फोटो फिचर

अनेक रंगहरुमा घुलेको असन

काठमाडौँ – तिहारका लागि चाहिने सामग्रीहरुले काठमाडौँको मुख्य बजार असन क्षेत्र सामान्य भन्दा बढी नै ‘गुल्जार’ छ अहिले । फूलमाला, टीका, बत्ती, दियो र मसलाहरु ।

टोपी, सजावटका समान मिलाएर राखेका पसेले, छान्दै गरेका ग्राहकहरुको भीडले असन क्षेत्र अरु बेला भन्दा व्यस्त देखिन्छ । विशेषगरी दिदीबहिनीहरु दाजुभाइका लागि माला, भाइ समला, टोपी तथा भाइपूजाका लागि चाहिने सामान किन्न व्यस्त देखिन्छ ।

विज्ञापन

यस्तै घर सजावटका लागि चाहिने सामग्री किन्नेहरु र ती सामान ग्राहकलाई देखाउने पसलेहरुका क्रियाकलपा चाख लाग्दो देखिन्छ । दिनभरजसो व्यस्त रहने असनको व्यस्तता एवम् रौनक साँझतिर अझ बाक्लिन्छ ।

अरु बेला भन्दा फरक देखिन्छ तिहारका बेला असनको रंग । विभिन्न रंगका बत्ती तथा रंगीविरंगी फूल तथा टीकाहरुले असनलाई अनेक रंगहरुमा घुलेको र बत्तीहरु झैँ चम्किएको जस्तै देखाउँछ । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्ना तस्बिरमा तिहारको बेला साँझमा देखिने असनको रौनक समेट्न खोजेका छन् ।