‘राजधानी’ विकासको मानक होइन-मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज-५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘राजधानी’ विकासको मानक नभएको बताएका छन् ।

‘समृद्ध खजुरा, हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गरिएको दुई दिने बृहत खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राजधानी नहुँदा विकास हुनै सक्दैन भन्ने भ्रममा नपर्न आग्रह गरे।

सांसद नन्दलाल रोकायदेखि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणासम्मले सबै पूर्वाधार भएर पनि नेपालगञ्जलाई प्रदेश राजधानीबाट टाढा पारेर विकासमा पछि पार्ने काम भएको गुनासो गरेपछि मुख्यमन्त्री पोखरेलले राजधानी विकासको मानक नभएको बताए।

‘राजधानी कहाँ हुने कुरा विकासको मानक होइन, विकास त राजधानी नभएपनि निरन्तर भइरहन्छ, मुख्यमन्त्री पोखरेलले भने, नेपालगञ्ज पछाडी पर्ने कुरा कल्पना गर्नै सकिदैन ।’

खजुराले १५ वर्षे मास्टर प्लान बनाएर काम गर्नका लागि विज्ञहरुसँग सल्लाह सुझाव लिन आयोजना गरेको बृहत सम्मेलनको स्वागत गर्दै मुख्यमन्त्री पोखरेलले हरेक वर्षको लक्ष्य निर्धारण गरेर काम गर्न सुझाव दिए।

‘मास्टर प्लान अनुसार काम गर्नुस्, त्यो दीगो हुन्छ, मुख्यमन्त्री पोखरेलले थपे, योजनासँग जनतालाई जोडेर अघि बढ्नुपर्छ।हरेक ठाउँको आफ्नै विशेषता हुने भएकाले त्यसलाई केन्द्रविन्दुमा राख्नुपर्छ ।’

सामाजिक अराजकता बढेकोमा चिन्ता गरेका मुख्यमन्त्री पोखरेलले लहलहैमा धारणा बनाउने जमात बढेको बताए।‘समाजको प्रगति चाहने हो भने राज्यप्रति विश्वास हुनेपर्छ, मुख्यमन्त्री पोखरेलले भने।

मुख्यमन्त्री पोखरेलले सरकारी जग्गा जोगाउन सबै लाग्नु पर्ने बताए।‘सरकारी जग्गा देख्ने बित्तिकै आँखा गाड्ने रोग छ।सरकारी जग्गालाई सबैले माया गरेर जोगाउनु पर्छ।विगतमा सरकारी जग्गा जोगाउन नसक्दा सिंहदरबार भनिएका कतिपय गाउँपालिकाका कार्यालयहरु कठ्ठामा खुम्चिएका छन्, पोखरेलले भने, कठ्ठामा कार्य पालिका बनाउने प्रस्ताव लिएर मकहाँ नआउनु होला ।’

खजुरा गाउँपालिकामा बन्दै गरेको पार्क हेरेर फर्किएका मुख्यमन्त्री पोखरेलले त्यो सानो पार्कलाई ‘आफ्नो टोपीजत्रो’ भनेर व्यंग्य गरे।
सांसद रोकाय, प्रदेश सांसद बाबुराम गौतम, गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले खजुराका धेरै गाउँहरु इजराइली मोडेलमा बनेको प्रशंसा गरेको सुनेका मुख्यमन्त्री पोखरेलले चर्चा इजराइली मोडेल भन्ने करेसाबारी बाँझो राखेर विकास नहुने बताए। ‘इजराइलले चट्टानमा खेती गर्छ।यहाँ चाहि करेसाबारी बाँझो छ, पोखरलले भने ।

मुख्यमन्त्री पोखरेलले वली सरकार बन्नु अघि चार प्रतिशत रहेको जीडीपी अहिले सात प्रतिशत पुगेको बताउदै छिमेकी देशका प्रधानमन्त्रीले गरेको कामको प्रशंसा गर्ने नेपालीहरु आफ्नो देशमा भएको प्रगतिको प्रशंसा गर्न कन्जुस्याई गर्छन् भने।

५ नम्बर प्रदेशका कृषिमन्त्री आरती पौडेलले युवालाई कृषिमा आकर्षित गर्न, खण्डित जग्गालाई एकीकृत गरेर खेती गर्न, किसानलाई सुलभ कर्जा दिन, ब्याजमा अनुदान दिने कार्यक्रमहरु अघि सारेको जानकारी दिइन् ।

सांसद नन्दलाल रोकाय र प्रदेश सांसद बाबुराम गौतमले नेपालगञ्ज–गौघाट सडकका लागि परेको बताए।गाउँपालिकाका अध्यक्ष कक्षपतिले सम्मेलनमा १० वटा कार्यपत्र प्रस्तुत हुने र त्यसको निचोड अनुसार योजना अघि बढ्ने बताए।

कात्तिक ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्