तिहारको मुखमा बजार अनुगमन

नेपालगञ्‍जमा मिठाइ बनाउने ठाउँ नै ‘फोहोर’

नेपालगञ्‍ज-तिहारको मुखैमा नेपालगञ्जका मिठाइ पसलमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन, बाणिज्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता समितिका पदाधिकारीले नेपालगञ्जको धम्बोझीचोक, घरबारीटोल र बागेश्वरी मन्दिर आसपासका मिठाइ पसलको अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा सबैजसो मिठाई पसलको ‘भान्छा घर’ फोहोर देखिएका छन्। बिक्रीका लागि राखिएका मिठाई पनि ‘व्यवस्थित’ तरिकाले राखिएको पाइएन। कोही पसलको दर्तासम्म थिएन। मूल्य सूची राखिएका थिएनन्।

अनुगमन टोलीले मिठाई पसल सञ्चालकलाई भान्छा घर अर्थात मिठाई बनाउने ठाउँ सफा राख्न, पसल दर्ता गर्न, बाहिर राखिएका मिठाईलाई व्यवस्थित तरिकाले राख्न, मूल्य सूचीमा राख्नलगायतका सुझाव दिएको छ। केहीलाई निश्चित समय दिइएको थियो। उनीहरुलाई बाणिज्य कार्यालयमा बोलाइएको छ।

कतिपय पसलको भान्छा घरमा जादा नाक थुन्ने अवस्था थियो। दुर्गन्धित थियो। जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेलका अनुसार, सबैजसोको कुनै न कुनै कागजात कमी थियो। सफाईमा पनि लापरबाही देखियो। उनले मापदण्ड पूरा नगरेका पसललाई ठाउँको ठाउँको कारबाही गर्नुपर्ने भएपनि एकपटकलाई सम्झाएर छोडिएको बताए।

तिहारमा मिठाईको कारोबार बढ्ने गर्दछ।व्यापारीले छिटो पैसा कमाउनका लागि सफाईमा ध्यान नदिने, मिसावट गर्ने गुनासो आउने गर्दछ। धम्बोझीका शान्ति स्वीट्सका सञ्चालक दिनेशकुमार तमौलीले अहिले दिनमा १५ हजार बढीको कारोबार भइरहेको बताएकाले पनि तिहारमा मिठाईको मागको सहजै अनुमान गर्न सकिन्छ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नेत्रा बोगटी, बाणिज्य कार्यालयका कल्पना दुलाल, उपभोक्ता समितिबाट प्रभातकुमार ठकुरी, वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरिराज रावत सहभागी थिए।

कार्तिक ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू