‘र्‍याप भनेको शोषणको आक्रोश हो, संस्कृति सुहाउँदो चाहिए लोकगीत र भजन सुनौँ’

‘र्‍यापिस्टहरूको राज्यमा र्‍यापरहरू प्रतिबन्धित हुन सक्छन्। र्‍यापिस्टले फिजिकल्ली … हो, र्‍यापरले …भर्बल्ली हो ! खोइ कुरो बुझ्या!’

शुक्रबार बिहान युवा गीतकार भुपेन्द्र खड्काले सामाजिक सञ्जालमा गरेको यो ट्विट अर्थपूर्ण छ। चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई गीतमा प्रयोग भएको शब्दका कारण प्रहरीले पक्राउ गरेपछि अभिव्यक्ति स्वतन्तत्राको बहस थप पेचिलो बनेको छ। सिर्जना  गरेकै कारण लाखौँ ‘फ्यान फलोइङ’ भएको व्यक्तिलाई पूर्वसचेतसमेत नगरी थुनामा राखिएको भन्दै चर्को विरोध भइरहेको छ, विभिन्न माध्यमहरुमार्फत। यही विषयमा देशसञ्चारले गीतकार खड्कासँग कुरा गरेको छ। खड्कासँगको कुराकानी उनकै शब्दमा। 

र्‍याप संगीत भनेको आयातीत संगीत हो। यसमा हाम्रो मौलिकता खोजेर हुन्न। खासगरी श्वेत (गोरा) जातिहरुले गरेको दमन र शोषणको विरोध गर्न अश्वेत (काला) जातिहरुले ‘र्‍याप’ खोजेका थिए जसमार्फत उनीहरुले शोषणविरुद्ध आक्रोश व्यक्त गरे।

यसमा के बोल्ने या नबोल्ने तथा बोल्न मिल्ने र बोल्न नमिल्ने भन्ने हुँदैन। हामीले विदेशका र्‍यापहरु सुनियौँ भने यो बुझिन्छ। प्रशस्तै अश्लील शब्दहरु प्रयोग भएको पाइन्छ। र्‍यापरले आफ्ना आक्रोश तथा अनुभव र भोगाइहरु उत्तेजक तरिकाले र्‍यापमार्फत भनिरहेका हुन्छन्।

भुपेन्द्र खड्का

त्यस्ता र्‍यापहरु सुन्ने र मन पराउने जमात पनि ठूलो छ र हुन्छ। सबै गीत सबैले सुनुन् भनेर बनाइएको हुँदैन। तिनीहरुका आ-आफ्नै लक्षित श्रोता दर्शक हुन्छन्। र्‍याप गीतहरु खासगरी युवा वर्गले एयर फोन लगाएर सुनिरहेको हुन्छ, रमाइरहेको हुन्छ। दिदी बिहिनी, आफन्त वा मान्यजनसँग सँगै बसेर सुन्ने गरी र्‍याप गीत बनाइएको हुँदैन।

अब र्‍याप गीतमा हामीले आफ्नो संस्कृति खोजेर हुन्न। संस्कृती खोज्नका लागि त लोकगीत र भजन सुने भइगयो नि!

अब र्‍यापमा गीतमा शब्द भएन, अश्लील भयो भन्ने कुराहरु आइरहेको छ। कुनै सर्जकले कसैलाई सोधेर गीत लेख्ने होइन। उसले डिक्सनरीमै भएका शब्दहरुबाट सिर्जना गर्ने हो। डिक्सनरीमा भएका शब्दहरु प्रयोग गर्न मिल्ने र अर्थ हुने भएकैले त्यहाँ राखिएको हुन्छ। शालिन शब्दहरु राखेर र्‍याप बन्दैन। किनभने यो विधा नै यस्तै हो। मनपर्छ सुनौँ, मन पर्दैन नसुनौँ। तर संगीत र सर्जकमाथि नियन्त्रण नगरौँ।

कात्तिक ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्