आगामी एक दशकसम्म भ्रमण वर्ष : मन्त्री भट्टराई

जनकपुरधाम – भ्रमण वर्ष २०२० नेपाललाई पर्यटकको आकर्षणको केन्द्रमा राख्ने प्रयासको थालनी मात्रै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

बुधबार पत्रकार महासंघ धनुषा शाखाले जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने रणनीति रहेको बताएका छन् ।

विभिन्न ठाउँबाट जनकपुरधामको भ्रमणमा आउनेहरु यहाँको भ्रमण गरेर पुनः फर्कने गरेकोले तिनीहरुलाई लामो समय राख्ने प्रकारको वातावरण बनाउनु पर्ने उनले बताए । उनले भने, ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन्, तिनीहरुलाई रोक्नु पर्ने अवश्यकता छ । यहाँ आउने पर्यटकलाई छिन्मस्ता, गढिमाई, बारा, पर्सा, महोत्तरी लगायत विभिन्न ठाउँमा घुम्नु पर्योे । पर्यटकलाई रोकेर मात्रै हुँदैन तिनीहरुलाई यहाँ बस्ने प्रकारको वातावरण बनाउनु पर्छ ।’

मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणाधीन अवस्थामा रहेको जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २–३ महिनामा पूरा भएर सञ्चालनमा आउने बताए । त्यस्तै मन्त्री भट्टराईले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकोले उनको शालिक नेपालको विभन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताए ।

त्यस्तै भ्रमण वर्ष २०२० को प्रदेश २ का संयोजक मनिष झाले प्रदेश २ मा पर्यटन व्यवसायको संस्कार नरहेकोले यो भ्रमण वर्ष यहाँ व्यवसायीक पर्यटनको संस्कार बसाउने अवसरको रुपमा रहेको बताए । प्रदेशमा रहेको पर्यटन क्षेत्रलाई पहिले देशमा रहेकालाई जानकारी दिएपछि मात्र यसको जानकारी विदेशमा जाने उनले बताए ।

कात्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्