आर्थिक अभावमा धरासायी बन्दै मिथिला चित्रकला, अस्तित्व बचाउनै धौ-धौ

मिथिला चित्रकलाको माग र लोकप्रियता देशदेखि विदेशसम्‍म भइरहँदा मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानी जनकपुरधाममा रहेको नारी विकास केन्द्र अहिले आर्थिक अभावका कारण दयनीय अवस्थामा पुगेको छ।

कुनै समय ४० लाखभन्दा बढीको आर्थिक कारोबार गर्ने केन्द्र अहिले वर्षभरीमा एक चौथाईको कारोबार गर्न सकेको छैन। विगत दुई दशकदेखि मिथिला चित्रकलाको सम्बद्धन, पवबद्र्धन र विकासमा टेवा पुर्‍याउँदै आएको नारी विकास केन्द्रमा अहिले आर्थिक अभाव भएपछि आफ्नो अस्तित्व समेत बँचाउन संकट भएको छ।

विज्ञापन

मिथिला चित्रकलाको कारणले अहिले मानिस आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ तर मिथिला चित्रकलाको लागि प्रसिद्ध रहेको प्राचीन कुनै समय ४० लाखभन्दा बढीको आर्थिक कारोबार गर्ने केन्द्र अहिले वर्षभरीमा एक चौथाईको कारोबार गर्न समेत धौ धौ परिरहेको छ।

केन्द्रले मिथिला चित्रकलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको भएता पनि अपेक्षा गरेको अनुरुप काम अगाडी बढाउन सकेको छैन। केन्द्र आर्थिक संकटमा परेपछि त्यहाँ मिथिला चित्रकलाहरु बनाएर आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन्।

विदेशी नारी क्लेयर वर्करको पहलमा प्राचिन मिथिलाको राजधानीमा स्थापना भएको नारी विकास केन्द्र स्थानीय नारीहरुको कला प्रदर्शन गर्ने महत्वपूर्ण थलोको रुपमा रहँदै आएको छ।

ती नारीहरुकै सशक्त कलाका कारण मिथिला चित्रकलाले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान स्थापित गर्न सफल भएको थियो। कुनै बेला ८५ जना महिला चित्रकारहरु काम गर्ने सो केन्द्रमा अहिले ४० जना महिला मात्रै कार्यरत रहेका छन्।

बाजारमा सस्तो र नक्कली सामानहरु प्रयोग गरेर बनाइएका मिथिला चित्रकलाहरु पाउन लागेपछि अहिले नारी विकास केन्द्रको अवस्था धरासायी बनेको केन्द्रका प्रबन्धक सतिष साहले बताए। उनी भन्छन्, ‘नारी विकास केन्द्रभन्दा पछाडि खुलेको विभिन्न संस्थाहरु मिथिला चित्रकलाकै माध्यमले आफ्नो बर्चस्वता कायम गरिरहेको छ । तर केन्द्र भने अहिले आर्थिक अभावमा फसेको छ।’

केन्द्रका प्रबन्धक साहका अनुसार बजारमा नक्कली रंग प्रयोग गरिएका मिथिला चित्रकलाहरु सस्तोमा पाउन थालिएपछि यहाँ बनाइएको चित्रकलाको मागमा कमी आएको छ । मागमा कमी आएपछि केन्द्र आर्थिक अभावमा फसेको प्रबन्धक साहले बताए।

तराई मधेशमा अहिले पछि छुवाछुत रहेको अवस्थामा यस केन्द्रमा कथित उच्च जातका महिलादेखि पिछडीएका जातका महिलाहरु एकै ठाउँमा बसेर मिथिला कला, पेन्टिङ्ग र सेरामिकको घरायसी साम्रागीहरु प्रयोग गरेर दिनहुँ मिथिला चित्रकलाहरु तयार गर्दै आएको छ।

जनकपुरधाम आउने विदेशी पर्यटकहरु एक पटक यस केन्द्रमा जाने इच्छा राख्ने गरेतापनि नीजि क्षेत्रबाट खुलेका संस्थाहरुले तयार गरेको पेन्टिङ्ग आफु रहेको होटेलमै पुगेपछि त्यहाँ जाने पर्यटकहरुको संख्यामा समेत कमी आएको छ।

यता, केन्द्रमा कर्मचारी र प्रबन्धक बिच विवाद रहेकोले समस्या झनै बल्झिएको नारी विकास केन्द्रकी अध्यक्ष सुधिरा कर्णले बताउँछिन्।
केन्द्रले उत्पादन गरेको सामग्रीहरुलाई राजधानी काठमाडौँ स्थित रहेको कला गुठिमा विक्री वितरणको लागि पठाउने गरेको तर अहिले त्यो बन्द अवस्थामा रहेकोले कार्यरत्त महिलाहरुको जिविकोपार्जन गर्न समेत समस्या भइरहेको छ।

कारोबार सीमित भएपछि तलब उपर गर्न कठिन रहेको प्रबन्धक साहको भनाई छ। तर त्यहाँ कार्यरत कलाकारहरुका अनुसार प्रबन्धकले यहाँ अनियमितता गरेपछि संस्था धरासायी हुने अवस्थामा पुगेको छ।

केन्द्रमा मिथिला चित्रकला बनाउँदै आएकी सीमा साहका अनुसार विदेशी पर्यटकहरु यहाँ अहिले आउन छाडेको र केन्द्रमा अनियमितता भएपछि अहिले केन्द्र धरासायी अवस्थामा पगेको बताइन्।

मिथिला चित्रकलाको लोकप्रियता बढेपछि अहिले विभिन्न कार्यालयहरुमा समेत मिथिला पेन्टिङ्ग गरिएको छ भने जनकपुरधाममै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको समय सडकको छेउमा रहेको पर्खालमा मिथिला पेन्टिङ्गले सजाइएको थियो।