च्याम्पियन्स लिग फुटबल

डिबालाको गोलमा युभेन्टसको जित

पाउलो डिबालाको गोलमा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा समूह डी को युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको युभेन्टसका लागि दुवै गोल डिबालाले गरेका हुन् । ३० औँ मिनेटमा अल मिरान्चुकको गोलबाट लोकोमोटिभले अग्रता लिएको हो ।

डिबालाले ७७ औँ मिनेटमा युभेन्टसका लागि बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरे र टिमको जित निश्चित गरे । यो खेलमा रोनाल्डोले भने गोल गर्न सकेनन् ।

जितपछि समूहको शीर्ष स्थानको युभेन्टसको तीन खेलबाट सात अंक भएको छ । यस्तै सोही समूह अन्तर्गत मंगलबार राति नै भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले बायर लेभरकुजनलाई १–० ले पराजित गरेको छ । उसको पनि सात अंक नै भएको छ ।

कात्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्