के हो र्याप? के छ यसको इतिहास?

र्याप विश्वव्यापी रुपमा संगीतको स्थापित विधा हो। पप–कल्चरसँग जोडिएको र्याप संगीत पश्चिमी देशमा अधिक प्रचलित छ।
नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरुमा र्याप संगीतको लोकप्रिय ‘जनरा’ का रुपमा स्थापित हुँदै गएको छ। विशेष युवा पुस्तामा र्याप लोकप्रिय छ।
र्याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ (कथा भन्ने शैली)सँग जोडिएको छ। र्याप गीत हो, यसको लय पनि हुन्छ। तर परम्परागत रुपमा बुझ्ने गरिएको जस्तो स्थापित लय हुँदैन। यसमा र्यापर (अर्थात कथा वाचक) ले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रास युक्त तर बोलीचालीको भाषा गाउँछन्।
र्
र्यापको उत्पति पश्चिम अफ्रिकाबाट भएको मानिन्छ । पश्चिम अफ्रिकाका इतिहासकारका रुपमा लिइने ग्रिओट्सले आफ्नो गाउँबस्तीको कथा लयबद्ध रुपमा भन्ने गरेको इतिहास छ। त्यो नै र्याप संगीतको आधार मानिन्छ।
सन् १९६० को दशकमा अमेरिकामा र्याप संगीत, विशेष गरी कालो जातिका समुदायमा लोकप्रिय बन्दै गयो। ६० र ७० को दशकमा कालो जातिका किशोर किशोरीले अमेरिकामा सडकहरुमा र्याप प्रस्तुत गर्न थालेको इतिहास छ। त्यसपछि बिस्तारै अरु समुदाय र वर्गमा समेत लोकप्रिय हुँदै गएको र्याप हाल विश्व संगीतको महत्वपूर्ण विधा हो।
यसैगरी र्यापसँग रंगभेदको कुरा पनि जोडिएको छ। कालो जातिका मानिसहरुमाथि छालाको रंगकै आधारमा विभेद र अमानवीय व्यवहार हुने गरेको थियो र अझै पनि छ।
रंगभेद विरुद्धको अभियानमा कालो जातिका समुदायहरुले आफ्नो विरोधका स्वरहरु सुरुमा र्याप मार्फत प्रस्तुत गरेको पाइन्छ। उनीहरुले दमन र विभेदको विरोधमा र्यापलाई प्रयोग गरे। यसैले र्याप संगीतलाई रंगभेद विरोधी आन्दोलनको सारथीका रुपमा पनि लिइन्छ।