सम्पादकीय

सत्ता उन्मादलाई सिस्नुपानी

अहिलेको सत्ता नेतृत्वको विगत सशस्त्र युद्ध र रक्तपातसँग जोडिएको छ। राजनीतिक परिवर्तनको माध्यमका रुपमा हिंसालाई अपनाए पनि अन्ततः शान्ति र प्रजातन्त्रमा प्रतिबद्धता जनाएबिना जनताको समर्थन र सत्ता पाइँदैन भन्ने घोषित नीतिका साथ राजनीतिमा अगाडि बढेकाले नै अहिले नेकपा दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेको हो।

सचेत र राष्ट्र तथा समाजप्रति दायित्वबोध भएका नागरिक, कलाकार र कवि मुलुकप्रति बफादारी, स्वच्छ शासन तथा विकासको नारा लिएर जनताको अभिमत हासिल गरेका नेता तथा शासनप्रति निगरानी राखिरहन्छन्। र, अवसर पाउँदा, अवसर पारेर तथा पर्व विशेषमा सांकेतिक रुपमै भए पनि सत्ता र नेताहरुलाई खबरदारी गर्ने गर्छन्। देशको स्वाभिमान, प्रगति र सम्मानलाई सर्वोच्च स्थानमा राख्ने नागरिक समाजको त्यो चेतनशील समूहले यसपटक लक्ष्मीपूजाका दिन त्यही गर्‍यो, प्रज्ञा प्रतिष्ठानमा, सिस्नुपानी समूहको ब्यानरमा।

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली, उनका मन्त्रीहरु र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पानीमा चोपिएको सिस्नुको साहित्यिक र व्यंग्यात्मक ‘प्रहार’ थाप्न त्यहाँ उपस्थित थिए। प्रजातन्त्रको सुन्दर पक्ष मानिनुपर्छ यसलाई।

नेताहरु राम्रा पहिरनमा थिए, माथिदेखि तलसम्म। त्यसैले उनीहरुको नांगो आङमा सिस्नुपानीले छुन सक्ने कुरै भएन। तर, उनीहरुको विवेकमा, अन्तरात्मामा, मन र मस्तिष्कमा त्यसले कुनै असर पार्ला कि नपार्ला अब? कवि र लेखकको लेखन र अभिव्यक्तिले शासन र राजनीतिलाई प्रभावित गरेन भने सडक तात्छ। सत्तासँग दमन गर्ने र पतनको अवश्यंभाविता बाहेक अर्को कुनै विकल्प रहने छैन।

सत्ताधारी दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, घाँटी जोडिएका उनीहरुका दुई मुखबाट जनतालाई अलमलमा पार्ने गरी आउने फरक अभिव्यक्ति, आर्यघाट गंगा आरतीमा राष्ट्रगान अनिवार्य गर्ने सरकारको अति उत्पाती तथा आपत्तिजनक घोषणा, वाइडबडी घुस प्रकरणमा सत्ता र प्रतिपक्षद्वारा हासिल गरेका कु–लाभ या अशुभ–लोभ, इँट्टाभट्टीमा जिउँदै श्रमिकहरु जलाइएको प्रकरण र कांग्रेसको बचाउ, राष्ट्रपतिमा देखिँदै गरेको जनविरोधी गतिविधि, विदेशी पाहुनाहरुलाई बोलाउँदा सडक प्रदूषणरहित राख्ने सरकारको धूर्त नीति, उनीहरुको आलिसान जीवनशैली र कालाव्यापारीहरुसँगको साँठगाँठ–खासगरी सत्ताको उच्चतम तहमा, यी सबै सिस्नुपानीले डामेका विषय हुन्।

स्वभाविक रुपमा तीसँग जोडिएका पात्रहरु पनि त्यसमा पोलिएका छन्। जनताले तिनलाई त्यसरी नै बुझेका छन्, जसरी सिस्नुपानी समूहले उनीहरुलाई प्रस्तुत गरेको छ। सत्ता, सरकार र राजनीतिक समूहहरुले तत्काल त्यो सन्देश ग्रहण गरी सुधारात्मक कदम नउठाए सांकेतिक सिस्नुपानी वास्तवमै सिस्नुपानीको आम जन प्रहारमा बदलिन बेर लाग्ने छैन। धन्यबाद सिस्नुपानी।

कार्तिक १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्