‘स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र ? पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’

काठमाडौँ बसुन्धाराका मनिष राईले यसो भनिरहँदा उनका वरिपरि कुकुर थिए र काखमा पनि कुकुर नै थियो । उनले प्रेमको कुरा गरेका हुन् कुकुरका लागि ।

सानैदेखि कुकुरलाई माया गर्ने मनिष राईले लामो दिनको सुरुका केही घण्टा हरेक दिन कुकुरका लागि सुम्पिन्छन् । घरमा पालेको कुकुरको माया गर्नेहरु त धेरै छन् । तर उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डोर्‍याउँछ ।

उनी रहेक दिन बिहानै उडेर बसुन्धारा क्षेत्रका सडकमा बस्ने कुकुरलाई खाना खुवाउन निस्कन्छन् । उनले चक्रपथ, धापासीसहितका क्षेत्रका सडक कुकुरलाई बिस्कुट दिन्छन् । ‘यिनीहरुको पेट भरेर दिन सुरु गर्दा आनन्द लाग्छ । पर्खेर बसेका हुन्छन् । बोल्न पो सक्दैनन्, तर यिनीहरुले खाने कुरा माग्छन् । दिन पाउँदा खुशी लाग्छ ।’

सडकका कुकुरको मायामा परेका मनिषलाई उनीहरुमाथिको जोखिम र अरुले गर्ने व्यवहारले भने मन कुँड्याउँछ । गाडी चलाउनेहरुले बेवास्ता गर्छन्, मर्कामा निर्दोष कुकुर पर्छन् । घरमा कुकुर पालेकैहरुले पनि सडकका कुकुरलाई लखेट्छन्, छिछिदुरदुर गर्छन् । उनलाई भने यस्तो देख्दा अति नमिठो लाग्छ ।

‘धेरैले बाहिरको कुकुर हो, पिट्नु पर्छ, लखेट्नु पर्छ भन्ने ठान्छन् । तर यस्तो होइन, यिनीहरु बोल्न पो सक्दैनन्, बुझ्न त सबै बुझ्छन् नि । यिनीहरुले पनि सोच्छन् । माया गरे यिनले पनि माया नै दिन्छन् ।’ मनिषले भने, ‘यिनीहरुले हामीले दिए न खाने हुन् । थोरै खान दिए यिनले ठूलो गुन मान्छन् ।’

मनिषलाई सडकका कुकुरप्रति काठमाडौँ महानगरपालिकाको व्यवहारले निराश र आक्रोशित बनाएको छ । महानगरपालिकाले सडकका कुकुरलाई झुक्याएर विष दिई मार्ने गरेको आरोप उनको छ । मनिषले भने, ‘महानगरपालिकाले झुट बोलेको छ हामीले कुकुर मारेका छैनौँ भनेर । तर उनीहरुले रातिमा आएर विष हालेर जान्छन् ।’

तर महानगरपालिका भने विगतमा त्यस्तो गरिएको भए पनि पछिल्ला वर्षहरुमा कुकुरको व्यवस्थापनका लागि अरु विकल्पहरु अपनाइएको बताउँछ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार हालसम्म १३ हजार कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । यस्तै सातहजार कुकुरको बन्ध्याकरण गरिएको उनले बताए ।

महानगरका ३२ मध्ये ६ वटा वडाका कुकुरमा मात्रै अब रेबिज विरुद्धको खोप लगाउने तथा बन्ध्याकरणको काम बाँकी रहेको उनले जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिकामा २४ हजारको हाराहारीमा सडक या सार्वजनिक कुकुर रहेको महानगरको तथ्यांक छ ।

महानगरको दाबीसँग त्यति सहमत नदिएका सडक कुकुरका पिता तुल्य मनिषले सबै मिलेर उनीहरुलाई माया गर्नु पर्ने बताउँछन् ।

उनी भन्छन्, ‘सडक कुकुरले पिसाब त गर्छन्, तर जहाँ पायो त्यहिँ दिसा गर्दैनन् । बाटोमा फोहोर गर्ने त घरपालुवा कुकुरले हो । सडकका कुकुरलाई माया र सके थोरै खाना दिए पुग्छ । अरु केही पर्दैन । यिनीहरुसँग डराउनु, भाग्नु वा तर्सनु पर्ने हुँदै होइन ।’