कुनामा बसेर संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने दिन गएः प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले विश्वव्यापी स्वीकार्यता प्राप्त गरेको बताएका छन्।

आइपियु (अन्तर संसद संगठन)ले नेपालको संविधानलाई दिएको फ्युचर पोलिसी अवार्ड–२०१९ लिदै ओलीले नेपालको संविधानप्रति असन्तुष्टि व्यक्ति गर्ने अवस्थाको अन्त्य भएको बताएका हुन्।

विज्ञापन

अघिल्लो हप्ता सर्बियाको राजधानी बेलग्रेडमा भएको आइपियुको १४१औ सम्मेलनले नेपालको संविधानले युवा सहभागिता सशक्तिकरण विभेद अन्त्यको सुनिश्चितता गरेको भन्दै आइपियुले फ्युचर अवार्ड–२०१९ दिने निर्णय गरेको थियो।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालका तर्फबाट ग्रहण गरेको अवार्ड बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको हो।

अवार्ड लिँदै ओलीले भने, ‘नेपालको संविधान अन्तर्राष्ट्रिय क्षेत्रमा पुरस्कार हुँदा कुनामा बसेर असन्तुष्टि पोख्ने, देशलाई फाइदा हुने कुरा नगर्ने अवस्थाको अन्त्य भएको छ।’

उनले पुरस्कारलाई नेपालले अंगिकार गरेको संविधान, प्रणाली र नेपाली जनताप्रति गरिएको सम्मानका रुपमा लिनुपर्ने उल्लेख गरे।

‘यो सम्पूर्ण नेपाली जनताको शान्ति, समानता र विकासका पक्षमा भएको संघर्षको सम्मान हो। हाम्रो संविधान आइपियू जस्तो फोरमबाट सम्मानित भएको छ यो खुशीको कुरा हो, ओलीले भने।

ओलीले पुरस्कारबाट नेपालले युवाका सम्बन्धमा लिएको नीति ठीक रहेको पुष्टि भएको दाबी गरे।

कार्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू