मंसिर १४ को उपचुनावका लागि थप सुरक्षाकर्मी माग

फाइल तस्विर

सिमकोट– आगामी मंसिर १४ गते हुन लागेको उपचुनावका लागि हुम्लामा थप सुरक्षाकर्मी माग गरिएको छ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उपचुनावलाई लक्षित गरी थप सुरक्षाकर्मी माग गर्ने निक्यौल गरेपछि गृहमन्त्रालयमा थप सुरक्षाकर्मीको व्यवस्था गर्न माग गरिएको हो।

सुरक्षा समितिले उपचुनावमा सुरक्षा दिन थप प्रहरीको आवश्यकता महशुस गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर दुई सय जना सुरक्षाकर्मी माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए।

गत असार ३ गते जीप दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको निधन भएपछि सो पदका लागि उपचुनाव हुँदैछ।

आगामी कार्तिक २१ गते निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसैगरि सोही गाउँपालिकाको केन्द्रमा हालसम्म प्रहरी चौकी नभएको कारण अस्थायी प्रहरी चौकी स्थापनाका लागि गृह मन्त्रालयमा माग गर्ने समितिले निर्णय गरेको छ।

जिल्लाका अरु ६ वटा गाउँपालिकाका केन्द्रहरुमा प्रहरी चौकी स्थापना भइसकेका छन्।

कात्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्