सहकारीको ४३ करोड घोटाला प्रकरणमा थुनछेक बहस सुरु

नेपालगञ्‍ज-सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोडबढी हिनामिनाका अभियुक्तको शुक्रबारदेखि थुनछेक बहस शुरु भएको छ।

तीन महिना बढी समय लगाएर प्रहरीले अनुसन्धान सकेपछि अभियुक्तहरुलाई अदालतमा उपस्थित गराएको थियो। ४१ जनाविरुद्ध मुद्दा दायर भएको रकम हिनामिना काण्डमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। अरु फरार रहेका छन्।

जिल्ला न्यायाधीश धनेश्वर पौडेलको इजलासमा शुक्रबार पहिलो दिन जाहेरीवालाको तर्फबाट सरकारी वकिल यामबहादुर बानिया, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्त (जो सहकारी पीडित संघर्ष समितिका संयोजकसमेत छन्), सुकईलाल बर्मा, पुनम श्रेष्ठ, राजेन्द्र विश्वकर्माले बहस गरेका छन्।

जाहेरीतर्फका कानून व्यवसायीले अभियुक्तहरुलाई थुनामा राखेर कारबाही गरी बचतकर्ताको रकम सुनिश्चितताको माग गरेका छन्।
प्रतिवादीका तर्फबाट नेपालगञ्जका चल्तीका सबैजसो कानून व्यवसायीले बहस गर्दैछन्। तिहारमा अदालत बन्द हुने भएकाले अब १४ गतेपछि बहस हुनेछ।

सहकारीको रकम हिनामिना काण्डमा बैंक सञ्चालकदेखि उच्च कर्मचारीको संलग्नता रहेको छ। प्रहरीले कर्मचारीहरु अरुण पाठक, गोपाल भण्डारी, गंगाधर सुवेदी, ओमप्रसाद चौधरी र स्थिरमणि बज्राचार्यलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ। बैंकका अध्यक्ष हरदेवबक्स चौधरीसहित अरु सञ्चालक र विभिन्न समयमा जोडिएका कर्मचारी पनि मुद्दाको दायरामा परेका छन्।

लामो अनुसन्धान पछि प्रहरीले ४३ करोडको हिनामिना भएको निष्कर्ष निकालेको छ। प्रहरीले पक्राउ परेकादेखि फरार रहेकासम्म सबैको कारोबार, घर जग्गा, बैंक खाता रोक्का गरेको छ।

सहकारीको रकम हिनामिना भएको काण्ड बाहिरिएपछि केही महिना अध्यक्ष चौधरीले भित्रभित्रै मिलाउने प्रयास गरेका थिए। त्यसै अनुसार पाठकबाट एक करोड ४० लाख, भण्डारीबाट ३८ लाख, सुवेदीबाट ५० लाख असुल गरिएको थियो।

अभियुक्तहरुबाट असुल भएको पैसा बचतकर्तालाई वितरण थालिएको थियो। तर, सहजै अभियुक्तबाट पैसा असुल नहुने स्थिति देखेपछि अध्यक्ष चौधरी नै फरार भएका छन्। अध्यक्ष चौधरीको पनि जग्गा, जमिन, कारोबार, बैंक खाता रोक्का गरिएको थियो।

सहकारीमा ११ हजारबढीले बचत गरेका छन्। बचतकर्ताहरुले संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन्। खाईनखाई जम्मा पारेको आफ्नो पैसा छिटो भन्दा छिटो पाउनु पर्ने माग राख्दै कहिले जिल्ला प्रशासन त कहिले अदालतको ढोकामा प्रदर्शन गरिरहेका छन्।

कार्तिक ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्