तासको रमझमले तिहारकाे टीका छुटायो

नेपालगञ्ज – तिहार हर्ष–उल्लास, खुशीयालीको पर्व । हिन्दूहरुको दोस्रो ठूलो चाड । दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाउनु नै तिहारको विशेषता हो ।

तिहारको ‘रमाइलो’ को नाममा जुवातासमा भिड्दा कतिपयको तिहार भने खल्लो भएको छ । बाँकेको कोहलपुरमा तास खेल्दाखेल्दै पक्राउ परेका नौजनाको तिहार खल्लो भएको हो ।

वर्षको एकपटक दिदीबहिनीको हातबाट टीका लगाउने तिहार उनीहरुको लागि ‘अविस्मरणीय’ हुने भएको छ । किनकी, उनीहरु इलाका प्रहरी कार्यालय, कोहलपुरको थुनुवा कक्षमा छन् ।

कोहलपुर–११ बाट ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित पक्राउ परेका नौ जना जुवाडेलाई कोहलपुर प्रहरीले हिरासतमा राखेको छ । कोहलपुर प्रहरीले दसैँमा पनि आधा दर्जन ठाउँबाट जुवाडेहरु पक्राउ गरेको थियो ।

कोहलपुरका मुद्दाफाटका इन्चार्ज सुरेन्द्र पन्तले उनीहरुको दिदीबहिनी इलाका प्रहरी कार्यालयमै टीका लगाउन आए मेलोमेसो मिलाइदिने बताए ।

‘कोही प्रहरी कार्यालयमै टीका लगाउन आए भने हामीले अर्को कोठामा ल्याएर टीका लगाइदिने व्यवस्था मिलाइदिन्छौँ । तर, घर जान दिँदैनौ’, मुद्दाफाँटका इन्चार्ज पन्तले भने, ‘पक्राउ परेकामध्ये ६ जना बाँके र ३ जना अछामका रहेका छन् ।’

कोहलपुर प्रहरीका इन्चार्ज डिएसपी हेम शाहीले दसैँमा हिरासतमा रहेका बन्दीहरुलाई टीका लगाइदिएका थिए । उनीहरुको दिदीबहिनी आए तिहारमा पनि टीका लगाउन पाउनेछन् ।

कार्तिक १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू