्ने टर्कीले बताइसकेको छ ।

यहिबिचमा ट्रम्पले सिरियाबाट पूरै अमेरिकी सैनिक फिर्ता नहुने बताएका हुन् । तेल उत्पादन क्षेत्र र इजरायल तथा जोर्डनको सीमामा अमेरिकी सैनिक रहने ट्रम्पले बताएका छन् ।

सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसको नियन्त्रण छ । तर अमेरिकाले साथ छोडेपछि सिरियाली सैनिकले उनीहरुको रक्षाका लागि साथ दिएका छन् ।

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्