सार्थक जीवनको लागि आध्यात्मिकताको आवश्यकता

हामी तत्व र आत्मा दुवैबाट बनेका छौं । आत्मालाई आध्यात्मिक चिन्तन, ज्ञान र प्रकाशको आवश्यकता पर्दछ भने शरीर (तत्व) लाई केही भौतिक चीजहरुको आवश्यकता पर्दछ र हाम्रो आत्माको पोषण चाहिं आध्यात्मद्वारा हुन्छ । तपाई आध्यात्म विना जीवन जीउन सक्नुहुन्न । के तपाईं शान्ति चाहनुहुन्छ ? के तपाईं खुशी चाहनुहुन्छ ? के तपाईले सुख चाहनुहुन्छ ? के यी सब चाहना र इच्छाहरु बाहिरी चीज अथवा भौतिक चीजहरुको प्राप्तिबाट सम्भव छ ? यदि त्यसो हो भने धनी व्यक्तिहरु संसारका सबैभन्दा बढी खुशी र सुखी हुन्थे होलान् तर यथार्थमा त्यसो भएको पाईदैन ।

धनद्वारा तपाईंले सुखसयलका सामाग्रीहरु किन्न सक्नुहुन्छ, तर सन्तोष किन्न सक्नुहुन्न, सुत्नको लागि राम्रा राम्रा डसनाहरु किन्न सक्नुहुन्छ निद्रा किन्न सक्नुहुन्न, औषधि किन्न सक्नुहुन्छ स्वास्थ्य किन्न सक्नुहुन्न, सौन्दर्यका सामाग्रीहरु किन्न सक्नुहुन्छ सौन्दर्य किन्न सक्नुहुन्न, मनको शान्ति किन्न सक्नुहुन्न, खाद्यसामाग्री किन्न सक्नुहुन्छ भोक किन्न सक्नुहुन्न, प्रेम, आदर, मित्रता, त्याग, सहिष्णुता, सौहाद्रता केही किन्न सक्नुहुन्न ।

विज्ञापन

ख्याति किन्न सक्नुहोला तर सम्मान किन्न सक्नुहुन्न । हामी जन्मेदेखि हामीलाई विभिन्न भौतिक कुराहरुको पछाडि भाग्न सिकाइन्छ, हामी जिन्दगीभर भागिरहन्छौं तर हामीलाई म को हुँ ? मेरो यस धर्तीमा किन जन्म भएको हो ? मेरा सनातन धर्म के हो ? मेरो अस्तित्व के हो ? त्यो कसैले सिकाउँदैन ।

यसो विचार गर्नुस् त जीवनको अन्तिम सत्य के हो ? मृत्यु ? तर्कगत हिसाबले सोंच्दा एकदिन मर्ने हो भने जीवनको महत्व, अभिप्राय, सार्थकता के हो त ? के साँझ बिहान खाना खानु, लगाउनु, मोजमस्ती गर्नु, सुखसयलसाथ जीवन बिताउनु मात्रै जीवनको सार्थकता हो कि जीवनको अर्थ केही अर्कै छ ।

हाम्रा धर्मग्रन्थ, साधुसन्त तथा हजारौं वर्ष तपस्या तथा अध्ययन गरेर बसेका ऋषिमुनिहरुका अनुसार हाम्रो यथार्थ स्वरुप भनेको आत्मा हो, यसको न जन्म हुन्छ न मरण हुन्छ । यो अजर अमर छ, यो कालातित छ, यो अनन्त छ, यो अजन्मा छ । तर हामीले विगत जीवनमा गरेका कर्मको धुवाँले त्यो आत्मारुपि ऐनालाई ढाकिदिएको छ, हामीलाई भ्रमित गराएको छ ।

फलतः हामीलाई संसारका चकाचौंधमा आफ्नो यथार्थ स्वरुप आत्मालाई बिर्षी भुलाउन बाध्य बनाएको छ । जब मन, वचन, कर्मले हामी पवित्र हुन्छौं तब त्यस धुवाँलाई हामीले हटाउन सक्छौं र हामीलाई आत्माको बोध हुनुको साथै परमात्माको पनि बोध हुन पुग्छ जुन अवस्थामा हामी आनन्द, सन्तोष र आत्मतृप्तिको पराकाष्ठामा पुग्दछौं ।

आध्यात्मलाई विभिन्न तरिकाले व्याख्या गरेको पाइन्छ । कसैले यसलाई यस सम्पूर्ण विश्व ब्रम्हाण्डलाई संचालन गर्ने सर्वशक्तिमान परमात्माप्रतिको विश्वास हो भन्दछन् भने कसैले कुनै खास धर्मले प्रतिपादित गरेका निश्चित नियम र कानुनको अनुसरण गरेर एउटा अनुशासित जीवन बिताउनुलाई भन्दछन् ।

त्यसैगरी कसैले सम्पूर्ण जीवजातिसँग एउटा अन्र्तसम्बन्ध कायम गरी दया, करुणा, भाइचारा, आपसी सद्भाव, क्षमा आदि सद्गुणहरुलाई अँगाली जीवन बिताउनुलाई भन्दछन् । तर अहिले आएर धर्मको एउटा निश्चित परिधि तथा यसले एउटा विशेष मान्यता तथा विश्वासलाई महत्व दिने भएकोले नयाँ पिढीका सन्त तथा आध्यात्मको वकालत गर्ने व्यक्तिहरुले आध्यात्मिकतालाई धर्मदेखि अछुतो राखेर हेर्नुपर्ने महत्वमाथि जोड दिन थालेका छन् । धर्मले टुक्रयाउँदछ, आध्यात्मले जोड्दछ भन्ने नयाँ मान्यताहरु पनि अगाडि आइराखेका छन् ।

धर्मले गुटबन्दी, समूहको संगठन, सम्प्रदायको उद्गमन, अन्धविश्वासको निरन्तरतालाई जोड दिन पृष्ठपोषण गर्न सक्छ भने आध्यात्मले केवल व्यक्तिको वैयक्तिक चेतनाको उच्च विकासलाई जोड दिन्छ । एउटा आध्यात्मिक व्यक्तिलाई चारवटा विभिन्न धर्मबाट ४ किसिमका सदाचार, मानव कल्याण, विश्वप्रेम र सबै व्यक्तिलाई समान व्यवहार गर्ने जस्ता मानवीय मूल्य र भावनालाई अंगीकार गर्नमा कुनै समस्या हुँदैन भने एक धार्मिक व्यक्तिले सम्पूर्ण कुरा आफ्नो धर्म ग्रन्थको परिधिभित्र खोज्न थाल्दछ र आफ्नो निश्चित धर्म ग्रन्थलाई नै सर्वस्व ठान्दछ । तर समय सापेक्ष छ, संसार परिवर्तनशिल छ ।

अहिले विज्ञानको विकासले निकै ठूलो फड्को मारिसकेको छ । धर्म ग्रन्थमा लेखिएका कुराहरु पनि गलत सावित भइसकेका छन् । जे होस् हामीले आफूलाई आफ्नो चेतनाको उच्च विकास तर्फ डो¥याउनु र तदनुरुप आफूले जानेका, अनुभव गरेका र आत्मसात गरेको ज्ञानलाई व्यवहारमा उतार्नु नै सर्वोत्कृष्ट ठहरिन्छ ।

आध्यात्म भनेको जीवन जीउने कला हो, जीवन, जीवन पूर्व र जीवन पर्यन्तको रहस्य खोतल्ने एक विज्ञान हो । आध्यात्मको विभिन्न आयामहरु मध्ये एउटा आयाम आफ्नो मालिक आफै बन्नु पनि हो । सामन्यतया हामी अरुको नियन्त्रणमा हुन्छौं किनकी हामी अरुले प्रसंसा गरे मख्ख पर्दछौं, हँसाए हाँस्छौं, गाली गरे दुःखीत हुन्छौं, आरोप, प्रत्यारोप लगाए रिसाउँछौं ।

यसको मतलब त हामी आफू स्वयमको मालिक भएको त भएन, हाम्रो जीवनको रिमोट कन्ट्रोल अरुको हातमा भएको भयो । अरुले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारेको भयो । यो जीवन जीउने कला होइन । आध्यात्मले प्रत्येक कुरा र घटनालाई समभावले हेर्न सिकाई, साक्षी भावले हेर्न सिकाई आफ्नो मालिक आफै बन्न प्रेरित गर्दछ । सुःख, दुःख, हाँसो र रोदन साबुनका फोका जस्ता क्षण भंगुर छन्, यिनीहरुमाथि राग र द्वेष राख्नु भनेको मूर्खता सिवाय केही होइन । समभावले सम्पूर्ण कुरा हेर्न सिकौं र आध्यात्मको यस्तो बुलेटप्रुफ ज्याकेट लगाऔं जसबाट कुनै कुरा पार भएर हामीलाई आक्रमण गर्न नसकोस् ।

माथि भनिसकिएको छ कि आध्यात्मिक जीवन बिताउनुको मतलब हामीले जीवनमा भोग्ने सुख, दुःख, उतार र चढावको मालिक बन्नु हो अर्थात यी सबै कुराहरु र परिघटनाहरुप्रति अछुतो भई साक्षी भावले हेर्दै जीवनको सर्वोत्कृष्ट चिन्तन र त्यही अनुरुप आफूलाई शुद्धिकरणको मार्गतर्फ अगाडि अग्रसर गराउनु हो ।

जस्तो उदाहरणको लागि हामी सबैले श्वास फेर्दछौं । अब एक छिन हामी श्वास फेर्ने प्रक्रियालाई साक्षी भावले हेरौं । श्वास भित्र जान्छ, बाहिर आउँछ, श्वास भित्र जाँदा हामीलाई राग र द्वेष केही हुँदैन र त्यसैगरी श्वास बाहिर आउँदा पनि हामीलाई राग र द्वेष केही हुँदैन । किनकी हामीलाई यो थाहा छ यो जीवनको सबैभन्दा ठूलो साधारण प्रक्रिया हो । यसबाट हामीले के बुझ्नु पर्दछ भने जीवनका सुख दुःखका क्षणहरु पनि हाम्रो श्वास जस्तै प्रक्रिया हो, यसमाथि आशक्ति राख्नु वा घृणा गर्नु श्वासको प्रक्रियामाथि आशक्ति राख्नु वा घृणा गर्नु जस्तै हास्यास्पद कुरा हो । यस गुह्य रहस्यलाई हामीले राम्रो गरी बुझ्नु जरुरी छ । हामीले जीवनमा भगवान श्रीकृष्णले गीतामा भनेजस्तै अनाशक्त कर्म गर्नु जरुरी छ ।

किनकी कर्ममा हाम्रो अधिकार भए पनि फलमा हाम्रो अधिकार छैन, हामी फलमा आशक्त नभई, फलको बारेमा चिन्ता नगरी कर्ममा तल्लीन भएर कार्य ग¥यौं भने हाम्रो फल पनि अवश्यमेव राम्रै हुन्छ, यसमा कसैको दुई मत हुन सक्दैन । आध्यात्मले हामी स्वयममाथि नजर राख्न, ध्यान राख्न सिकाउँछ । पृथ्वीको यथार्थ स्वरुप हेर्न जसरी वैज्ञानिकहरुले भूउपग्रहको प्रयोग गरी हजारौं मिल माथि बाट नजर राख्दछन् त्यसैगरी हामीले आफूभन्दा माथि उठेर आफ्ना कमीकमजोरी र आफ्नो स्वरुप, अस्तित्वमाथि नजर राखेर आफ्नो यथार्थ अवस्थाको ज्ञात गरी त्यो भन्दा माथि उठ्न अगाडि बढ्नु नै आध्यात्मिक यात्रा हो ।

अस्तित्वगत हिसाबले जब हामी गहिराईमा पुग्दछौं, जब हाम्रो बुद्धिले विश्राम लिन्छ र हामी पूर्ण तल्लीनका साथ ईश्वरको चिन्तनमा हुन्छौं, एक ईश्वर जसले आफूले विविध रुपमा प्रकट गरिराखेको छ, त्यसबेला ईश्वरको ज्वाजल्यमान प्रकाशले हाम्रो दिमागमा भएको सम्पूर्ण अज्ञान र अन्धकारलाई हटाईदिन्छ र सर्वव्यापि परमात्माको ज्ञान, प्रकाश र वरदान प्रष्फुटन हुन थाल्दछ ।

पश्चातापका साथ बिहान उठ्न, अरुलाई घृणा गर्न, चिन्तामा रहेर समय बिताउन, विगतलाई सम्झेर वर्तमानको अमूल्य समय खर्च गर्न जिन्दगी अति नै छोटो छ । त्यसकारण वर्तमानको भरपूर उपयोग गर्नुस्, जसले तपाईंलाई राम्रो व्यवहार गर्दछन् तिनीहरुलाई प्रेम गर्नुस् र ती व्यक्तिहरुलाई माफ गरिदिनुस् जसले तपाईंलाई राम्रो व्यवहार गर्दैनन् र यो विश्वास गर्नुस् यो संसारमा प्रत्येक कार्यको पछाडि एउटा निश्चित कारण हुन्छ ।

जिन्दगीमा भएका परिवर्तन, घटना, सुख, दुःखका सम्पूर्ण क्षणहरुलाई खुशी खुशी स्वीकार्नुस किनकी दुःख पनि धेरै दिन रहँदैन र सुख पनि । सुख र दुख त एउटै सिक्काको दुइवटा पाटाहरु हुन्, एउटाको अस्तित्वविना अर्कोको अस्तित्व असम्भव छ । आकर्षणको नियम अनुसार तपाई जस्तो तरंग संसारमा छोड्नुहुन्छ त्यो परावर्तन भएर तपाईकहाँ आउँछ, त्यसकारण आफ्नो हृदय यति विशाल बनाउनुस्, त्यसमा सारा ब्रम्हाण्ड अटाओस्, अनि त तपाई ब्रम्हाण्ड र ब्रम्हाण्ड तपाईमा जिउन थाल्दछ, तपाई अस्तित्वको ढुकढुकी सँगै जिउन थाल्नुहुन्छ । जब यस्तो अवस्थामा तपाई प्रवेश गर्नुहुन्छ, तपाईलाई आत्मज्ञान हुनेछ, सृष्टिको रहस्य पनि तपाईले बुझ्नुहुनेछ ।

त्यसैगरी यो संसारमा न जन्म, न मृत्यु, न जीवनका महत्वपूर्ण घटनाहरु हाम्रा हातमा छन् । सम्पूर्ण कुरा परमेश्वरको एउटा दिव्य योजना अनुरुप चलिराखेको छ । यदि हामी विचार र चिन्तन गर्दछौं भने जिन्दगी पुरै चमत्कारमय छ नत्र हामी सबै घटना र परिघटनालाई सामान्य रुपमा लिन सक्छौं । एउटा बच्चा आमाको पेटबाट बाहिर निस्कनका लागि संघर्ष गर्दछ ।

अनि उसका प्रत्येक पाइलामा हजारौं भाइरस, व्याक्टेरिया, असंख्य मर्न सक्ने सम्भावनालाई जित्दै ६०–७० र कोही कोही त १३० वर्ष सम्म बाँच्न सफल हुन्छ भने यो भन्दा ठूलो चमत्कार के हो ? आँखाले देख्नु, कानले सुन्नु, मुटु आफै विद्युतीय तरगंद्वारा धड्कीनु, पृथ्वीमा, मानिसका जीवनमा घटेका सारा घटनाहरु अति कुशल नियमनका साथ चल्नु चमत्कार नभए के हो ?

ध्यान, प्रार्थना र भक्तिद्वारा हामी ईश्वरको नजीक पुग्न सक्दछौं । ध्यानमा हामी परमेश्वरका सन्देशहरु सुन्ने प्रयास गर्दछौं, प्रार्थनामा हामी आफ्ना कुराहरु राख्दछौं र भक्तिमा हामी सम्पूर्ण कुरा परमेश्वरमाथि समर्पण गर्दछौं । ध्यान, प्रार्थना र भक्तिको गहिराईमा हामी ईश्वरको अस्तित्वको बोध गर्न सक्छौं ।

अस्तित्वगत हिसाबले जब हामी गहिराईमा पुग्दछौं, जब हाम्रो बुद्धिले विश्राम लिन्छ र हामी पूर्ण तल्लीनका साथ ईश्वरको चिन्तनमा हुन्छौं, एक ईश्वर जसले आफूले विविध रुपमा प्रकट गरिराखेको छ, त्यसबेला ईश्वरको ज्वाजल्यमान प्रकाशले हाम्रो दिमागमा भएको सम्पूर्ण अज्ञान र अन्धकारलाई हटाईदिन्छ र सर्वव्यापि परमात्माको ज्ञान, प्रकाश र वरदान प्रष्फुटन हुन थाल्दछ ।

जब तपाई परमात्माको दर्शन गर्न पुग्नुहुन्छ तब तपाई आफूलाई स्वयम परमात्मामा पाउनुहुन्छ । हुनपनि यो सारा चराचर जगत, ब्रम्हाण्ड सबै परमात्माको विस्तार नै त हो । हामी त अज्ञानवश म, मेरो, तेरो आदि कुरामा मायावश अल्मलिरहेका छौं । परमात्मामा जब हामी आफूलाई पाउँछौं तब हामी पूर्ण स्वतन्त्र हुन्छौं, सारा बन्धन र दुःखहरुबाट मुक्त हुन्छौं । जब हाम्रो हृदय पवित्र हुन्छ तब हामी परमात्माको आशिर्वादबाट अनुगृहित हुन्छौं ।

वास्तवमा जीवनमा सुख, दुःख, आनन्द, आत्मविश्वास, शान्ति, सौन्दर्यता, सन्तोष आदि कुराहरु बाह्य वस्तुको प्राप्तिबाट हुँदैन । यो कुरालाई आध्यात्मिक व्यक्तित्वहरु लगायत सकारात्मक चिन्तनको वकालत गर्ने एन्थोनी रोबिन्स, स्वेट मार्डन, नोर्मेन भिन्सेट पिल लगायत धेरैले स्वीकारीसकेका छन् ।

यो कुरालाई हामीले पनि सजिलै महशुस गर्न सक्छौं । हामीलाई पीडा भएको बेला, हामीलाई कुनै चिन्ता परेको बेला, हामीलाई शोक परेको बेला हामीलाई जतिसुकै सुखद समाचार, मीठो परिकार, सुन्दर चीजले पनि हामीलाई खुशी गराउन सक्दैन किनकी सुख, शान्ति र आनन्दको बीज रुप हाम्रो मन, हाम्रो मस्तिष्क एक हिसाबले भन्दा बिरामी भएको छ ।

तर जब हामी प्रसन्न भएको बेला हामीलाई हावाको सरसराहट, भँगेराको चिरबीर, कोइलीको कुहुकुहु, पुतलीको नाचले पनि हामीलाई पुलकित गराउँछ, प्रसन्न गराउँछ, आनन्दले झंकृत गराउँछ । अतः जीवनको सार्थकता, यसको महिमा र सुख शान्तिको मूल स्वरुपलाई बुझ्न, महशुस गर्न र ज्ञात गर्न आध्यात्मिक जीवनको यात्रातर्फ कदम बढाऔं जसबाट समस्त मानव जातिको हित हुनुको साथै हामीले यो दुःखमय संसारबाट मोक्ष प्राप्त गर्न सक्छौं ।

कार्तिक ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्