फोटो फिचर

सडक कि सुपरमार्केट!

नेपालगञ्ज – भारत बाबागञ्जका रब्बान अलि हातमा फूलका माला लिएर बीच सडकमा उभिएका छन् । सडकमा हिँड्ने जो कोहीप्रति उनको आँखा पुगेको छ, ग्राहकको आशामा ।

दुई थरी फूलका एक/एक दर्जन माला हातमा लिएर उभिएका उनले जुन लगेपनि सय रुपैयाँमा एक जोडी माला बेचिरहेका छन् । बाबागञ्जबाट उनीसहित तीन जना फूल र माला लिएर नेपालगञ्ज आइपुगेका छन् । उनको फूल या माला बेच्ने स्थान नेपालगञ्जको त्रिभुवनचोक हो । रब्बान भन्छन्, ‘हामी हरेक तिहारमा माला बेच्न यहाँ आउँछौं ।’

त्रिभुवनचोकको सयदेखि डेढ सय मिटरको दुरीमा तिहारमा चाहिने हरेक सामान राखिएका छन् । सामानहरु सबै बाटोमा राखिएका छन् । सडकसँगै जोडिएका पसलेले पनि बाटोमै सामान निकालेका छन् । यतिबेला यहाँ आइपुग्ने जो कोहीलाई लाग्न सक्छ, ‘यो सडक हो कि सुपरमार्केट !’

धनतेरसमा कासका भाडाकुडा किन्दा लक्ष्मी खुशी हुने विश्वास गरिन्छ । भाडाका पसलहरु सजाएर सडकमा राखिएका छन् । फूल, माला, भाइमसलामात्रै होइन, फलफूल सडकमै राखिएका छन् । केही विशेष चाडहरुमा त्रिभुवनचोकको सडकमा सामान राखेर बेच्नु यहाँको परम्पराजस्तै भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले त्यो अनुमति दिँदै आएको छ । नेपालगञ्जमा यो समानका लागि यो ठाउँ भन्ने अझै व्यवस्था भइसकेको छैन, एकलैनीबाहेक । एकलैनीमा मसलाजन्य, खाद्यान्न र श्रृंगारका सामान पाइन्छन् ।

चाडबाड विशेषमा लाग्ने त्रिभुवनचोकको सडकमा हरेक सामान पाइन्छन् । बीच सडकमा पसल लागेपछि चाडबाडको रौनक बढ्ने एकथरी रैथानेहरु विश्वास गर्छन्।

कार्तिक ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्