बन्ने भयो गेम अफ थ्रोनको प्रिक्वेल, हाउस अफ द ड्रयागन

अमेरिकी केबल च्यानल नेटवर्क एचबिओले चर्चित फ्यान्टसी टेलिभिजन सो गेम अफ थ्रोनको प्रिक्वेल निर्माण गर्ने पक्का भएको छ । लगातार सफल ८ सिजनपछि यो वर्ष अन्त्य भएको गेम अफ थ्रोनको प्रिक्लेलका लागि विभिन्न प्रस्ताव आएका थिए ।

त्यसमध्ये एचबिओले हाउस अफ द ड्रयागन नाम गरेको सो लाई स्वीकृति दिएको हो । हाउस अफ द ड्रयागन गेम अफ थ्रोन सुरु भएको भन्दा ३०० सय वर्ष पहिलेको समयबाट सुरु हुने जनाइएको छ ।

विज्ञापन

गेम अफ थ्रोनको अर्को प्रस्तावित प्रिक्वेल एचबिओले रद्द गरेको दाबीसहितको खबर आएको केही घण्टापछि नै एचबिओले हाउस अफ द ड्रयागन चाँडै आउने जानकारी दिएको हो । रद्द गरिएको भनिएको प्रस्तावित प्रिक्वेलमा नाओमी वाट्सले अभिनय गर्ने भनिएको थियो ।

गेम अफ थ्रोन एचबिओको सबैभन्दा चर्चित सिरिज हो । यसले धेरै एम्मी अवार्ड जितेको थियो र दशौँ लाख दर्शक पाएको थियो ।

एचबिओका कार्यक्रम निर्माण सम्बन्धी विभागका अध्यक्ष केसी ब्लोयिसले हाउस अफ द ड्रयागन गेम अफ थ्रोनको प्रिक्वेलको रुपमा एचबिओमा आउने जानकारी दिएका हुन् । उनले यो जानकारी लस एन्जलसमा एचबिओ म्याक्स स्ट्रिमिङ्ग प्लाटफर्मको शुभारम्भ गर्ने क्रममा दिएका हुन् ।

प्रिक्वेलमा हाउस टाइगेरियन र वेस्टरोसका सुरुवाति समयको कथा समेटिने उनले बताएका छन् । हाउस अफ द ड्रयागनको निर्माण गेम अफ थ्रोनका लेखकत्रय जर्ज आरआर मार्टिन, रायन कोन्डल र मिगुएल सापोचनिकले निर्माण गर्ने जनाइएको छ ।

नाम तय नभएको प्रिक्वेलका लागि यहि समरमा पाइलट एपिसोड छायाँकन गरिएको थियो, जसमा ओस्कार मनोनित अभिनेत्री नाओमी वाट्स थिइन् । सो प्रिक्वेल एचबिओले रद्द गरेको छ । यसको कारण खुलाइएको छैन र एचबिओले पनि केही प्रतिक्रिया दिएको छैन ।

कार्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्