अन्तर्वार्ता

नयाँ कप्तान ज्ञानेन्द्र भन्छन्: पारसजस्तै लिडर बन्न सकूँ

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ-क्यानले पारस खड्काले कप्तानबाट राजिनामा दिएपछि उक्त पदमा मल्ललाई नियुक्त गरेको हो।

मल्ल विगत करिब एक दशकयता नेपाली टोलीको नियमित उपकप्तान थिए। लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकै समयमा पारसले कप्तान छाडेपछि मल्लले टोलीको नेतृत्व गर्ने बाटो खुलेको थियो। ज्ञानेन्द्रले पारसभन्दा २ वर्षपछि सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।

विज्ञापन

विगत १३ वर्षयता सिनियर राष्ट्रिय टोलीमा रहेका ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिनुका कारणबारे क्यान महासचिव अशोकनाथ प्याकुरेल भन्छन्- ज्ञानेन्द्रसँग लामो समय खेलेको अनुभव छ, उनी लामो समयदेखि टोलीको उपकप्तान छन् अनि टोलीलाई लिड गर्न सक्ने क्षमता पनि छ।

क्यानले कप्तान नियुक्त गरेका ज्ञानेन्द्र मल्लसँग देशसञ्चारले टोलीको कप्तानीको जिम्मेवारी र आगामी चुनौतीका विषयमा कुराकानी गरेको छ।

१. नेपाली टोलीको कप्तान बन्नु भएको छ, कस्तो लागिरहेको छ? 

-जिन्दगीमा धेरै कुरा नसोचेको भइरहेका छन्। नेपाली टोलीका लागि खेल्ने र राम्रो गर्नेभन्दा बाहेक मेरो सपना केही थिएन। तर समयक्रममा हामीले विश्वकप पनि खेल्यौँ, एकदिवशीय मान्यता प्राप्त गर्‍यौँ। खासमा हामी खेल्न मात्र केन्द्रित थियौँ। कप्तान बन्ने त कतै सोचमै थिएन। किनभने कप्तान बन्नैपर्छ भन्ने पनि थिएन। तर पारसले राजिनामा दिएपछि नयाँ कप्तान को बनाउँछ भन्नेबारे मेरो पनि नाम सुनेको थिएँ। त्यसपछि चाहिँ बनाउला कि नबनाउला भन्ने कौतुहल थियो।

२. आफूभन्दा दुई वर्षअघि मात्र सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका पारस खड्काको कप्तानी लगातार जमिरहेकाले कप्तान बन्ने आश नभएको हो कि!

– त्यस्तो हो जस्तो लाग्दैन। किनभने मलाई म बनिराख्नुपर्छ भन्ने नै थिएन। पारसले राम्रो गरिरहेको थियो। मेरो ध्यान कसरी राम्रो खेल्ने र टिमलाई जिताउन सहयोग गर्ने भन्ने हुन्थ्यो। म उपकप्तान हुँदा पनि के के न पाएँ भन्ने थिएन। अहिले उपकप्तानबाट उप शब्द मात्र हटाइदिएजस्तो लागिरहेको छ।

३. लामो समयसँगै खेलेको जेनेरेसन नेपाली टोलीबाट लगभग छुट्टिसकेको छ। त्यही पुस्ताको अनुभव र प्रदर्शनको नेतृत्व गर्दै पारसले नेपाली क्रिकेटलाई यहाँसम्म ल्याए। टोलीमा अब धेरै खेलाडी कम अनुभवी र युवा छन्। कत्तिको चुनौतीपूर्ण देख्नु हुन्छ यो जिम्मेवारी? 

– हामीसँग एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता छ। अबको पहिलो चुनौती भनेको यसलाई जोगाइराख्ने हो। दोस्रो नेपाललाई टेस्ट मान्यता दिलाउने बाटो कोर्नु छ। मलाई लाग्छ यो मेरो मात्र होइन, नेपाली क्रिकेटकै चुनौती हो। हो, अब नेपाली क्रिकेट नयाँ पुस्तामा जाँदै छ तर नयाँ पुस्ता पनि निकै बलियो छ। क्रिकेटमा उमेरले फरक हुँदैन। मुख्य कुरा सोचको हो। हाम्रो सोच बलियो हुनुपर्छ। नयाँ पुस्तालाई बलियो सेट अप दिन सक्यौँ भने उनीहरुले नेपाली क्रिकेटलाई निकै माथि पुर्‍याउने छन्। त्यसका लागि नयाँ पुस्तालाई बलियो सेट अप दिनुको विकल्प छैन। कप्तानका रुपमा म सक्ने प्रयास गर्ने छु।

४. पारस खड्काको कप्तानीमा लामो समय खेल्नु भयो । कप्तानका रुपमा उनीबाट के कुरा सिक्नु भयो? 

– उनी टोलीका वास्तविक लिडर थिए। जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोचसहित टोलीलाई अगाडि बढाउँथे। नेपाली क्रिकेट संकटका अनेक मोडमा आउँदा पनि उनी डगमगाएनन्। हरेक खेलाडीलाई टिमका रुपमा बाँध्न र खेलाउन सक्नु उनको क्षमता हो। उनी नेतृत्वसँगै उत्कृष्ट प्रदर्शन पनि गर्न सक्थे लगातार। यी दुवै जिम्मेवारी एकसाथ निर्वाह गर्न सक्नु सामान्य छैन। मलाई लाग्छ- म पनि कन्सिस्टेन्ट पर्फमर हुनुपर्छ, पारसजस्तै। उनीजस्तै वास्तविक लिडर बन्न सकुँ।

५. पारसले कप्तानबाट राजिनामा दिँदै गर्दा अब नखेल्न सक्ने संकेत पनि गरेका थिए। नेपाली टोलीमा पारसको खाँचो कत्तिको देख्नुहुन्छ? 

पारस नेपाली टोलीको टप पर्फमर हुन्। नेपालको हरेक हार जितमा उसको प्रदर्शन निर्णायकजस्तै हुन्छ। यस्तो अवस्थामा पारस हामीलाई कति आवश्यक छन् मैले भनिरहनै पर्दैन। मलाई लाग्छ पारस पनि नेपाल हरेक खेल जितोस् भन्ने चाहन्छन्। एउटा समझदार र कप्तान भइसकेको व्यक्तिलाई यस्ता कुराहरु भनिरहनै पर्दैन। टिममा जति धेरै लिडर भयो त्यति नै फाइदा हुन्छ। हामीले विश्वमा हेर्‍यौँ भनेपनि कप्तानी छाडेर खेलाडी मात्र भएको धेरै उदाहरण र घटना देखेका छौँ। मलाई लाग्छ- हामी सँगसँगै निकै अगाडिसम्म पुग्नु छ।

कार्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्