अमेरिकाको न्याशभिलमा नेपालीहरुको दसैँ–तिहार कार्यक्रम

टेनिसी-अमेरिकाको टेनिसीमा न्याशभिल नेपलीज एसोसिएसनको (एनएनए)ले नेपालीहरुको महान चाड दसैँ तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन्।

२६ अक्टोबरमा एनएनएले दसैँ, तिहार, नेपाल सम्वत तथा छठको उपलक्ष्यमा गरेकाे कार्यक्रममा नेपालीहरुले आपसमा शुभकामना आदानप्रदान गरेका थिए। उक्त कार्यक्रममा ग्रेअटर न्याशभिल तथा छिमेकी राज्य केन्टकी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। संस्थाका महासचिव नारायण भुसाल तथा महिला प्रतिनिधि अरुण कार्कीले कार्यक्रम प्रस्तोताको जिम्मेवारी निर्वाह गरेका थिए। एनएनएका अध्यक्ष डा. भरत पोखरेलले दसैँ, तिहार, नेपाल सम्बत् तथा छठको उपलक्ष्यमा सम्पूर्ण नेपाली परिवार तथा स्वदेशमा सुख, सम्बृद्धि, शान्ति र स्थायित्वको कामनासहित शुभकामना मन्तव्य दिएका थिए।

नेपाली मौलिक पहिरनमा सजिएर आएका सहभागीहरुलाई सांस्कृतिक कार्यक्रममा रमाउने मात्रै नभई दसैँ तथा तिहारको विशेष परिकारको रुपमा नेपाली स्वादको आलुको अचार, सेलरोटी, खसीको मासु अनि घरमै बनाएको जेरीसहितका खानाको व्यवस्था गरिएको थियो।

सांस्कृतिक कार्यक्रम अन्तर्गत सृजल श्रेष्ठले मालश्री धुन बजाएका थिए भने श्रग्बी श्रेष्ठ, अंशु थापा तथा बर्निक खड्काले सुन्दर नृत्य प्रस्तुति गरेका थिए।

साथै विद्यार्थी संयोजक माधव पराजुलीको संयोजकत्वमा टेनिसी स्टेट युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरु सन्ध्या न्यौपाने श्रेष्ठ, मिलन पन्त, रवि बिक, कृष्ण न्यौपाने, बन्दना भुसाल र बिमला आचार्यले विविध नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए। यसैगरी सञ्जीव घिमिरे र धनराज तामाङको नेतृत्वमा देउसी भैलो कार्कक्रम आयोजना गरिएको थियो।

नेपालबाट आफ्नो परिवारसँग दसैँ, तिहार मनाउन अमेरिका आएका मोहनमणि ढकालले यहाँ रहेका बौद्धिक तथा व्‍यावसायिक नेपाली समुदायलाई स्वदेश फर्केर अवसर सिर्जना गरी देश सेवामा लाग्न प्रेरित गर्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा रमाएका यसै संस्थाका पूर्व अध्यक्ष डा. घनश्याम भट्टले वर्षभरि विदेशी भूमिमा व्यस्त हुने नेपाली समुदायलाई एकदिन भए पनि आपसी जमघट र रमाइलो गर्ने अवसर जुटाइदिएकोमा वर्तमान कार्यसमितिलाई धन्यवाद व्‍यक्त गरे।

कात्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्