ट्रम्पले ९ दिनमै हटाए टर्कीमाथिको प्रतिबन्ध

अमेरिकाले टर्कीमाथिको प्रतिबन्ध हटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि लगाएको प्रतिबन्ध ९ दिनपछि बुधबार फिर्ता लिएका हुन् ।
टर्कीले सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसलाई लक्षित गरी सैन्य आक्रमण गरेपछि ट्रम्पले टर्कीका उच्च अधिकारी तथा स्टीलसहित सामानको कर बढाएका थिए ।
तर रुस र टर्कीबिच कुर्दिसलाई सीमा क्षेत्रबाट परै राख्ने सम्बन्धमा सहमति भएसँगै ट्रम्पले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका हुन् ।
टर्की युद्धविराम लम्याउन तयार हुने गरी सीमा क्षेत्रमा कुर्दिसहरुलाई परै राख्नका लागि रुसले सेना तैनाथ गर्ने गरी टर्की र रुसबिच सहमति भएको थियो ।
टर्कीले गर्दै आएको आक्रमण रोक्ने प्रतिबद्धता जनाएको र स्थायी युद्धविराम गर्ने बताएको दाबी ट्रम्पले गरेका छन्।
आफूहरुलाई मन नपर्ने गतिविधि नभएसम्मका लागि टर्कीमाथिको प्रतिबन्ध फुकुवा गरेको ट्रम्पले बताएका छन् । उनले अमेरिका अब सो क्षेत्रबाट बाहिर निस्कने बेला भएको र त्यहाँ अरुलाई नै लड्न लिनु पर्ने बताए ।
‘रगतले लत्तपतिएको क्षेत्रमा अरुलाई नै लड्न दिउँ’ ट्रम्पले भनेका छन्।
सिरियाको उत्तरी क्षेत्र टर्कीसँग जोडिएको छ र सो क्षेत्रमा कुर्दिसको नियन्त्रण छ । कुर्दिसलाई टर्की आतंकवादी मान्छ । टर्कीमा पनि कुर्दिसको बसोबास छ, उसले त्यहाँका कुर्दिसलाई दमन गरेको आरोप लाग्दै आएको छ । अगस्टको पहिलो हाप्तासम्म अमेरिकाको साथ पाएका सिरियाली कुर्दिसका कारण आफ्नो देशमा हिंसा फैलिन सक्ने भन्दै टर्कीले उनीहरुलाई सो क्षेत्रबाट हटाउनु पर्ने बताउँदै आएको थियो ।
अगस्ट ९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरे । त्यसलगत्तै टर्कीले कुर्दिसलाई लक्षित गरी सैन्य आक्रमण थाल्यो । त्यसको चौतर्फी आलोचना भयो । अमेरिकी राष्ट्रपति ट्रम्पको सेना फिर्ता बोलाउने निर्णयको पनि आलोचना भइरहेको छ ।
कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) को नियन्त्रणमा रहेको सिरियाको उत्तरी क्षेत्रमा सिरिया सरकारको शासन छैन । एसडिएफले आइएसविरुद्धको लडाईँमा अमेरिकी सेनालाई साथ दिँदै आएको थियो । तर ट्रम्पले सेना फिर्ता बोलाउने निर्णय गरेर आफूहरुलाई धोका दिएको तथा एक्लै पारेको कुर्दिसको भनाई छ ।
सिरियाका राष्ट्रपति बसर अल–असदको सहयोगी रुसले टर्कीसँग पनि हात मिलाएपछि कुर्दिसहरुमाथि थप संकट पैदा हुने विश्लेषण पनि गरिएको छ ।