नोबेल विजेता अभिजीत बनर्जी भन्छन्, ‘थाकिसकेको छु, अब सुत्न चाहन्छु’

यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार विजेता अभिजीत बनर्जी मंगलबार साँझ कोलकत्ता पुगे । कोलकत्ता पुगेलगत्रै उनले टेलिग्राफ अखबारसँग कुराकानी गरे । अभिजीतको कोलकत्तामा के योजना छ ? यस प्रश्नको जवाफमा उनले भने, ‘ घर गएर सुत्छु, जति सकिन्छ कम कुराकानी गर्नेछु । ’

नोबल पुरस्कार प्राप्त गरेपछि अभिजीत बनर्जी भारतमा चर्चाको केन्द्रमा छन् । तर अब उनी आफ्नो घर गएर केही समय शान्तिसँग बिताउन चाहन्छन् । मंगलबार साँझ कोलकत्ता एयरपोर्टमा उनले भने ‘मलाई घर आउँदा एकदमै खुशी मिलेको छ।’

अभिजीतका अनुसार उनी तीन महिना पहिला पनि घर आएका थिए । उनले भने, ‘तीन महिना पहिले घर आउँदा मलाई एयरपोर्टमा लिन कोही आएका थिएनन् म एक्लै थिएँ, त्यो नै सुन्दर थियो ।’

अभिजीत बनर्जी जब साँझ सात बजेपछि कोलकत्ता एयरपोर्टमा उत्रे त्यहाँ मानिसहरुको भीड उनको स्वागतको प्रतिक्षामा थियो । मेयर फिरहाद हकीम, मन्त्री ब्रात्य बसु र एयरपोर्ट डायरेक्टर कौशिक भट्टाचार्य उनका स्वागतका लागि पुगेका थिए ।

मानिसहरु बनर्जीसँग सेल्फी खिच्न तछाडमछाड गरे । त्यसपछि प्रहरीले अभिजीत बनर्जीलाई उनको घर छोड्यो ।

बनर्जी हाल अमेरिकामा प्राध्यापन गर्छन् । उनी मोदी सरकारका कटु आलोचकका रुपमा प्रख्यात छन्। बनर्जीले चुनावअघि भारतीय कांग्रेसको चुनावी घोषणापत्रमा गरिब परिवारको उत्थानका लागि वार्षिक ७२ हजार रकम उनीहरुको खातामा जम्मा गरिने कुरा उल्लेख गर्न सल्लाह दिएका थिए ।

कात्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्