ट्रम्पले युक्रेनलाई दिएको दबाबमा अमेरिकी सेनाका उच्च अधिकारीको गम्भीर चासो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई गरेको टेलिफोन संवाद सुनेका एक अधिकारीले ट्रम्पले आफ्ना विपक्षीका सम्बन्धमा गरेको आग्रहप्रति आफूले गम्भीर चासो व्यक्त गरेको बताएका छन् ।

लेफ्टिनेन्ट कर्णेल एलेक्सान्डर विन्डम्यानसँग अमेरिकी संसदको समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा सुनुवाई गरेको हो । त्यस क्रममा कर्णेल विन्डम्यानले आफूले राष्ट्रपति ट्रम्पसँग उनले युक्रेनका राष्ट्रपतिलाई दिएको दबाबलाई लिएर दुई पटक आफ्नो विमत्ति जाहेर गरेको बताएका छन् ।

सुनुवाईको क्रममा कर्णेल विन्डम्यानले जुलाई १० मा अमेरिका र युक्रेनका राष्ट्रिय सुरक्षा अधिकारीबिचको बैठकदेखि नै आफ्नो चासो जाहेर गरेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई दबाब दिएका आरोप छ ।

गएको जुलाई २५ मा गरेको उक्त टेलिफोन संवादको जानकारी आएसँगै तल्लो सदनका तीन कमिटिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेका छन् ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनी सबैभन्दा अघि रहेका छन् ।

ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको राजनीतिक छवि धुमिल बनाउनका लागि विदेशी शक्तिको सहयोग मागेको आरोप छ । ट्रम्पले भने आफूमाथि भइरहेको अनुसन्धानलाई ‘विचहन्ट’ भन्ने गरेका छन् ।

कात्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्