महाकवि देवकोटाबारे डम मोरेको संस्मरण

मर्दै गरेका कवि

‘मृत्युसँग अति बेखबर नहुनु, काशी जलिरहोस् … ’

-महाकवि लक्ष्मीप्रसाद देवकोटा

विज्ञापन

अर्को बिहान हाम्रो भेट डा. सुमनसँग भयो, उनी भारतीय सांस्कृतिक दूत थिए। छानिएका हिन्दी कविहरु मध्येका एकः ठूलो जिउडाल, राम्रो हाँसिरहेको अनुहार र पखेटा जस्तै लाग्ने टाउकोको बीचबाट कोरिएको कालो कपाल। जानकारीबिनै उनी हाम्रो क्वाटरमा आइपुगे, उनीसँगै थिए रुष्टमुद्रामा पन्नालाल, उनले आफ्ना हात फैलाएर अँगाले झम्टेजस्तै गरी, कराउँदै भने, ‘अन्ततः दुई कविको भेट भयो!’

म पनि सहमत भएँ, उनले आफूलाई चिनाएपछि, जुन उनले केही समयसम्म गरेका थिएनन्। मलाई त्यति सहज लागिरहेको थिएन र केही हिच्किचाएको पनि थिएँ।

‘तपाईँ यहाँ कहिलेसम्म बस्नु हुन्छ?’ सुमनले सोधे।

‘अर्को दिन वेदलाई कलकत्ता पुग्नु छ, हार्वर्ड फर्किनका लागि तय भएको उडान भेट्नु छ। मात्रै एक दिन।’

‘सारै भएन, दयालाग्दो अवस्था। तर यो साँझ’, उनले भने, ‘धेरै कविसँग भेट हुनसक्छ। म सबै नेपाली लेखकलाई मेरोमा आउन आग्रह गर्छु, र हामीले उनीहरुका कविता सुन्ने छौँ। तपाईँ पेय पदार्थ लिनुहुन्छ नि?’

‘अवश्य’, मैले भनेँ।

‘राम्रो ! कुन कविलाई मन पर्दैन र पेय? तर अहिले भने मैले तपाईँलाई राजदूतकोमा लैजानै पर्छ, उहाँले भेट्ने इच्छा गर्नु भएको छ,’ उनले थपे।

त्यति खुशी थिएनौँ, तर लुगा लगायौँ र सुमनको कारमा बस्यौँ। उनले गाडी अति नै लापरवाह तरिकाले चलाए, घरिघरी स्टेरिङबाट दुवै हात छोडेर, शायद उनी हामीलाई आफूले यसरी पनि गाडी चलाउन सक्छु भन्ने देखाउन चाहन्थे।

‘तपाईँले देवकोटा (महाकवि लक्ष्मीप्रसाद देवकोटा) लाई त भेट्नै पर्छ। उनी नेपालका उत्कृष्ट कवि हुन्। तर उनी क्यान्सरले ग्रस्त भएका छन्।’

उनले मेरो घुँडामा हात थप्थपाए र भने ‘हे ईश्वर?’

राजदूत शहरको बाहिरी क्षेत्रमा बस्छन्, फराकिलो बरण्डासहितको उनी बस्ने घरको बगैँचामा गुलाफका फूलहरु फुलिरहेका थिए। हामी एक बरण्डामा बस्यौँ, त्यहाँ राजदूतका तर्फबाट हाम्रा लागि चिया दिइयो।

हामीलाई स्वागत गर्नेहरु वरपर बसे, जुलिएनको ग्लोस्टरशायरमा रहेको घरमा चिया पिउँदाको जस्तै लाग्थ्यो यहाँको परिवेश। राजदूतले पेन्टिङ र मूर्तिकलामा पनि शोख राख्दा रहेछन्। सुमनले मलाई घर घुमाए र भित्ताहरुमा फ्रेममा सजाएर टाँगिएका चित्र तथा टेबुलमा राखिएका मूर्तिहरु देखाए। त्यहाँ हान सुयिनको टाउको थियो, रहस्यमय मुस्कानसहितको।

हामी घरको चक्कर लगाएर फर्किँदा बरण्डामा राजूदतले वेदसँग भूत (शैतान) का बारेमा कुरा गरिरहेका थिए। उनी मतिर फर्किए र उनको अनुहारमा उत्साहपूर्ण तर कूटनीतिक मुस्कान थियो, र भने, ‘मैले थाहा पाएँ कि डा. सुनमले आज बेलुका नेपाली कविहरुसँग तपाईँको भेट तय गर्नु भएको छ। यो साह्रै दुःखको कुरा हो कि तपाईँले देवकोटासँग भने भेट्न पाउने हुने भएन।’

‘हामीले उहाँका बारेमा धेरै सुनेका छौँ’, वेदले भने, ‘उहाँका केही रचना अंग्रेजीमा प्राप्त गर्न सम्भव होला?’

‘उहाँले आफ्ना केही रचना आफै अंग्रेजीमा अनुवाद पनि गर्नु भएको छ,’ सुमनले भने।

‘साँच्चिकै महान व्यक्ति’, राजदूतले आदरपूर्वक भने। ‘यो अति दुःखद हो कि उहाँ मृत्युको संघारमा हुनुहुन्छ। मुमाबडामहारानीले उहाँको उपचार रुसमा गर्न र त्यसका लागि लाग्ने सबै खर्च बेहोर्ने प्रस्ताव गर्नु भएको थियो महिना दिनअघि। तर त्यसबेलासम्म ढिला भइसकेको थियो। अहिले उहाँलाई डाक्टरले मात्रै दुई दिनको समय दिएका छन्।’

‘उहाँ अहिले कहाँ हुनुहुन्छ?’

‘अस्पतालमा’, राजदूतले भने। ‘तर उहाँको गएको हप्ताको उपचार प्रक्रिया अजीब थियो। काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदी अति पवित्र मानिन्छ भन्ने तपाईँलाई थाहा छ? रीति के छ भने कुनै व्यक्तिको निधन हुँदैछ भने परिवारका सदस्यले त्यो व्यक्तिलाई बागमती नदीको किनारमा लगेर छाड्छन्। नदीको एक किनारमा पशुपतिनाथको मन्दिर छ। काठमाडौँका अधिकांश मानिसलाई त्यहिँ लगिन्छ। गएको हप्ता देवकोटाका आफन्तले उहाँलाई त्यहाँ लगेर राखे दुई दिनका लागि। तर उहाँको निधन भएन। त्यसैले उहाँलाई फेरि अस्पताल लगिएको हो। अब आफन्त र डाक्टरलाई लागेको छ कि उहाँ जीवनको अन्तिम क्षणमा हुनुहुन्छ। त्यसैले फेरि उहाँलाई फेरि बागमतीको किनारमा लैजाने योजना बनाइरहेका छन् आफन्तहरुले।’

‘उहाँ महान व्यक्ति हो’, अनायाश सुमनले भने। ‘उहाँ महान कवि हो। नेपाली जस्तो सीमित भाषामा लेखेर पनि यस्तो महान कवि हुनु जो कोहीको क्षमताको कुरा होइन। तर देवकोटाले त्यो असम्भव प्रायः कुरा गरेर देखाउनु भएको छ। त्यति मात्रै होइन उहाँले आफ्ना रचनाहरु मार्फत भाषाको समग्र प्रस्तुति या संरचनालाई नै पुनः परिभाषित गर्नु भएको छ।’

‘र उहाँ अति नै बौद्धिक व्यक्तित्व पनि हो’, निराश मुद्रामा रहेका राजदूतले भने। ‘उहाँ जब बोल्नु हुन्छ, त्यो पनि कविता जस्तै लाग्छः उहाँले त कवितामै सोच्नु हुन्छ। म उहाँलाई भेट्न अस्पताल गएको थिएँ र उहाँ आफ्नो दुःख वा शोकमा हुनुहुन्नथ्यो, उहाँमा तिरस्कारको भाव भने पक्कै थियो। उहाँले अस्पतालमा मसँग भन्नुभएको थियो कि, नदी किनारमा मृत्यु पर्खिरहँदा, म यो दिन कुनै हालतमा मर्दिन भन्ने सोचेको थिएँ। जब कि आफन्तहरुले उहाँको मृत्यु–रोदन रोइरहेका थिए। किनकी आफन्तहरु सबैको अनुहारमा उहाँको मृत्यु चाँडो आओस् भन्ने भाव देवकोटाले देख्नु भएको रहेछ।’

‘उहाँ महान कवि हो। नेपाली जस्तो सीमित भाषामा लेखेर पनि यस्तो महान कवि हुनु जो कोहीको क्षमताको कुरा होइन। तर देवकोटाले त्यो असम्भव प्रायः कुरा गरेर देखाउनु भएको छ। त्यति मात्रै होइन उहाँले आफ्ना रचनाहरु मार्फत भाषाको समग्र प्रस्तुति या संरचनालाई नै पुनः परिभाषित गर्नु भएको छ।’

वेद र म चुपचाप थियौँ। मैले भने, ‘म उहाँप्रति सम्मान प्रकट गर्न चाहन्छु।’

‘उहाँको पक्कै पनि निधन भइसक्यो होला अहिलेसम्म त’, राजदूतले बडो दुःखका साथ मलिन स्वरमा भने। यति भनेर राजदूतले गुलाफ फुलिरहेको बगैँचामा एकोहोरो हेरिरहे।

पछि एक प्राध्यापकले हामीलाई फोन गरे, उनले आफ्नो साथमा आफ्ना विद्यार्थीहरु ल्याउँदै रहेछन्, तीन छात्र र तीन छात्रा। विद्यार्थीहरु प्राध्यापक समक्ष मुसा जस्तै गरेर बसिरहेका थिए, उनीहरुले शिक्षा लिइरहेका थिए शायद। यसपछि उनले विद्यार्थीलाई अभिवादन गरे।

‘यी महानुभावसँग कुरा गर्नुहोस्’, उनले निर्देशन दिए।

विद्यार्थीहरुले मुखामुख गरे, त्यसपछि एक छात्राले सोधिन्, ‘के इंग्ल्याण्ड राम्रो छ?’

मैले हो अति सुन्दर छ भनेँ। त्यसपछि पुनः शून्यता छायो। केहीबेरमा अर्की छात्राले वेदतर्फ फर्किएर सोधिन्, ‘के अमेरिका पनि सुन्दर छ?’

‘उहाँहरुलाई तिमीहरुका बारेमा सबै थाहा छ’, कुराकानीको मेसो मिलाउँदै प्राध्यापकले भने।

पहिलो छात्राले पुनः सोधिन्, ‘इंग्ल्याण्डमा कस्मेटिक सामान कस्ता छन्? के इंग्ल्याण्डमा युवती–महिलाहरुले लिपिस्टिक प्रयोग गर्छन्?’

अहिलेसम्म चुप रहेका एक छात्रले मुख खोले, ‘इंग्ल्याण्डको राजनीतिक परिवेश कस्तो छ?’

‘कन्जरभेटिभको सरकार छ। बुझाउनु पर्दा दक्षिणपन्थी पार्टी। विपक्षमा लेबर र लिबरल पार्टी छन्। उनीहरुलाई परिभाषित गर्न कठिन छ। भन्नु पर्दा उनीहरु पनि कन्जरभेटिभ भन्दा त्यति भिन्न छैनन्।’

‘कम्युनिष्ट छैनन्?’

‘त्यति छैनन्।’

‘उसो भए म त्यहाँ जाँदिन’, एक छात्रले स्पष्ट रुपमा भने, ‘म त कम्युनिष्ट हुँ।’

अर्को एक छात्रले टाउको हल्लाए। छात्राहरुले उनीहरुको सिको गरे।

‘ओहो, तपाईँहरुले कम्युनिष्ट बाहेक केही सोच्नु हुन्नँ।’

‘र तपाईँहरुले कस्मेटिक बाहेक केही सोच्नु हुन्नँ।’

‘तपाईँहरुको राजनीतिक विचारधारा के हो?’ एक छात्रले सोधे । हामी दुवैले लिबरल हौँ भन्यौँ।

‘यसको अर्थ केही पनि छैन उसो भए’, हाम्रो एक प्रश्नकर्ताले भने। (हामी भित्री रुपमा सहमत थियौँ त्यसमा।)

‘तपाईँ पक्कै पनि कम्युनिष्ट हुनुपर्छ।’

‘तपाईँहरुले आफ्नो राजनीतिक नेपालका सम्बन्धमा कसरी प्रयोग गर्नु हुन्छ?’ वेदले सोधे।

‘हामीलाई कम्युनिष्ट चाहिएको छ।’

‘हो, तर कुन रुपमा।’

‘हाम्रोमा कम्युनिष्ट हुनै पर्छ’, ती छात्रले स्पष्ट रुपमा भने।

‘यहाँ अधिकांश विद्यार्थी राजनीतिक दलसँग सम्बद्ध छन्?’

‘अधिकांश छात्रहरु, छात्राहरुले पछिल्लो राजनीतिक परिवेशबारे त्यति चासो दिँदैनन्।’

‘पछिल्लो समयका प्रमुख मुद्दाहरु के के हुन्?’

‘साम्यवाद।’

राजनीतिक परिवेशबारेको कुराकानी केहीबेर चल्यो, त्यसपछि प्राध्यापकले विद्यार्थीहरुलाई जान भने, ‘तिमीहरु अब गए हुन्छ।’ विद्यार्थीहरुलाई बिदा गरेर प्राध्यापक पुनः हामीतर्फ आए।

‘उनीहरु मेरा राम्रा विद्यार्थी हुन्।’

‘उनीहरु सबैले राम्रो अंग्रेजी बोले नि है?’

‘पक्कै पनि, तर तपाईँले देखिहाल्नु भयो, उनीहरु अरु कुरा भन्दा राजनीतिमै बढी चासो राख्छन्। उनीहरुले एक पटक कोइरालाको समाजवादी कार्यक्रमलाई समर्थन गरे, तर त्यो बेला नेपालमा क्रियाकलाप भइरहेका थिए, र के आई सिंह युवाहरुको नायकका रुपमा स्थापित भए। स्पष्ट रुपमा भन्नु पर्दा सबै राम्रा विद्यार्थीहरु कम्युनिष्ट छन्।’

प्राध्यापकले थपे, ‘उनीहरुलाई यसबारे केही थाहा छैन, तर उनीहरुलाई लाग्छ कि कोइरालाले देश भारतलाई बेच्दै छन्। र चीन नजिक छ, त्यहि कारण उनीहरु साम्यवाद चाहन्छन्।’

प्राध्यापकले बिदा हुने बेलामा अपेक्षासहित भने, ‘मलाई अपेक्षा त कि तपाईँले यहाँको सरकारी व्यवस्थाबारे केही जानकारी उहाँहरुलाई गराउनु भयो होला।’

‘यो अलि कठिन कुरा हो’, वेदले भने।

‘मलाई पनि त्यस्तै लाग्छ’, प्राध्यापकले भने।

बेलुका कविका छोरा आइपुगे, र भने, ‘मैले तपाईँहरुलाई डा. सुमनको पार्टीमा लैजानु छ।’

‘ए’, वेदले भने, ‘के तपाईँ आउँदै हुनुहुन्छ? कस्तो राम्रो!’ उनी कवितर्फ फर्किरहेका थिए।

‘आखिरमा यो नेपालका साहित्यकारहरुको जमघट हो’, कविले भने, ‘म बिना कसरी पूरा हुन सक्छ।’

‘तपाईँले केही आफ्ना रचनाहरु पनि सुनाउनु होला नि?’

‘अहँ। म चुनिन्दा पाठक–स्रोताहरुका लागि मात्रै रचना सुनाउँछु।’

हामी चुपचाप सुमनको घरतर्फ लाग्यौँ।

सुमन शहरको बाहिरी क्षेत्रमा रहेको बस्तीमा आरामदायी घरमा बस्छन्। उनी बाहिरसम्म आएर स्वागत गरे, अनि हामी सबैको ढाडमा थपथपाए।

‘मैले तपाईँसँग कुराकानीका लागि कुनै राम्री स्त्री फेला पार्न सकिन, यहाँ सबै पुरुषहरु छन्’, उनले भने, एक हातले वेद तथा अर्को हातले मलाई समातेर ठूलो बैठक कोठामा लगे, भित्तामा इम्ब्रोइडरी गरिएको सुन्दरकला युक्त ‘फेब्रिक’ टाँगिएको थियो। आडैमा धेरै नेपालीहरु बसिरहेका थिए।

लाइनमा रहेका एकले आफूलाई परिचित गराउँदै बालकृष्ण सम भने, उनी एक अभियानका नेतृत्वकर्ता पनि रहेछन्। अर्का एकले आफूलाई विजय मल्लका रुपमा चिनाए, उनी नयाँ अभियानका नेतृत्वकर्ता रहेछन्। उनीहरु कोठाको अन्तिमतिर आमनेसामने हुनेगरी बसेका थिए। बाँकीअरु सबै उनीहरु मध्ये एकका समर्थक वा पक्षपाती थिए।

‘यहाँ आएका मध्ये कोही पनि देवकोटाका पक्षपाती छैनन् ?’ मैले मधुरो आवाजमा सुमनसँग सोधेँ।

‘ओहो, यहाँ आएका सबै देवकोटाका पक्षपाती हुन्,’ सुमनले भने।

नेपाली कविताको इतिहास मात्रै ५० वर्षको भयो। सम नेपालका राणा (शासक) हुन्। मल्ल सम्भ्रान्त। तर देवकोटा सबैका हुन्, उनी समग्रताका स्वरुप हुन् शासकदेखि सम्भ्रान्तसम्मका लागि, र नेपाली साहित्य पनि।’

र उनले टेबल बजाए।

डा. सुमनले आफ्ना नोकरचाकरसँग पेय पदार्थ मगाए।

जिन र बियर ल्याइयो, साथमा दाल, करी पाउडरले ढाकिएको उसिनेको आलु, अचार थियो। ‘खानुस्, पिउनुस् र रमाइलो गर्नुहोस्’, सुमनले भने, ‘भोलि हामी सबै मर्ने हो। सबैले आफ्ना कविता सुनाउँ।’ उनले थपे, ‘समजी, तपाईँले सुरु गर्नुहोस्।’

समले भद्र रुपमा अस्वीकार गरे। बिस्तारै अरुले आफ्ना कविताहरु झिक्न थाले। अन्ततः डा. सुमनको पालो आयो, उनले आफ्नो कविताको पाना हेरे र हामी सबैले सुन्न थाल्यौँ। हामीलाई ल्याएका कविका छोरा सोफामा बसेका थिए, र उनले भने अति उदासीन मुद्रामा भने, ‘कविताले यो साँझलाई खल्लो बनायो।’

सम बेखुशी देखिन्थे, मल्ल हाँसे। समले आफ्नो पूरै अनुहार खुम्च्याए। तर त्यसपछि कविता वाचनले गति लियो। दर्जनभन्दा बढी कवि थिए, सबैले दुई दुई वटा कविता सुनाए। उनीहरुका कविता हाम्रा लागि अनुवाद गरियो। कविता सुनाउने मध्ये एक थिए, घिमिरे (माधव घिमिरे) उनले आफ्नो कविता गाएर सुनाए। नेपाली भाषा अति कठिन लाग्दै थियो। मलाई लागेको थियो कि यसमा छोटा शब्द छन्, र कम्ती छन्द थियो।

सुनाइएका कविताहरु कानसम्म आइपुग्दा त्यस्तो विशेष जोड दिइएको जस्तो लाग्दैनथ्यो। अनुवाद गरेर सुनाइँदा पनि ती कविताका विषयवस्तु त्यति बलिया लाग्दैनथ्यो। पुरानो पुस्ता अधिकांश रुपमा आफ्ना पुस्ताले गाथा गाउने जस्ता देखिन्थे, नयाँ पुस्ताहरु भने केही यर्थाथवादी लाग्दै थिए। मल्लले आफ्नो रचना सुनाउँदै गर्दा समलाई व्यंग्यात्मक मुस्कानसहित हेरिरहेका थिए, लाग्यो उनी समको प्रतिक्रिया हेर्न चाहन्थे। दुवै धारका कविहरुमा अंग्रेजी साहित्यको प्रभाव हिन्दी लेखकबाट परेको जस्तो देखिन्थ्यो। पुरानो र नयाँ विचारधाराका कविहरुका कविताको विषयवस्तु उस्तै लाग्थ्यो। एकतर्फी प्रेम, प्रकृतिको प्रशंसा र केही मोक्षको चाह कविताहरुमा थिए। र पनि केही नयाँ पुस्ताका कविहरुले सामाजिक विषयवस्तुमा पनि लेखेका थिए। यस कारण उनीहरु सबैमा समान मानसिक अवस्था देखिन्थ्योः केही कुराको माग गरिरहेको व्यक्ति र त्यसका लागि पहिल्यै स्थापित भएको शैली। कविताहरुमा कविले नजिकको आकर्षणका लागि औँला उठाउनु पर्छ र आफूले गर्व गर्न लायक केही ‘इमेज’ छोड्नु पर्छ भन्ने भाव देखिन्थ्यो।

सुनिरहेकाहरु घुँडा टेकेर बसिरहेका थिए, र बिचबिचमा ‘वाह, वाह’ या ‘स्याबास्’ भनिरहेका हुन्थे। एकपटक त सुमन एक कविलाई झम्टिन पुगे, अँगालो हाले र रोए पनि अनि भने, ‘साथी! साँच्चिकै संवेदनशील छ तपाईँको मन!’ यो घटनापछि फेरि वाचनले गति लिन केही समय लाग्यो।

अन्तिममा सुमनले आफ्नो कविता सुनाए। उनले आफ्नो ह्विस्कीको ग्लास उचाले, प्यालातर्फ नजर लगाए। उनको कविता एकतर्फी प्रेमका बारेमा थियो। तरको उनको कविताको शैली केही भिन्न थियो। जब कविले अवैयक्तिक ढाँचामा लेख्छ, जुन अधिकांश हिन्दी कविले लेख्ने गर्छन्, त्यसमा आफ्नो सट्टा पृष्ठभूमिको व्याख्या गरिन्छ। सुमनले त्यही शैली अपनाएका थिए। उनले आफ्नो कवितामा घर बनाउँदै गरेको व्यक्ति जसको हातमा इट्टा छ, जस्ता परिदृष्यहरु प्रस्तुत गरेका थिए। यो शैली गालिबसहितका कविले प्रयोग गर्ने गरेका थिए र उनीहरु सफल पनि थिए। जब कुनै कविले पुरानो परिदृष्य समेटेर कविता लेख्छ र पश्चिमी कवि जस्तै बन्न चाहन्छ, तब त्यसले आफ्नो गुण या गहना नै गुमाउँछ। किनकी यी दुई शैली एकअर्काका विरुद्ध छन्।

तर सुमनलाई भने आफ्नो कविता अति राम्रो लाग्छ त्यसमा भएका कमिकमजोरीका बाबजुद। कविता सुनाएर सक्दा उनका गालाबाट आँसु बग्दै थिए। उनले मेरो हात समाते र दबेको आवाजमा सोधे, ‘राम्रो छ ?’ नराम्रो भन्न सक्ने अवस्था नै थिएन त्यहाँ। त्यसैले मैले भने, ‘वण्डरफुल।’ उनी मुस्कुराए र रोए पनि, उनको नाक पनि रसिलो भएको थियो। ‘अब तपाईँले पनि पढ्नु पर्छ।’

मैले हिच्किचाउँदै दुईवटा कविता सुनाएँ। मैले विस्तारै सुनाएँ, र उनीहरुले सोचेकी हरेक पटक म रोकिँदा वाहवाह गर्नुपर्छ। सुमन चियर लिडरका रुपमा चिच्याउन थाले, ‘वाह, वाह!’
उनीहरुले हरेक लाइनमा हातमा रहेको ग्लास टेबलमा बजारे। त्यहाँको अवस्था अति उत्साहित थियो।

मैले कविता अन्त्य गरेँ र लामो घुड्की लिएँ। समले भने, ‘देवकोटा तपाईँलाई भेट्न पाएको भए प्रसन्न हुने थिए।’

‘हामी भोलि फर्किँदै छौँ’, मैले भनेँ।

‘कति बेला?’ सुमनले सोधे।

‘साढे १२ बजे’, वेदले भने, सुमनले टाउनको हल्लाए।

‘के देवकोटा अझै जीवित हुनुहुन्छ?’ उनले सोधे।

‘मैले उनलाई आज भेटेको हुँ, अस्पतालमा’, सुमनले भने, ‘उनी मृत जस्तै छन्, अति मुश्किलले बोल्छन्। भोलि उनलाई मृत्यु पर्खिनका लागि पशुपतिनाथ लैजाँदै छन्।’

‘म केही व्यवस्था मिलाउँछु’, सुमनले भने। ‘म व्यवस्था मिलाउँछु । देवकोटा खुशी हुन्छन्। कुनै पनि कविले अर्को कवि जाँदै गर्दा बिदाइको हात हल्लाउनै पर्छ, जब कुनै कवि बिदा हुँदैछ भने।’

म सबेरै उठेँ र झ्यालमा पुगेँ, हिमाललाई छोडेर निस्किँदै गरेको सूर्य हेर्नका लागि, बल्दै गरेको बालद हेर्न, छिनभरमै त्यही सूर्य पहाडमाथि देखिन्छ, उपत्यका र नदीहरुमाथि पौडीजस्तो लाग्छ।

निलो आकाश र बिहानको चिसो उज्यालोमा देखिएको शहरका बस्तीहरुका छाना।

यो नेपालमा हाम्रो अन्तिम बिहान थियो।

यो ठाउँ छोड्नु पर्दा नमिठो लाग्दै थियो। ‘कहिले फर्कन्छु होला’, मैले सोचेँ, ‘यदि म फर्किएँ भने शायद बुढो भएको हुनेछु, कठोर हुनेछु होला, र कम्ती पिएको, बढी व्यवस्थित। शायद होटलमा बस्ने छु र बिस्तरामै ब्रेकफास्ट लिनेछु होला। म फर्किने बेलासम्म यहाँ हिल्टन होटल खुल्छ होला, मोटरबाटो हुनेछ होला टोखासम्म। हामी सगरमाथाको तस्बिर लिन त्यहाँसम्म गाडीमा जाने छौँ शायद। र वेदको अवस्था पनि उस्तै होला नि।’

तर अहिलेसम्म पन्नालाल निदाइरहेका थिए र वेद झुलबाट बाहिर निस्कँदै आफ्नो लुगा खोज्दै थिए।

‘हेल्लो, वेद’, मैले भनेँ।

‘हेल्लो, डोमी। मैले मेरो लुगा कहाँ राखेछु?’

‘तिम्रो बिस्तराको पुछारमा,’ मैले भनेँ, ‘तिम्लाई थाहा छ, हामी आज यहाँबाट बिदा हुँदै छौँ?’

‘हो, हामीले केही टेलिग्रामहरु पठाउनु पर्ने छ।’

‘नपठाउँ है’, मैले भने, ‘केही कुरा निश्चित नभएकै अवस्थामा कलकत्ता पुग्नु अति उत्तम हुन्छ।’

‘यु वल्ड रोमान्टिक,’ वेदले हाँस्दै भने।

‘कुनै ठाउँ छोड्ने एक सुन्दर तरिका हो, टेलिग्राम पठाउने। यदी हामीले टेलिग्राम पठाएनौँ भने हामीले काठमाडौँबाट राम्रोसँग बिदा हुन पाउने छौँ, यहाँको भरपुर स्मृतिहरु सहित। हामी गन्तव्य अर्थात कलकत्ताका लागि मात्रै हानिने छैनौँ।’

सजिलै वेदले ‘हुन्छ’ भने। ‘तर मैले एउटा टेलिग्राम भने बुवालाई पठाउनै पर्छ।’

‘यसबारे सोच्न सकिन्छ’ मैले भने, ‘मैले पनि पठाउनु पर्छ।’

पन्नालालले तातो पानी प्राप्त गरे। हामीले दाह्री फाल्यौँ, नुहायौँ, र त्यही बिचमा गुप्ता आइपुगे।’

‘सुमनले भन्नुभएको थियो कि तपाईँले देवकोटाप्रति सम्मान प्रकट गर्न चाहनु भएको थियो। म तपाईँलाई लैजान्छु।’

‘उहाँ अहिले पनि अस्पतालमै हुनुहुन्छ?’

‘आफन्तहरुले उहाँलाई आज पशुपतिनाथ लगे। उहाँ कुनै पनि बेला मृत्युवरण गर्न सक्नुहुन्छ।’

‘ओहो’, मैले भनेँ। मैले मुर्खतापूर्वक अस्वीकार गरेँ, ‘म उहाँलाई यस्तो बेलामा दुःख दिन चाहन्न।’

‘होइन, त्यस्तो केही सोच्नु पर्दैन। उहाँ जो कोहीलाई भेट्न पाउँदा खुशी हुनुहुन्छ, अझ दुई लेखकहरु। तपाईँलाई थाहा छ, उहाँ एक्लै हुनुहुन्छ।’

हामीले लुगा लगायौँ, जिप–ट्याक्सी चढ्नका लागि तल ओर्लियौँ। ‘ड्राइभर’, गुप्ताले ट्याक्सीवालालाई बोलाए ‘घाट जानु पर्‍यो।’

जताततै हरियाली युक्त उपत्यकालाई छिचोल्दै हामी अघि बढ्यौँ। ओरालो लाग्दै गर्दा गाउँ धुलाम्य भयो। बालबालिकाहरुले हामीलाई घेरे, मागे। गुप्ताले उनीहरुलाई पन्छाए।

‘जिप यो भन्दा अगाडि जान सक्दैन। मन्दिरले दिएको स्वीकृति यहिँसम्म हो, र बागमती यसको उत्तापट्टी पर्छ।’

हामी त्यहाँबाट हिँड्दै गयौँ। हामी काठको गेट हुँदै आँगनसम्म पुग्यौँ। महिलाहरुले रातो खुर्सानी सुकाएका थिए। गाउँबाट पछ्याउँदै आएका बालबालिका र कुकुरको हुल थियो हाम्रो पछि। केही दिसा पनि थियो बाटोमा।

‘यो हो मन्दिर।’

आँगनको अर्कोतर्फ काठको गेट थियो। त्यहाँबाट हामीले नदी देख्यौँ, बागमती। दुईतिर बिस्तारित किनार, बिचमा खरानी मिसिएको पानी बगिरहेको थियो। त्यहाँबाट असामान्य गन्ध आइरहेको थियो, जुन प्रिय थिएन र अति कडा थियो। केही जलिरहेको, केही मलमुत्र र केही मृत्युको गन्ध थियो।

हामी ढुंगा बिछ्याइएको बाटो हुँदै गयौँ, दायाँतर्फ नदी थियो। बायाँतर्फ लहरै एक तले घर थिए। ती घरका भूईँमा ढुंगा बिछ्याइएको थियो, ढुंगाकै पिल्लर थिए। छानोमा आड काठको थियो।

मन्दिरसम्म यी भवनहरु थिए। बागमतीको धमिलो पानी छोएका काठका दुईवटा चिता थिए। गुप्ताले त्यतै देखाए।

‘त्यहाँ पक्कै पनि दुई मानिस मृत्युको मुखमा हुनुपर्छ। उनीहरुको अन्तिम संस्कार त्यहीँ हुनेछ।’

त्यसको केही अगाडि पक्की चिताहरु थिए। ‘त्यहाँ राजा र राणाहरुको अन्तिम संस्कार हुन्छ।’

त्यसपछि हाम्रो बायाँतर्फ रहेको एक भवनलाई लक्षित गर्दै गुप्ताले भने, ‘मर्दै गरेकाहरुको घर। हामीले देवकोटालाई त्यहीँ भेट्ने छौँ।’

यी भवनमा ढुंगाको पिल्लरसहितको बरण्डा थियो, भुईँमा काठका खाट थिए झण्डै दश फिटको फरकमा। ती अधिकांश खाटमा रुग्ण मानिसहरु थिए, जो खातमा ओछ्याएको तन्नामा लपेटिएका। ती अधिकांशका वरिवरी एक वा दुई आफन्त देखिन्थे, जो मृत्यु पर्खिरहेकाहरुलाई कुर्नु पर्दा दिक्क मानिरहेका देखिन्थे। केही घाटका वरपर भने कोही थिएनन्, मृत्यु पर्खिरहेको व्यक्ति मात्रै।

त्यहाँबाट दबेको स्वरमा कराइरहेका, रोइरहेको, चिच्याएको, भुनभुनाएको जस्तो आवाज आइरहेको थियो। हामी नजिकै पुगेपछि थाहा पायौँ कि त्यो आवाज माखाहरुको रहेछ। बाक्लै माखा भन्किएको रहेका थिए। रुग्ण मानिसहरुको टाउको रहेको पट्टिको भूईँमा खकारसहितको फोहोर जमेको थियो। एक पूजारीले पंखा हम्केर माखा आफूतिरबाट धपाइरहेका थिए। हामी नजिकै पुगेपछि उनले हामीतिर हेरे।

त्यहाँबाट दबेको स्वरमा कराइरहेका, रोइरहेको, चिच्याएको, भुनभुनाएको जस्तो आवाज आइरहेको थियो। हामी नजिकै पुगेपछि थाहा पायौँ कि त्यो आवाज माखाहरुको रहेछ। बाक्लै माखा भन्किएको रहेका थिए। रुग्ण मानिसहरुको टाउको रहेको पट्टिको भूईँमा खकारसहितको फोहोर जमेको थियो। एक पूजारीले पंखा हम्केर माखा आफूतिरबाट धपाइरहेका थिए।

‘देवकोटा कहाँ हुनुहुन्छ?’

‘कवि ? मलाई लाग्छ उनी मरिसके,’ उनले काठको लाइनमा हेरे। ‘छैन, अहिलेसम्म मरेका छैनन्, ऊ त्यहाँ छन् उनी।’

ती पूजारीले देखाएतर्फ हामी गयौँ, हाम्रा पाइलाहरु मृत्यु पर्खिरहेकाहरुलाई छिचोल्दै अघि बढ्यो, गुप्ता नरोकिएसम्म हामी हिँडिरह्यौँ। गुप्ता रोकिए, झुकेर नमस्कार गरे।

हामी पुग्न अघिसम्म खाटमा देवकोटासँगै अर्का एक व्यक्ति पनि पल्टिएका थिए। देवकोटाको शरीर मैलो सेतो तन्नाले छोपिएको थियो। देवकोटाको टाउकोको माथिल्लो भाग मात्रै देखिएको थियो। उहाँको शिरतिर सारी लगाएकी महिला थिइन्। उनले सारीको सप्काले मुख छोपेकी थिइन्। पंखा हम्केर देवकोटाबाट माखा धपाईँदै थियो। गुप्ताले मधुरो स्वरमा भने, ‘देवकोटा साहब। देवकोटा साहब।’ ती महिलाले देवकोटाको अनुहारबाट तन्ना हटाइन्।

हामी उहाँको बिस्तराको छेउमा गयौँ। ती महिलाले हामीलाई बस्न संकेत गरिन्। उनले एक हातले पंखा हम्किरहेकी थिइन्, देवकोटाबाट माखा धपाउनका लागि। हामी भुईँमा बस्यौँ।

हामीले देखेको अनुहारमा मास्क थियो। त्यसमाथि कालो कपाल झरेको। कपाल निधारतिर सारेर ठूला आँखा अलिकति खोल्नु भयो हामीतिर हेरेर। आँखा मुन्तिरको भाग अति विरक्त लाग्दो थियो। गालामा खाल्डो परेको, सुकेको ओठ र बुढो मानिसको जस्तै चाउरी परेको। सेतो मैलो तन्नाले छोपिएको लामा हात बिस्तारै उठाएर देवकोटाले नमस्कार गर्नुभयो।

त्यसपछि उहाँका सुन्दर आँखा फेरि बन्द भए। उहाँ सुत्नुभयो आफ्नो साइडमा, हातहरु फेरि लत्रिए। उहाँले गहिरो पीडायुक्त सुस्केरा हाल्दै सास लिनुभयो। हरेक सासको बिचमा लामो विश्राम थियो। हामी शून्य, चुपचाप बस्यौँ। ती महिलाले पंखा हम्किरहिन्।

लामो विश्रामपछि गुप्ताले हामीलाई चिनाए। आँखा खुले। ती आँखा खैरा थिए, ताल जस्तै स्थिर र अचेत, मृत प्रायः। तर केही चिजले झक्झक्याएपछि ती आँखा खुल्थे केही सेकेण्डका लागि। ती नांगा आँखा थिए।

हाड र छाला मात्रै रहेको उहाँको हात हामीतर्फ बढ्यो। मैले दुवै हातले उहाँको हात समातेँ र बेस्सरी दबाएँ। उहाँको हात निकै चिसो र फुस्रो थियो। लामो विश्रामपछि अति नै पीडासहित मुख खुल्यो। निकै सुस्तरी, सुस्केरा हाल्दै मुखबाट बोली निस्कियोः ‘अलौकिक संगम… ।’

ती महिलाले अघिका आफ्ना क्रियामा जस्तै कुनै लगाव बिना खाटको सिरानबाट थर्मस निकालिन्। त्यसको बिर्को खोलिन् र आइसको टुक्रा निकालिन्। त्यसलाइ उनले कविको मुखमा राखिन्।

उहाँले केहीबेर चुस्नुभयो, एकतमासले हामीतिर हेरेर। त्यसपछि फेरि उहाँ बिस्तारै बोल्नु भयो, ‘म अलौकिक संगममा छु…।’

कसैले पनि केही भनेन।

‘म जलिरहेको छु। यो नर्काग्नि जस्तै छ। यो जस्तो केही पनि छैन…मानिसले क्यान्सर जस्तो यातना विकास गरेकै छैन।’

हामी अझै पनि चुपचाप थियौँ। उहाँले मलाई भन्नुभयो, ‘मैले तपाईँका सिर्जना पढेको छु…मलाई तपाईँको साथीको नाम समेत थाहा छ…तपाईँलाई म मर्दै गर्दा यहाँ भेट्न पाउनु चमत्कार नै हो।’

‘हामी तपाईँलाई भेट्न अति इच्छुक थियौँ सर,’ मैले भनेँ।

‘क्यान्सर… यसले मलाई जलाएको छ, म मर्दैछु। यदि म जीवित भएको भए म तपाईँलाई मेरा कविता देखाउने थिएँ। तपाईँले मेरा कविता पढ्नु भएको छ?’

उहाँले गुप्तालाई भन्नुभयो, ‘समलाई भन्नु मेरा कविता उहाँलाई दिनु भनेर।’

त्यसपछि मलाई उहाँले भन्नुभयो, ‘मेरा केही कविता मैले अनुवाद गर्ने प्रयास गरेको छु। अनुवाद निकै कठिन काम…. तर मैले सकेसम्म राम्रो गरेको छु… ।’

उहाँका आँखा बन्द भए, उहाँ हामीबाट धेरै पर जानु भयो र फेरि फर्किनु भयो अनि अचेतरुपमा विलाप गरिरहनु भयो। ती महिलाले उहाँको मुखका आइसको अर्को टुक्रा राखिन्। केही समयपछि उहाँले फेरि हामीलाई हेर्नुभयो।

‘मैले भन्नु पर्ने मात्रै केही शब्दहरु बाँकी छन्…  म चाहन्छु हरेकले केही अर्थ दिऊन् … तर अहिले मैले भन्न सक्ने केही छैन। उनीहरुले मलाई रगत दिए। उनीहरु भन्थे मलाई जीवित राख्ने छन् अझै केही दिन। तर म मानिसको रगत पिएर जीवित रहँदा रहँदा थाकिसकेँ। त्यसैले म यहाँ मृत्युका लागि आएको छु….।’

‘मेरा कविताहरु अति भौतिकवादी थिए… ती विश्वका बारेमा अति केन्द्रित भए… तर म तिनीहरुको त्याग गर्दिन। म यहाँ पशुपतिनाथ मन्दिरको आडमा छु, म मर्दै छु। तर कहिँकतै मेरो केही अंश बाँकी रह्यो…मेरो एक अंश कहिँ छुट्यो, त्यसले मलाई जान दिइरहेको छैन। म जान पाउँ भनेर प्रार्थना गर्छु… यदी भगवान पशुपतिनाथ आउँछन् भने म उनीसँग मेरो खप्पर फुटाउन याचना गर्छु…।’

उहाँले फेरि हामीतर्फ हेर्नुभयो, उहाँका आँखामा केही भोक थियो, तर व्यक्त हुन सकेनन्। उहाँका आँखा खुल्थे र बन्द हुन्थे।

‘तपाईँले आफू अगाडि एक शव देख्नुभएको छ…त्यो व्यक्ति कुनै बेला १७५ पाउण्ड थियो। अहिले ५२ पाउण्ड छ… र यो शव हो … यहाँ देवकोटाको एक इन्च बाँकी छ.. एक अंश … र त्यो पनि मर्ने छ। यसरी जुझेर बस्नुको के अर्थ, यो कष्टमा ? मेरा लागि प्रार्थना गर्नुहोस्… प्रार्थना गर्नुस् कि म चाँडै मरुँ…।’

‘उनीहरुले मलाई कम्युनिष्ट भने, किनकि म रुस गएको थिएँ… म मात्रै कवि थिएँ … मेरा लागि प्रार्थना गर्नुहोस्… देवकोटाका लागि प्रार्थना गर्नुस्, कि ऊ मरोस् भनेर … ।’

‘यदि मैले नर्ककै अग्नि भोग्नु पर्‍यो भने पनि त्यो यो भन्दा सहज हुनेछ… प्रार्थना गर्नुस् कि म चाँडै जान सकुँ…मेरा लागि… म नेपालका लेखकहरु मध्ये सबैभन्दा अभागी रहेछु…।’

त्यसपछि उहाँले रुने प्रयास गर्नु भयो। सुकेका ओठ बटारियो, तर जोडिन सकेनन्, किनकी जोडिने शक्ति थिएन त्यो शरीरमा, मात्रै उहाँका आँखाबाट आँसु खसिरह्यो, र ताल बन्यो उहाँका गालाका खाल्डोमा। मैले उहाँको हातमा आफ्नो हात राखेँ, उहाँले आखिरमा फेरि मलाई हेर्नुभयो। तपाईँका केही कविता सुनाउनु होस्… मलाई केही स्वाद लिन दिनुहोस्।’

म उहाँको थप नजिक गएँ, उहाँले राम्रोसँग सुन्न सक्नुहोस् भनेर र कविता सुनाउन थालेँ।

मैले कविताको सुनाउन सुरु मात्रै गरेको थिएँ, नजिकैको खाटबाट महिला चिच्याएको आवाज आयो, पूजारी त्यतै दौडिए, पक्कै पनि त्यहाँ कोही मरेको थियो।

देवकोटाले केही वास्ता गर्नु भएन, उहाँले आँखा मैमा केन्द्रित गर्नुभएको थियो र फेरि भन्नुभयो, ‘वाचन गर्नुस्।’

मैले सुनाउँदै गएँ। मैले सुुनाइसकेपछि देवकोटाले सुस्केरा हाल्नुभयो। मेरो पछाडि मरेको मान्छेका आफन्त रोइरहेका थिए, शव घाटमा जलिरहेको थियो। देवकोटाले एक लाइन फुसफुसाउनु भयो,

‘अर्लिअर इन टाइम आई प्रेड टू वी फरगिवन…’

र त्यसपछि भन्नुभयो, ‘अर्को सुनाउनु होस्।’

‘तपाईँले आफू अगाडि एक शव देख्नुभएको छ…त्यो व्यक्ति कुनै बेला १७५ पाउण्ड थियो। अहिले ५२ पाउण्ड छ… र यो शव हो … यहाँ देवकोटाको एक इन्च बाँकी छ.. एक अंश … र त्यो पनि मर्ने छ। यसरी जुझेर बस्नुको के अर्थ, यो कष्टमा ? मेरा लागि प्रार्थना गर्नुहोस्… प्रार्थना गर्नुस् कि म चाँडै मरुँ…।’

मैले सकेपछि उहाँले भन्नुभयो, ‘तपाईँ म भन्दा पनि प्राकृतिक रुपमा कवि हुनुहुन्छ…म अधिक भौतिकवादी… अधिक व्यवसायिक… अलिकति पनि समय बाँकी रहेन।’

उहाँले मुस्काउन कोशिस गर्दै भन्नुभयो, ‘तपाईँले त्यसका लागि मलाई माफ गर्नुहुने छ?’

मैले उहाँको हात बेस्सरी समाएँ फेरि, र उहाँले फेरि भन्नुभयो, ‘अझै केही सुनाउनुस्।’

‘म अरु कसैको कविता सुनाउँछु’, मैले भने । र एडना सेन्ट विन्सेन्ट मिलेको कविता ‘फर एनी नाइङ्ग पाइट’ सम्झिएँः

Time cannot plucke the bird’s wing from the bird.

Bird and wing together

Go down, one feather.

No thing that ever flew,

Not the lark, not you,

Can die as others do.

देवकोटाले भन्नुभयो, ‘हो, साँच्चै सुन्दर… पहिलो तीन लाइनले बन्ने तस्बिर खराब… तर मैले बुझेँ… यो सत्य हो।’

गुप्ताले मेरो काँधमा छोए र भने, ‘तपाईँको फ्लाइट, तपाईँसँग मात्रै केही समय छ।’

उनले देवकोटासँग भने, ‘उहाँहरु अब जानु पर्छ। उहाँहरु आजै कलकत्ता प्रस्थान गर्दै हुनुहुन्छ।’

देवकोटाले बिस्तारै भन्नुभयो, ‘तपाईँहरु बस्नु हुँदैन…दुई कवि… तपाईँहरु मेरो मृत्युसम्म यहाँ बस्नु हुँदैन?’
र, मैले उपायशून्य भएर भने, ‘मलाई लाग्छ हामी जानु पर्छ।’

एकपटक फेरि देवकोटाको बास रहेको अस्थिरपञ्जर प्रायः शरीरले रुन प्रयास गर्‍यो। ओठ एक भए। ‘मलाई तपाईँहरुको आशिर्वाद दिनुहोस् मेरो मार्गका लागि’, देवकोटाले भन्नुभयो, ‘तपाईँहरु दुवै मेरा हुनुहुन्छ… जानुस् अब।’

वेद र म दुवैले निहुरिएर उहाँको टाउकोमा चुम्बन गर्‍यौँ। निधार पनि हात जस्तै चिसो थियो। उहाँले अति ठूलो प्रयास गरेर हात उठाएर आशिर्वाद दिएजस्तो संकेत गर्नु भयो।

र भन्नुभयो, ‘मेरा लागि प्रार्थना गर्नुहोला।’

हामी देवकोटाले मृत्यु पर्खिरहेको स्थानबाट पर हुँदै गयौँ। हामी फेरि त्यही धुले बाटो हुँदै जिपमा फर्कियौँ। नराम्रो गन्ध आइरहेको बागमती र चिताबाट उडिरहेको धुवाँबाट टाढा भयौँ।

(कवि डम मोरेको संस्मरण ‘गन अवे’बाट महाकवि देवकोटाबारे लेखिएको ‘डाइङ पोएट’ शीर्षक लेखको अनुवाद।)

कार्तिक ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्