ट्रम्पले बाइडेनमाथि छानबिन गर्न युक्रेनलाई अनावश्यक दबाब दिएको उच्च कूटनीतिज्ञको भनाई

अमेरिकाका एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शर्तसहित सैन्य सहयोग उपलब्ध गराएको बताएका छन् । त्यो शर्त जो बाइडेनमाथि अनुसन्धान थाल्नु पर्ने रहेको ती कूटनीतिज्ञको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टरमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप छ ।
ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि आफ्ना प्रतिस्पर्धी राजनीतिज्ञको छवी धुमिल बनाउन विदेशी शक्तिको सहयोग लिन खोजेको आरोप छ । सोही आरोपमा अमेरिकाको तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा युक्रेनका लागि पूर्व अमेरिकी राजदूत बिल टेलरले संसदीय समितिमा बयान दिएका हुन् । त्यस क्रममा कूटनीतिज्ञ टेलरले ट्रम्पले पूर्व उपराष्ट्रपति बाइडेनमाथि छानबिन होस् भन्ने चाहना राखेको बताए ।
घरेलु राजनीतिक स्वास्र्थहरुका लागि युक्रेनसँगको सम्बन्ध प्रयोग हुँदै आएको बताएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनसँगको सम्बन्ध खासै महत्वपूर्ण नरहेको बताएका छन् ।
ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर त्यहाँका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई जो बाइडेन तथा हन्टर बाइडेनमाथि अनुसन्धान गर्न दबाब दिएको आरोप डेमोक्र्याटले लगाएका छन् । संसदको तल्लो सदनले यस ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरेर पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रमष्टाचार मुद्दामा छानबिन गर्न आग्रह गरेका थिए ।