सरकार, र्‍यापमा माधव घिमिरेको जस्तो अलंकार हुँदैन!

काठमाडौं- चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’लाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध र बहस सुरु भएको छ।

अभद्र, अश्लीलता र छाडापन बोलेको भन्‍दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेपछि सामाजिक सञ्‍जाल ट्विटरमा विरोध र बहस गर्दै आम नागरिकले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरिरहेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा दोस्रो दर्जाकी ह्‍याण्डलबाट परिचित सावित्री गौतमले सरकारी सञ्‍चारमाध्‍यमले पनि उनकै ‘छोरी तरुनी, हामीलाई के को दोष’ बोलको गीत किन वर्षौँ घन्काइएको भनेर प्रश्‍न गरेकी छिन्।

उनले प्रहरी हेडक्वार्टरलाई मेन्सन गर्दै भनेकी छिन्, ‘उनकै छोरी तरुनी हामीलाई उल्टै दोष’ जस्ता संस्कारी गीत चाहिँ सरकारी सञ्चारमाध्यममा घन्काइयो वर्षौंवर्ष। दुर्गेश/भिटेनहरु त्यही ‘झुरता’को निरन्तरता मात्रै हुन्। यी तपाईंहरुले बेकारको बहादुरी देखाउने भन्दापनि पब्लिक बहसबाट निरुत्साहित हुँदै जानुपर्ने कुरा हुन्।’

यस्तै ट्विटर ह्याण्डलमा काग दाईबाट चर्चित दिपेश कोइराला विरोध गर्दै लेख्छन्, ‘छोरी भन्दा आमा तरुनी” भनि गित गाउनेलाई पनि जेल हाल्नुपर्छ। अर्काकी आमा छोरी दुबै ताक्ने? सांस्कृतिक विचलन ल्याउन खोज्ने? हेप्नी, दुइ तिहाइलाई हेप्नी?नटेर्ने गिजाउने।’

यस्तै पत्रकार नारायण अमृतले पनि पक्राउप्रति आपत्ति जनाउँदै र्‍यापमा माधव घिमिरे या रत्नशमशेर थापाका अलंकार खोज्‍न नहुने असन्तुष्टि व्‍यक्त गरेका छन्। उनले भनेका छन्, ‘र्‍यापमामाधव घिमिरे या रत्नशमशेर थापाका अलंकार खोजेर हुँदैन। र्‍याप संगीतको जनरा र यसको चरित्र बुझे मात्र भिटेनलाई बुझ्न सकिन्छ। संस्कृतिका ठेकेदारहरू के बुझ्न जरूरी छ भने र्‍यापरलाई थुनेर समाज स्वच्छ हुँदैन। हाम्रो समाज र सत्ताको खराबी अरू ठाउँमा छ।’

यस्तै ट्विटरमा ‘बी’नामबाट चिनाउने अभियन्ताले भिटेनको गीतलाई निषेध गर्न नमिल्‍ने तर्क गरेका छन्। उनले प्रहरीको पक्राउप्रति विरोध गर्दै ट्विटमा भनेका छन्, ‘कस्तो गीत गाउने, नगाउने त्यो पनि सरकारले तोकिदिने? गीत, संगीत, कला, व्यङ्ग्य आदिमा कुनै पनि प्रकारको रोकटोक गर्न मिल्दैन/गर्न दिनु हुन्न। कन्टेन्टको आलोचना/बहिष्कार हुन सक्छ, मानहानी भए कानुनी उपचार गर्न सकिन्छ तर निषेध गर्न मिल्दैन।’

यस्तै विद्यार्थी नेतृ एलिजा ढकालले अश्लीलता प्रोत्साहन गरेको आरोपमा पक्राउ पर्दा भ्रष्टाचार गर्नेहरु नै सिंहदरवारमा बसेको नसुहाएको भन्‍दै सरकारप्रति व्‍यङग्य गरेकी छिन्।
उनले ट्विटरमा भनेकी छिन्, ‘गाँजा, मदिरालाई प्रोत्साहन गरेको आरोपमा दुर्गेस थापा र अश्लीलतालाई प्रोत्साहन गरेको अरोपमा V-Ten समातिदा भ्रष्टाचारलाई प्रोत्साहन गर्नेहरु सिंहदरबारमा बसेको अलि सुहाएन कि सरकार?’

 

कात्तिक ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्