पुस्तक संवाद

‘पहिला ल्यापटपमा लेख्थेँ, हिजोआज मोबाइलमा लेख्छु’

बिमला तुम्खेवा कवि तथा पत्रकार हुन्। उनको जन्म २०३४ सालमा तेह्रथुमको ओख्रे लामकटेरीमा भएको हो। तर, उनी मोरङ पथरीमा हुर्किएकी हुन्। २०५१ सालदेखि औपचारिक रुपमा कविता लेखन यात्रामा हिँडेकी तुम्खेवाको पहिलो साहित्य पथरीकै हवाई पत्रिकामा प्रकाशन भएको थियो।

उनी लिखित पहिलो कविता संग्रह ‘बिमला तुम्खेवाका कविताहरु २०५५ सालमा प्रकाशन भएको हो। त्यसपछि ‘नदी, छाल र तरङ्गहरु – २०६०, सस्मरण एउटा बूढो रुखको – २०६५, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे – २०७५’ प्रकाशन भइसकेका छन्।

हाल सञ्चारिका समूहको महासचिव भएकी तुम्खेवाले २०५५ सालदेखि पत्रकारिता सुरु गरेकी हुन्। पत्रकारिता अनि कविता लेखनमा सक्रिय तुम्खेवाले देशसञ्चारसँग आफ्नो पढ्ने बानी बाँडेकी छन्।

१) अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले भर्खरै चाहिँ बैरागी काइलाका संकलित कविताहरु भन्ने पढिरहेकी छु। यो पुस्तक फिनिक्सले ल्याएको हो। ‘काठमाडौँ– काठमाडौँ’ भन्ने डा. वाणीराज गिरिले लेखेको कविताहरु फेरि एकपल्ट म पढ्दै छु। त्यस्तै पारिजातको सिर्जनाहरु संकलित गरेर फिनिक्सले प्रकाशन गरेको छ। त्यो पनि पढ्दै छु।

२) कुन समयमा पढ्नु हुन्छ?

पढ्नको लागि एकदमै उत्कृष्ट समय बेलुका हो। तर हिजो आज पढ्ने समय निकाल्न मलाई अलि गारो छ। छोरी सानी छिन्, उसको ख्याल राख्नुपर्छ। छोरीको सुत्ने, उठ्ने समय निश्चित छैन, त्यसमाथि घरको काम पनि हुन्छ। त्यसैले पनि म छोरी सुतेको बेला पारेर, फूर्सद निकालेर पढ्छु।

खासमा लेख्न र पढ्नलाई एकदमै शान्त वातावरण आवश्यक पर्छ। तर विवाहित अनि त्यसमा पनि सन्तान भएका महिलाहरुको हकमा कुरा गर्ने हो भने, कठीनाई छ। घर व्यवहारमा परेपछि मैले लेख्ने समय पनि निकाल्न मुस्किल भएको छ। पहिला कहीँ आनन्दले बसेर कपी हातमा लिएर लेख्ने गर्थे, ल्यापटपमा लेख्थेँ। तर अहिले छोरीको पछि दगुर्दा दगुर्दै, घरको काम गर्दागर्दै केही फुर्छ अनि म मोबाइलमा टाइप गर्छु। अहिले मेरो लागि समय नै छैन।

३) कस्तो खालको पुस्तक र लेख मन पर्छ?

मलाई मानिसको जीवनी पढ्न मन पर्छ। हुन त अहिले मैले त्यो पढ्न पाएको छैन।

कथाको पुस्तक निकाल्ने सोच भएको हुनाले अहिले मैले कथा, उपन्यासहरु पढिरहेको छु। नेपाली कथाहरु कुन कुन विषयवस्तुमा आधारित भएर लेखिएका छन् भनेर अवालोकन गरिरहेको छु। फेरी साहित्यमा पुनरावृत्ति भयो भने मजा आउँदैन। पहिला लेखिएको कुरालाई फेरी लेख्दा अलिकति आफ्नोपनको छनक त आउन पर्‍यो नि।

म पारिजातको कथाहरु पनि हेरिरहेकी छु। इन्द्रबहादुर राईको कथाहरु हेरिरहेको छु। मलाई कथा कविताको जनरा भन्दा पनि लेखन शैलीले छुन्छ। मलाई विपीको लेखाई मन पर्छ।

४) मन पर्ने लेखक को हुनुहुन्छ?

मलाई विपी कोइराला मनपर्छ। नारायण ढकाल, आहुतिको लेखन पनि मन पर्छ। अनि मलाई विदेशीमा एन्तोन चेखब, खलिल जिब्रान हुन्।

५) पढ्ने वातावरण कसरी बन्यो? प्रेरणा कसरी मिल्थ्यो?

मेरो बाबाको प्रोफेसन आर्मी हो। उहाँ ब्रिटिस आर्मी हुनुहुन्थ्यो। बुवाले घरमा जहिले पनि लक्ष्मीप्रसाद देवकोटा, बम देवानको कुरा गर्नुहुन्थ्यो। त्यत्तिखेर मलाई उहाँहरु को हो भन्ने थाहा हुँदैनथ्यो।

मलाई म लेखन पेशामा आउनुमा कहीँ न कहीँ मेरो बाबाले त्यो मान्छेको बारेमा भनिराख्नु पनि हो कि जस्तो लाग्छ। बाबाले लक्ष्मीप्रसाद देवकोटाले यो गरे, त्यो गरे भनेर एकदमै रोमाञ्चक तरिकाले प्रस्तुत गर्नुहुन्थ्यो। उहाँले पनि सुनेर नै होला, पढ्नु पनि हुन्थ्यो।

त्यही नै बेला मलाई कसरी भन्ने चाहिँ थाहा छैन, तर मेरो हातमा पारिजातको शिरिषको फूल, म्याक्सिम गोर्कीको ‘आमा’ मेरो हातमा आइपुग्यो। मैले पढ्न शुरु गरे, अनि लेख्न पनि सुरु गरे।

६) पढेको कुनै लेख, कथा तथा उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ?

आफ्नै जीवनसँग मेल खायो भन्ने त छैन। तर अरुको सिर्जना पढिराख्दाखेरि मलाई एउटा उत्साह जाग्छ। उनीहरुले यत्रो संघर्ष गरी यति कठीन यात्रा तय गर्न सक्छ भने हामी किन नसक्ने भन्ने हुन्छ।

७) मन परेको किताब कुन हो?

मलाई ‘शिरिषको फूल’ औधि मन परेको पुस्तक हो, विपी कोइरालाको ‘तीनघुम्ती’ पनि मलाई सारै मन परेको पुस्तक हो।

यस्तै मलाई बैरागी काइलाको ‘मातेको मान्छेको मध्यरातपछिको भाषण’ एकदमै मनपर्छ। यो कविताले कविहरुको भीडमा आफ्नो छुट्टै सुन्दरता बोकेको छ। अब आउने कतिवर्षसम्म नेपाली साहित्यमा आउने कति कविहरुले यो ट्रेन्डभन्दा फरक तरिकाले लेख्नको लागि धेरै ठूलो साधना र चुनौतीको सामना गर्नुपर्छ। यो कवितामा जुन किसिमले उनले कविताको नयाँ आयाम पस्केका छन्, एउटा मुद्दा स्थापित गरेका छन्, ‘मोनालिसाको चित्र’ जस्तै छ त्यो कविता, त्यसैले मलाई यो सारै मन पर्छ।

८) पुस्तक दोहोर्‍याएर पढ्ने बानी छ ?

दोहोर्‍याएर पढ्नु भनेको विचारको आयामहरुलाई फराकिलो बनाउनु हो। मैले प्राय किताबहरु दोहोर्‍याएर पढ्छु नै। मैले मदन रेग्मीका कविताहरु पढ्दा दिमाग एकदमै ह्याङ भयो। मैले त्यो कविता ४ देखि १० पल्टसम्म पढेको छु।

कहिलेकाहीँ यो बाध्यता पनि हुन्छ। हरेक कविले आफ्ना कविताको हरफमा विचार छोडेको हुन्छ। त्यसलाई बुझ्न तपाईमा पनि चेतनाको आयाम त्यति नै फराकिलो हुनु पर्छ। तपाई पाठक हुनुभयो भने तपाईमा पनि अध्ययन हुनु पर्छ।

९) पढ्नै पर्ने पुस्तक ?

दर्शनको किताब र समाजशास्त्रको किताब तपाईले पढ्न छोड्न हुँदैन। समाजमा तपाई कुनै नेतृत्वदायी भूमिकामा हुनुहुन्छ, तपाई यो समाजलाई केही दिने चाहना छ भने दर्शन, समाजशास्त्र, राजनीति र इतिहासलाई बुझ्न नै पर्छ ।

१०) पढ्ने वातावरण कस्तो हुनुपर्छ?

पढ्नलाई शान्त वातावरण नै चाहिन्छ। तर मेरो व्यक्तिगत अनुभवमा कामकाजी महिला त्यसमा पनि बच्चाको आमा भएमा पढ्ने वातावरण बन्न गारो हुन्छ। अहिले म छोरीको पछि दगुर्ने समय भन्दा पछिको समयमात्र पढ्छु।

कात्तिक ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्