विराटनगर विमानस्थलमा प्रचण्डद्वारा बोल्न अस्वीकार, मौनता साँधेको आभास

फाइल तस्बिर

मोरङ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर विमानस्थलमा पत्रकारले समग्र राजनीतिक विषयमा कुरा राख्न आग्रह गर्दा बोल्‍न अस्वीकार गरेका छन्।

नेपालीहरुको चाडपर्व तिहारका अवसरमा शुभकामना आदानप्रदानका लागि आयोजना गरिएको कार्यक्रममा सहभागि हुन आएका अध्यक्ष पुष्पकमल दाहाल मौन रहदाँ नयाँ तरंगको आभास देखिएको छ।

शुक्रबार आयोजित कार्यक्रमका लागि अध्यक्ष दाहाल श्रीएयर लाइन्सको विमानबाट १२:३० बजे बिराटनगर विमानस्थलमा अवतरण गरेका थिए। विराटनगर आउदाँ या यहाँ भएर अन्यत्र कतै जादाँ प्रमुख नेताहरुले सञ्‍चारकर्मी माझ संक्षिप्त कुराकानी गर्ने गरेका छन्।तर, यसपटक नेकपाका अध्यक्ष दाहालले विराटनगर विमानस्थलमा मौनता साँधे।

विगतमा विमानस्थलमै पत्रकारसँग कुरा गर्न तम्तयार हुदै आएका अध्यक्ष दाहाल यसपटक भने पत्रकारमाझ खुल्न चाहेनन्।नेकपा मोरङको शुभकामना आदानप्रदानका लागि विराटनगर आएका अध्यक्ष दाहाललाई विमानस्थलमा पत्रकारले समग्र राजनीतिक विषयमा कुरा राख्न आग्रह गरेपनि उनले अस्वीकार गरे। विहान करिब १० बजेबाटै विमानस्थलमा अध्यक्ष दाहालको प्रतिक्षामा पत्रकार रहेका थिए।

राजनीतिक र सँगसँगै सत्ता साझेदारको विषयमा उनले केही कुरा राख्छन् भन्ने अपेक्षा धेरै पत्रकार रहेको थियो। तथापी, अध्यक्ष दाहालको मौनता विमानस्थलबाट ओर्लदै झकिन्थ्यो। विमानबाट ओर्लिएसंगै सीधै गाडीमा बसे। सो क्रममा अति विशिष्ठ कक्ष भिभिआईपी कक्षमा पत्रकारहरु उनको अभिब्यक्ति लिनका लागि आतुर थिए।

सोही कक्ष भएर बाहिरिएका अध्यक्ष दाहाललाई नेता विनोद ढकालले समेत पत्रकारबीच केही बोलिदिने कि भनेर सुझाएका थिए। तर, दाहालले ढकाललाई समेत आफू बोल्ने मूडमा नभएको जनाउ दिँदै बाहिर उनलाई पर्खिरहेको गाडीमा गएर बसे।

‘अध्यक्ष दाहालले’ बोल्न नचाहनु र नेकपाले नेताले गरेको आग्रहलाई समेत अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। ‘सधैं पत्रकार सामु कुरा राख्न आफै इच्छा व्यक्त गर्नु हुन्थ्यो,’ नेकपाका एक नेताले भने, ‘अहिलेको राजनैतिक परिवेश र व्यस्तताका कारण आज भने उहाँबोल्ने ‘मुड’ मै हुनु हुन्न थियो।’

विहानैबाट नेताहरु आउने भन्दै विमानस्थलमा बसेका थियौं तर अध्यक्ष दाहालले नबोलिदिदाँ केही गम्भीर कुरा छ भन्ने लागेको छ, पत्रकार किशोर बुढाथोकीले भने। त्यसैगरि, नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले भने, ‘बोल्न नमानेपछि हातमा कपी, कलम, क्यामेरा र रेकर्डर बोकेर तयारी अवस्थामा रहेका सबै पत्रकार जिल्ल परेर फर्कनु पर्‍यो।’

यसअघि, कार्यवहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा पत्रकारसँग दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एवं सरकार सञ्चालनका लागि ‘आलोपालो’ गर्ने सवालमा कुनै पनि संस्थागत सहमति नभएको बताएका थिए।

पोखरेलले ओली र ‘दाहाल’बीच कुनै विवाद पनि नरहेको दाबी गरिरहँदा विमानस्थलमा आफ्ना कुरा राख्न अस्वीकार गरेका ‘प्रचण्ड’ भने जहाजबाट ओर्लिएर सिधै कार्यक्रमस्थल नेकपा पार्टी कार्यालय पाञ्चाली पुगेका हुन्।

कात्तिक ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्