परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ: पूर्वराजा शाह

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका बेला आफूले दिएको सन्देशको मनन गर्न सबैलाई आग्रह गरेका छन् । बहिनी शोभाराज्यलक्ष्मी शाहीबाट भाइटीका ग्रहण गरिसकेपछि संवाददाताहरुसँग बोल्दै पूर्वराजा शाहले दसैँका बेला आफूले दिएको सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गरे ।

‘सर्वप्रथम तपाईँहरुलाई र तपाईँहरुमार्फत समस्त नेपाली दाजुभाइ दिहीबहीनीहरुलाई आजको यो पावन अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । देशको परिस्थितिको कुरा गर्नुपर्दा खेरी केही हप्ता अगाडि मैले एउटा सन्देश दिएको थिएँ म त्यो सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गर्दछु ’ पूर्वराजा शाहले संवाददाताहरुसँग भने ।

उनले परिवर्तन हुँदा खेरीका दुई कुरालाई महत्व दिन आग्रह गरे ।

‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ । विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त सुखद वातावरणमा बस्ने अवसरको दिन हो । सबैले त्यो अवसर पाओस्’, पूर्वराजाले भने ।

उनले अघि भने, ‘केहीदिन अघि हामीहरु सबैले लक्ष्मीपूजा मनाएका थियौँ । धेरैले भएको धन नमासियोस् भनेर प्राथना गरे होलान् कतिले भएको धन अझ वृद्धि होस् भन्ने अभिलासा राखे होलान् र मैले चाहिँ धन हुनेलाई मन पाइयोस् र मन हुनेलाई नेपालीपन पाइयोस् भनेर प्राथना गरेको थिएँ, पूर्वराजाले भने, ‘त्यही दिन मलाई हाम्रो कविवर लक्ष्मीप्रसाद देवकोटाको पनि सम्झना आएको थियो । उहाँले लेख्नुभएको कुरा थियो । सुख भनेको के हो ? र उहाँले नै जवाफ दिनुभएको छ । आफैलाई नै मेटिएर भए पनि अर्काको सुख गर्नु नै सुख हो । यहि भावना हामी सबैमा छाओस् यहि विचारले हाम्रो जिन्दगी राम्रो र सुख शान्तिसँग बस्न पाओस् भनेर मेरो कामना छ धन्यवाद ।’

कात्तिक १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्