धानबालीमा फौजी कीराको आक्रमण: क्षतिपूर्ति माग्दै मुख्यमन्त्रीलाई किसानको ज्ञापन पत्र

नेपालगञ्ज– प्रदेश नम्बर–५ की कृषि मन्त्री आरती पौडेलले बाँके र बर्दियाका पीडित किसानलाई क्षतिपूर्ति दिलाउने प्रतिवद्धता व्यक्ति गरेकी छन्।

बाँकेमा फौजी कीराले धानबाली नष्ट पारेको छ। बर्दियामा गरिमा धान पसाएको छैन। बाँके र बर्दियाको किसानको अवस्था अवलोकन गरेपछि कृषिमन्त्री पौडेलले दुवै जिल्लाका पीडित किसानलाई क्षतिपूर्ति दिलाउने बताइन्।

‘बर्दियामा गरिमा धान हेर्दा लहलह राम्रो देखिएको छ। गाँज ठूल्ठूला छन्। तर पसाएको छैन। हामीले धानको पकेट क्षेत्र मानिने राजापुर लगायत ठाउँको स्थलगत अवलोकन गरिसकेका छौँ’, मन्त्री पौडेलले भनिन्, ‘बदमासी कहाँबाट भयो पत्ता लगाएर उसलाई कारबाही गर्छौँ। पीडित किसानलाई क्षतिपूर्ति दिलाउँछौँ।’

बर्दियामा कम्तीमा ५ सय हेक्टरमा लगाएको गरिमा धान पसाएको छैन। मन्त्री पौडेलले यकिन तथ्यांक निकाल्ने काम भइरहेको जानकारी दिइन्। ‘जुन कम्पनीले गरिमा धान बेचेको छ। त्यसले किसानलाई क्षतिपूर्ति दिनुपर्छ’, मन्त्री पौडेलले थपिन्, ‘हामीले वास्तविकता बुझेपछि त्यस्ता कम्पनीलाई सिल गरिदिन्छौँ।’

बाँकेमा फौजी किराले पाकेको धान नोक्सानी गरेको सम्बन्धमा मन्त्री पौडेलले किसानलाई लागत अनुसारको क्षतिपूर्ति दिइने बताइन्। बाँकेमा १८ हजार हेक्टरमा लगाएको धानबाली फौजी किराले नष्ट गरेको तथ्यांक आएको छ।

जिल्लामा ३६ हजार ५ सय हेक्टर जमिनमा धानखेती गरिएको छ। मन्त्री पौडेलले क्षतिकाे तथ्यांक निकाल्न निर्देशन दिइसकेको र तथ्यांक आएपछि किसानलाई क्षतिपूर्ति दिलाउने आश्वासन दिएकी छन्।

यसैबीच, बाँकेका फौजी कीरा पीडित संघर्ष समितिले ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन्।

पार्टीको प्रशिक्षणका सिलसिलामा नेपालगञ्ज आएका मुख्यमन्त्री पोखरेललाई राजकुमार शुक्ला, दुर्गाप्रसाद पाण्डे, विनोदकुमार मौर्य, रामनिवास राढ, मोल्हे धोवी, कप्तान पाठक, बलेश्वर कुर्मीले ५ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएका हुन्।

जिल्लाका आठ वटै स्थानीय तहमा फौजी किराले धानबालीमा नोक्सानी पुर्‍याएकाले लागत अनुसारको उचित क्षतिपूर्ति उपलब्ध गराइदिन मुख्यमन्त्री पोखरेलसँग माग गरिएको छ।

ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री पोखरेलले यस विषयमा कृषि मन्त्रीले चर्चा गरिसकेको बताए।

कार्तिक ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्