कप्तान बाहिरिँदा टिमका समर्थक खुशी, जोगिएन सुरुमै लिएको अग्रता

सुरुको ९ मिनेट भित्रै लिएको दुई गोलको अग्रता जोगाउन सकेन आर्सनलले । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा सातौँ मिनेटमा सोक्रेटस पापास्तथोपोलोस तथा नवौँ मिनेटमा डेविड लुइजले गोल गरेर आर्सनललाई अग्रता दिलाए । ३२ औँ मिनेटमा क्रिष्टल प्यालेसका लागि लुका मिलिभोजेविकले गोल गरे ।

जोर्डन आयुले ५२ औँ मिनेटमा गोल गरेपछि क्रिष्टल प्यालेसले खेलमा २–२ को बराबरी गरेको हो । बराबरीपछि पाँचौँ स्थानको आर्सनलको १० खेलबाट १६ अंक भएको छ । छैटौँ स्थानमा रहेको क्रिष्टल प्यालेसको १५ अंक छ ।

यो खेलमा आर्सनलका कप्तान ग्रानिट जाका आफ्नै टिमका समर्थकसँग आक्रोशित मुद्रामा प्रस्तुत भएका छन् । टिमको कप्तानमा हालै नियुक्त भएका जाका खेलको ६१ औँ मिनेटमा मैदान बाहिर आए । उनको ठाउँमा बुकायो साका मैदान छिरे ।

जाका बाहिरिँदै गर्दा आर्सनलका समर्थकले त्यसको खुशीमा हुटिङ्ग गरे । आक्रोशित भएका जाकाले व्यंग्यात्मक रुपमा आफू बाहिरिँदा खुशी भएर हुटिङ्ग गरिरहेका आर्सनल समर्थक तर्फ फर्केर कान थापो जस्तो गरे हात कानमा लगेर । उनको यो प्रतिक्रियाको आलोचना भइरहेको छ।

कात्तिक ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्