सोचले जन्माएको पुरानोलाई नयाँ बनाउने व्यवसाय

पुरानो लुगाबाट नयाँ झोला

पुरानो लुगाबाट नयाँ झोला

काठमाडौँ – तपाईँहरु पुराना लत्ताकपडा के गर्नु हुन्छ ? पक्कै पनि फ्याक्ने या थन्काएर राख्नुहुन्छ होला ? तर, पुराना लत्ताकपडा पुनः प्रयोग गरेर अन्य सामग्री बनाउन सकिन्छ भन्ने सोच्नु भएको छ कहिले ?

२३ वर्षीय पुष्पा स्थापित र २६ वर्षीय राजन चक्रधरले पुरानो लुगा पुनः प्रयोग गरेर नयाँ सामग्री बनाउने काम गरिहेका छन् । उनीहरुले यसलाई व्यवसायिक रुप दिएका छन् । नयाँ सोचलाई व्यवसाय बनाउने पुष्पा बाङ्गेमुडा र राजन जोरपाटी बस्छन्।

विज्ञापन

उनीहरु किङ्स कलेजमा एमबिए पढ्दै छन्। पढाईसँगै उनीहरुले फरक किसिमको व्यवसायलाई अंगालेका छन्।

पुष्पाको परिवारमा पुष्पाका आमाबुबा र उनकी बहिनी छिन् भने राजनका परिवारमा उनका बुबाआमा र उनी मात्र छन्।

राजनका बुबाले व्यवसाय गर्छन् भने पुष्पाका बुबाले पनि व्यवसाय गर्छन् । उनकी आमाले सिलाईबुनाईको काम गर्छिन्।

उनीहरुले करिब एक लाखको लागतमा संयुक्त रुपमा व्यवसाय सुरु गरेका हुन्। उनीहरुले प्रोजेक्टमा कस्तो उपाय प्रस्तुत गर्ने भनेर अनुसन्धान गरे र उनीहरुलाई पुरानो लुगाबाट नयाँ सामग्री बनाउन सकिन्छ भन्ने उपाय थाहा भयो र त्यो आइडियालाई क्याम्पसमा पस्तुत गरे।

त्यसपछि उनीहरुले यसलाई कलेजको प्रोजेक्टमा मात्र सीमित नराखेर यसलाई व्यवसायिक रुपमा अगाडि बढाउने निर्णय गरे।

उनीहरुले पुनः अनुसन्धान गरे बजार र यसलाई कसरी सफल बनाउने भनेर । उनीहरुले विशेषगरी पुराना जिन्सका लुगाहरुलाई संकलन गरेर सो लुगाबाट नयाँ सामग्री बनाउने गर्छन्।

क्याम्पसको प्रोजेक्टले उमारेको सोच

क्याम्पसमा उनीहरुलाई नयाँ आइडिया प्रस्तुत गर्नुपर्ने प्रोजेक्ट थियो। उनीहरुले आइडिया प्रस्तुत गरे र सबैले मन पराए पनि। त्यसपछि पुष्पा र राजनले यसलाई व्यवसायिक रुपमा अगाडि सोच बनाए ।

राजन भन्छन्, ‘हामीले सुरुमा बजारमा अनुसन्धान गर्‍यौँ र विभिन्न अनलाइनमा पनि हेर्‍यौँ। हामीले बढी अनुसन्धान अनलाइनमा नै गरेका हौँ।’
उनीहरुले अनुसन्धान गरेपछि राम्रो प्रतिक्रिया पनि पाए। जसले उनीहरुको यो सोचलाई व्यवसायिक स्वरुप दिन अझ मद्दत गर्‍यो।

पुष्पाले भनिन् ‘म पनि सिलाईबुनाइको काम गर्थे र मेरो कबड (दराज) मा धेरै पुराना लुगा थुप्रिएका थिए। यसलाई पुनः प्रयोग गर्छु भनेर आमासँग सल्लाह गरेँ।’

आमासँगको सल्लाहपछि उनीहरुले एक लाख रुपैयाँको लागतमा आफ्नै संस्था ‘अप साइकल नेपाल’ सुरु गरे । सुरुमा उनीहरुले दुईजना कामदार राखे । पुष्पाकी आमाले उनीहरुलाई साथ दिइन्। पुष्पाकी आमाको सहयोगमा उनीहरुले पहिलो पटक ल्यापटप ब्याग बनाए।

बिस्तारै उनीहरुले अन्य सामग्रीहरु पनि बनाए र बजारमा लगे। उनीहरुलाई बजारबाट राम्रो प्रतिक्रिया आयो। उनीहरुलाई काम गर्ने उर्जा थपियो राम्रो प्रतिक्रियाले।

पुष्पाले भनिन् ‘मानिसहरुसँग पुराना लुगा धेरै हुन्छन्। उनीहरुको ती लुगासँग भावना जोडिएको हुन्छ, उनीहरु फ्याक्न चाँहदैनन्। उनीहरु ती लुगालाई नयाँ तरिकाले प्रयोग गर्न चहान्छन्। तर त्यो गर्न सकिरहेका छैनन्। जसलाई अप साइकल नेपालले गर्न सक्छ।’

अप साइकल नेपालले अडर अनुसारका सामग्री बनाउने र आफै बनाएर पनि बिक्रि गर्ने गर्छ ।

कारोबार कति ?

तर उनीहरुले अप साइकल संचालन गरेको एक वर्ष भयो। एक वर्षमा उनीहरुले बिक्री गरेका वस्तुहरुबाट आएको नाफाले उनीहरुले संचालन गर्दा लगाएको लागत चुक्ता गर्न ठिक्क हुने उनीहरुको भनाई छ।

उनीहरुले कारोबार राम्रो गरे पनि ऋण लिएको चुक्ता गर्नु पर्ने बताउँछन् राजन। उनी भन्छन्,‘राम्रो कारोबार हुन्छ, तर हामीले सुरुमा एक लागतमा सुरु गरे पनि बिस्तारै मेसिनहरु थप्दै गयौँ जसका कारणले आएको नाफाले लागत चुक्तामा नै खर्च हुन्छ।’

चुनौतीहरु कस्ता-कस्ता ?


 

उनीहरुले कामको सुरुवात गरे। तर आफ्नो कामबारे मानिसहरुलाई बुझाउँन निकै गाह्रो थियो। मानिसहरु पुराना लुगाबाट बनाएको सामग्री भन्दा किन्न त्यति रुचाएनन् । राजन भन्छन् , ‘सुरुमा त मानिसहरुलाई खोज्न नै गाह्रो थियो।’

उनीहरुले बनाएका सामग्रीहरुका बारेमा बजारमा बुझाउन त्यतिकै चुनौतिको कुरा थियो। तर पनि उनीहरुले आफ्नो काम रोकेनन्। पुष्पाले भनिन् ‘हरेक पाइलामा चुनौतिहरु हुन्छन्। तर काम गर्दै जाँदा ती चुनौतिहरु आफै हराएर जाने रहेछन्।’

अहिले पुष्पा र राजनको कामको सबैले प्रशंसामा गर्छन्। विभिन्न ठाँउबाट अर्डर आउँछ। र उनीहरुले बनाएका सामग्री बिक्री हुने निश्चित ठाँउ छ।

उनीहरुले राम्रो आम्दानी गरेका छन्।

कच्चा प्रदार्थ कहाँबाट ल्याउने ?


राजन र पुष्पाले अप साइकलका लागि कच्चा प्रदार्थ अनलाइन, क्याम्पस, र पार्टनर एप माध्यमबाट पुराना लुगाहरु संकलन गर्छन् । राजनले भने ‘कतिपय मानिसहरु हामीलाई फेसबुकमा म्यासेज गर्छन् भने कतिपयले फोन गरेर खबर गर्छन्। हामी खबर अनुसार संकलन गर्न आफै जान्छाैँ। ’

यसरी संकलन गरेको पुराना लत्ताकपडालाई उनीहरुले ल्याएर सफा गर्छन् र काम लाग्ने कपडा प्रयोग गरेर ल्यापटप ब्याग, मेकअप ब्याग, पाउच, साइड ब्याग, बनाउने गरेका छन्। राजनका अनुसार अझै नयाँ–नयाँ डिजाइनका वस्तुहरु बनाउने प्रयास उनीहरुको छ ।

तालिम कहाँबाट ?


अप साइकल नेपाल राजन र पुष्पा मिलेर सुरु गरे पनि ब्यागहरु बनाउन सिकाउने काम भने पुष्पाले गरेकी हुन्।

पुष्पाको परिवारको पुर्खौली पेसा नै सिलाईबुनाइ भएकाले उनलाई सिलाईबुनाई आउँथ्यो। तर उनले आफ्नी आमाको पनि मदत लिइन्।

उनीहरुले अनलाइनमा हेरेर र आमाको मदतले ब्याग तयार गर्न सिकिन्। उनले भनिन् ‘मैले अन्य दुई जना कामदारलाई पनि तालिम दिएर काममा राखेका हौँ ।’

उनले थपिन् ‘प्रत्येकको घरमा पूराना लुगाहरु हुन्छन्। ती लुगाहरुलाई यत्तिकै राख्नु या फाल्नुको सट्टा त्यसको पुनःप्रयोग गरेर दैनिक जीवनमा प्रयोगमा आउने वस्तु बनाउने हाम्रो मुख्य उद्देश्य हो।’

तस्बिरहरु : रविन आचार्य/देश सञ्चार

कार्तिक ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू