संगम स्विट्का सञ्चालकसँग अन्तर्वार्ता

‘बासी मिठाई बेच्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु सरह’

संगम स्विटस् विगत २४ वर्षदेखि ग्राहकहरुलाई शाकाहारी परिकारबाट सेवा दिँदै आएको छ । यसका सञ्चालक संगम शर्मासँग देश सञ्चारकी पूर्णिमा बिकले गरेको कुराकानी

१) संगम स्विटस्को स्थापना कहिले र कसरी भयो?

२०५२ सालमा झापाको दमकमा पहिलो शाखा संचालनमा ल्याएको हुँ। म पहाडी समुदायको व्यक्ति मिठाइका परिकारको व्यापारबारे धेरै थाहा थिएनँ । आमाले हामीलाई शाकाहारीको संस्कार दिनुभयो । उहाँकै कारण प पनि शाकाहारी भएँ । सुरुमा यो व्यापार त्यति फलदायी भएन । दमकमा शाकाहारी रेष्टुरेन्ट पनि थिएनन्। म शाकाहारी भएकाले होला मेरो दिमागमा शाकाहारी होटलको आइडिया आयो। अहिले राम्रै भएको छ ।

२) अहिले संगम स्विट्सका कति शाखा छन् ?

झापाको दमकदेखि काठमाडौँ सम्म शाखा छन्। झापा, बिर्तामोड हुँदै काठमाडौँको कालिमाटी, नयाँबानेश्वर, कमलादीलगायत ६ शाखा संचालनमा छन्। अहिले हामी ६ आउटलेटका माध्यमबाट ग्राहकहरुलाई सेवा दिइरहेका छौँ।

३) सुरुवाति दिनमा कस्ता चुनौतीको सामना गर्नुपर्यो ?

आजभन्दा करिब २४ वर्ष अगाडि सुरु गरेको व्यापार हो। त्यो समयमा म २३ वर्षको थिएँ। शायद युवा अवस्थामा भएर होला जस्तो सुकै चुनौती सामान्य जस्तो लाग्थ्यो। तर आज सम्झिँदा ती दिनहरुमा साच्चै कति धेरै चुनौती रहेछन ्जस्तो लाग्छ । युवाको जोश र जाँगरले चुनौतीलाई सामान्य बनाइदिँदो रहेछ । कुनै अध्ययन पनि थिएन मिठाईका बारेमा। जे होस् गरेरे सिकियो ।

४) पहिले र अहिलेको तुलना गर्दा व्यापार कस्तो छ ?

पहिलेको भन्दा व्यापार बढेको छ । पहिले निश्चित क्षेत्रमा व्यापार हुने भएकाले त्यो अनुसार नै ग्राहकहरु आउँछन्। तर अहिले थप शाखा बिस्तारसँगै ग्राहक पनि बढेका छन्। ग्राहक बढेपछि व्यापार पनि राम्रो छ। तर पहिलेको तुलनामा व्यापार बढी हुन्छ। तर त्यहि अनुसारको. लागत पनि हुन्छ। दुःख धेरै गर्नु पर्छ। ग्राहकहरुको माग पनि बढी भएको छ। गुणस्तरमा पनि ध्यान दिन्छन्।

५) झापादेखि काठमाडौँसम्मको यात्रा कस्तो थियो ?

नराम्रो अनुभव भएन। ग्राहकवर्गहरुको राम्रो प्रतिक्रिया, माया र पे्ररणाले काठमाडौँसम्म आउन सफल बनायो। तर साच्चै तुलना गर्दा १४ वर्ष भन्दा पछि मात्र काठमाडौँमा व्यापार सुरु गरेको हो। करिब १० वर्षजति भयो।

१४ वर्ष अगाडि भन्दा अहिले व्यापारमा बढी चुनौती छ। अहिले ग्राहकहरुहरुको माग बढी छ र स्वाद पनि। उनीहरुले नया नयाँ परिकारहरुको माग गर्छन् । त्यति मात्र होइन ग्राहकहरुलाई मिठाई या खाना दिँदा मिलाएर दिनुपर्छ। यदी ग्राहहरुलाई खाना पस्कने तरिका भएन भने उनीहरुले नराम्रो फिल गर्छन्। उनीहरुको माग अनुसार हामीले पनि काम गर्नु पर्छ। अहिले बजारमा प्रतिस्पर्धा पनि बढेको छ।

६) ग्राहकले संगम नै किन रोज्ने ?

मेरो श्रीमती र परिवारका अन्य सदस्य लगायत म आफै दिनरात नभनि काममा खट्छाैँ। हामीले सबै पकाउने काम आफै गर्छौँ र अन्य काम आफ्नै आखाँ अगाडि गराउँछौँ। ग्राहकलाई कुनै कमि नहोस् भनेर हामी खटिरहेका हुन्छौँ। हाम्रो राम्रो पक्ष भनेकै हामी आफै काममा खटिनु हो। जसले गर्दा हाम्रा परिकारहरु स्वादिष्ट र गुणस्तरीय हुन्छन्। हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौँ।

मिठाईका लागि चाहिने सामग्री आफै तयार गछौँ । बाहिर पनि सामग्री पाइन्छन्। तर संगम स्विटस्ले ग्राहकको स्वास्थलाई ध्यानमा राखेर गुणस्तरीय बनाउँछौ र मलाई अरुमा विश्वास लाग्दैन। आफै खट्ने र मिठाई आफै बनाउने भएकाले ग्राहकहरु आउँछन्। यहि भएर होला १० वर्ष अगाडिका ग्राहकहरु पनि अहिलेसम्म आउनु हुन्छ। यसरी ग्राहकहरुले आएर अझ थप प्रेरणा दिनुपर्छ भन्ने मलाई लाग्छ।

हाम्रो गुणस्तर र स्वादका बारेमा थाहा भएका ग्राहक हाम्रो पसल खोज्दै आउनु हुन्छ। उहाँको हामी प्रतिको विश्वास हो हाम्रो काम मन पराएर अहिलेसम्म हामीलाई विश्वास गर्नु भएको छ।

७) मिठाईका कुन–कुन परिकार पाइन्छन् ?

हामीले हाम्रो समाजले मन पराउने र ग्राहकको माग अनुसारका सबै किसिमका मिठाइका परिकार बनाउँछौ। करिब दुई सय भन्दा बढी परिकार बनाइन्छ। यो भन्दा बढी बनाउने क्षमता छ तर हामी ग्राहकको रुचीलाई ध्यानमा राखेर बनाउँछौ। सबै वर्गका ग्राहकलाई मध्य नजर गरेर मूल्य पनि राखेका छौँ।

८) कामदार कति छन् ?

संगम स्विटस्मा अधिकांश नेपाली कामदार नै छन्। केही भारतका पनि छन्। नेपालका मानिस कामको खोजीमा भारत जान्छन् भने भारतका नेपाल आउँछन्। त्यो सामान्य हो । तर मैले भारतको दिल्लीबाट नेपाली कामदार ल्याएको छु। खासमा कामदार निश्चित हुँदैन। अब तिहारको समयमा बढी कामदार थप्नु पर्छ। समग्रमा हेर्दा १७ जना कामदार छन्।

९) यस क्षेत्रमा व्यापार गर्न चाहने लाई के सुझाव दिनु हुन्छ ?

अहिले बजारमा निकै प्रतिस्पर्धा बढेको छ। पहिले जस्तो थोरै पुँजीमा व्यापार गर्न सक्ने अवस्था छैन। त्यसैले अब आउने युवा वर्गहरुले संयुक्त रुपमा लगानी गरेर आउँन सक्छन्। आफूसँग पर्याप्त पुँजी छ भने एकल रुपमा व्यापार गर्दा हुन्छ। तर व्यापार गर्दा बजारमा स्वस्थ प्रतिस्पर्धा गर्न सक्नुपर्छ र विशेष गरेर व्यापारमा इमान्दारीता, गुणस्तर, सच्चा र लगनशिल भएर गर्दा सफल भइन्छ।

यदि ग्राहकसँग बेमाइनी गर्ने हो या ठग्ने काम गरेमा ग्राहक कहिले पनि विश्वास गर्दैनन्। हुन त अहिलेका ग्राहकहरु निकै सचेत भइसकेका छन्। उनीहरुले प्रत्येक खानेकुरा टेस्ट गरेर मात्र खरिद गर्छन्। ग्राहलाई आफ्नो भगवान मानेर काम गर्‍यो भने सफल हुन सकिन्छ।

१०) तपाईँको सफलताको राज के हो ?

मेरो सफलताको कुरा गर्नु पर्दा पहिलो कुरा मेरो आत्मविश्वास हो। हुन त त्यो समयमा हामीले बोलेको कुरामा कमेन्ट नगरेका होइनन्। तर सफल व्यापारी हुन इमान्दारीता, लगानशिलता, मेहनत र आफूले बोलेको पुर्‍याउनु पर्छ। अबको समयमा सबैका कुरा आफूले तयार गरेर अरुको जिम्मेवारीमा दिएर सफल हुने अवस्था छैन। आफ्नो व्यवसायमा मानसिक र शारीरिक रुपमा खटिनु पर्ने जरुरी छ। यी सबै कुरामा ध्यान दिएर होला अहिलेसम्म यति लामो समयसम्म चलेको छ।

११) ग्राहकसँगको अनुभव कस्तो छ ?

व्यवसायीका लागि ग्राहक भगवान हुन्। तर कहिलेकाहीँ भने ग्राहकसँग पनि चित्त दुख्छ। उनीहरु सँग रिसाउने कुरा भएन। कतिपय ग्राहकहरुले फ्रेस खानेकुरालाई पनि बासी भन्नु हुन्छ। त्यसो गर्दा मन खल्लो हुन्छ।

हामीले बासी बेच्नु भनेको आफ्नो खुट्टामा बन्चरो हान्नु सरह हो। हामीले ग्राहकलाई कहिले पनि बासी बिक्री गर्ने गरेका छैनाैँ। यस्ता क्रियाकलापले हाम्रो आफ्नै व्यापार ओरालो लाग्ने हो।

कात्तिक ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्