च्याम्पियन्स लिग फुटबल

अन्ततः भव्य जित निकाल्यो साबिक उपविजेता टोटनह्यामले

साबिक उपविजेता टोटनह्यामले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह बी अन्तर्गत मंगलबार राति भएको आफ्नो तेस्रो खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले रेड स्टार बेल्ग्राडेमाथि ५–० को जित दर्ता गरेको हो । पहिलो हाफमा तीन गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

उसका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे भने एरिक लामेलाले एक गोल गरे । केनले ९ र ७२ औँ मिनेट तथा सनले १६ र ४४ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै लामेलाले ५७ औँ मिनेटमा गोल गरे ।

जितपछि तीन खेलबाट चार अंक जोडेको टोटनह्याम समूहको दोस्रो स्थानमा पुगेको छ र उ शीर्ष स्थानको बार्यन म्युनिख भन्दा पाँच अंकले पछि छ ।

मंगलबार राति नै भएको खेलमा बार्यन म्युनिखले ओलम्पिकासलाई ३–२ ले पराजित गरेको छ । उसको तीन खेलबाट ९ अंक भएको छ ।

कात्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्