तिहारको लागि बनाउँदै गरेको नेवारी मिठाइ लाखामरी। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
फोटो फिचर

तिहारको बहार, ‘लाखामरी’ उपहार

तिहार नजिकिदै जाँदा नेवारी संस्कृतिमा विशेष मानिने लाखामरीको परिकार बजारमा माग बढिरहेको छ। थरीथरीका लाखामरी भिन्दा-भिन्दै अवसरमा फरक-फरक आकारको अनिवार्यजस्तै मानिने यो लाखामरी तिहारमा दिइने भाइमसलाको लागि तयारी गरिँदै छ।

आकार अनुसार यसलाई मथ, अँय्था, नागबेली, न्या, ब्याँचा, चिकँअपा, गुलिमरी, अक्षतामरी भन्‍ने चलन छ।

विज्ञापन

पर्वमा मात्र नभइ विवाहका अवसरमा समेत लाखामरी अनिवार्य हुन्छ।लाखामरीको परिकारलाई विभिन्न आकारमा बनाई फरक–फरक नाम दिइएको हुन्छ।

लाखामरी एक किसिमको रोटी हो। यसमा चामलको पीठो र मासको धूलो मिसाई घ्यूमा पकाएर चास्नीमा डुबाएर गुलियो बनाइन्छ । यो खाँदा मीठो, गुलियो र झुरुमझुरुम हुन्छ। यसलाई झन्डै ६ महिनासम्म सुरक्षित राख्‍न सकिन्छ।

खासगरी नेवारी समुदायमा विवाहको अवसरमा जोप्रस्था (ठूलो, सानो), जिप्रसा (ठूलो, सानो), मथ (ठूलो, सानो), चिकंपा (ठूलो, सानो), अँय्था (ठूलो, सानो), न्या, ब्याँ, भत्तु, नागबेली, गुलिमरी आदिको आवश्यकता पर्छ।

हुन त पुरानो जमानामा लाखामरीलाई विवाहको अवसरमा निमन्त्रणाका रूपमा पनि प्रयोग गरेको पाइन्छ। पहिले-पहिले निमन्त्रणा दिँदा चिकंपा लाखामरी एक चौथाइ (चकंछी) दिँदा एकजना, आधा दियो भने माचाछी (श्रीमान्-श्रीमती र उनीहरूको छोरा-छोरी मात्र), सिङ्गै दियो भने सपरिवार भनी बुझ्नुपथ्र्यो। रोटीको किसिम आधा सिङ्गैका आधारमै दाइजो पनि दिइन्थ्यो। त्यस्तै, भोज खाइसकेर र्फकने बेला हातमा एउटा एउटा अँय्था रोटी दिएर पठाउने गरिन्छ। तर, यस किसिमको परम्परा हिजोआज धमाधम लोप हुँदै गएको देखिन्छ।

माघमा स्वस्थानी कथा भन्ने बेला बाखंपा (नैवेद्य)का रूपमा गुलिमरी, अँय्था मरी वा अक्षतामरी राख्ने चलन छ। तर, स्वस्थानी परमेश्वरीको व्रत बस्दा अनिवार्य रूपमा अक्षतामरीको आवश्यकता पर्छ।

स्वस्थानी व्रत हरेक वर्षको पौष शुक्ल पूणिमा देखि सुरु भएर माघ शुक्ल पूणिर्माको दिनमा एक सय आठ अक्षता रोटी राखेर देउता पूजा गरेर प्रसाद निकालेर आठवटा आफ्नो श्रीमानलाई दिएर सयवटा चाहिँ आफूले प्रसादका रूपमा खानुपर्छ। यो रोटी विशेषगरी यही अवसरमा मात्र बनाउने गरिन्छ।

तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीको पूजा गर्दा ८४ व्यञ्जन, सगुन (अन्डा, बारा, माछा, मासु, रक्सी) आदिका साथै रोटी, फलफूल तथा मसला आदि पनि चढाउने गरिन्छ। यस अवसरमा लाखमरी पनि चढाइन्छ र चार दिनमा वा भाइटीकाको भोलिपल्ट प्रसादका रूपमा सपरिवारसाथै छोरीबेटीलाई समेत बोलाई खुवाउने प्रचलन छ।

भाइटीकामा दिदीबहिनीले भाइपूजाका लागि पूजासामग्री साथै विभिन्न खाद्यसामग्री (कु) लिएर माइती जाने गर्छन्। त्यस्तै वैशाख कृष्ण औँशीको दिन आमाको मुख हेर्ने बेला र भाद्र कृष्ण औँशीको दिन बुवाको मुख हेर्न जाँदा छोरीहरूले कु (भारी) लैजाने गर्छन्। यही बेला अरू खाद्यवस्तुका साथै रोटी पनि राखेर लगिन्छ।

थरिथरिका जिन्सी रोटी वा मिठाइका साथै लाखामरी पनि लिएर जाने गरिन्छ। यस अवसरमा भने लाखामरी नै लैजानुपर्ने अनिवार्य भने छैन। तर, लाखामरी किस्तीमा सजाउँदा राम्रो एवम् गहकिलो देखिने र धेरै दिन टिकाउ वा हतपती नबिग्रने भएकाले लाखामरीलाई महत्त्व दिएको पाइन्छ।

यस किसिमको पर्वमा जिप्रसा, जोप्रस्था, मथ, अँय्था, गुलिमरी आदिमध्ये कुनै पनि रोटी राखेर लैजाने चलन छ। न्या, ब्याँ, भत्तु, नागबेली, गुलिमरी, चिकंपा, अक्षतामरीजस्ता रोटीहरू विशेष दिनमा बाहेक अरू पर्वमा बनाइँदैन। नेवार समुदायको विशेष मिठाई भएता पनि यो सम्पूर्ण नेपालीहरू माझ लोकप्रिय छ।