कांग्रेस चुनावी दौडमा, नेकपालाई उम्मेदवार चयन गर्न सकस

मोरङ-मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकामा चुनावी चहलपहल सुरु भएको छ।

धरानमा मेयर पदसहित एउटा वडाका लागि उपनिर्वाचन हुनेछ। जसका लागि नेपाली कांग्रेसले तिलक राईलाई उम्मेद्वार घोषणा गरिसकेको छ। तिहारको पूर्व सन्ध्यामा राईको घोषणासंगै उनी भोटका लागि दौडधुपमा छन्। अर्कोतर्फ सत्तासीन दल नेकपा भने उम्मेदवार चयनको रस्साकस्सीमा रुमलिएको छ।

मेयर पदका लागि यतिबेला पार्टी भित्र आकाक्षीको संख्या बढ्दो छ। कार्तिक १५ गते शुक्रबारसम्ममा दलले उम्मेदवारको नाम दर्ता गराउनुपर्ने प्रावधान छ। सोही क्रममा बुधबार नेकपा धरानले सचिवालय बैठकको आव्हान गरेको थियो। तर, बैधानिकताको प्रश्न उब्जिएपछि बैठक बस्दै नबसी शुक्रबारसम्मका लागि स्थगित भएको छ। धरानमा पार्टी भित्रको गुट उपगुटका लागि उम्मेदवार चयनमा समस्या भएको बताइन्छ।

सचिवालय बैठकका विषयमा नेकपा धरान नगर कमिटी अध्यक्ष नारायण सुवेदीले फुल कमिटिले बैठक अनुमोदन गर्न नसक्दा बैठक स्थगित भएको बताए। उनले भने, ‘उम्मेदवार चयनका विषयमा धेरै समस्या छैन। हामी अन्तिम दिन शुक्रबार नै नाम सहमतिबाट जिल्ला कमिटिलाई पेश गर्नेछौ।’

बढ्दो आकांक्षीसंगै नगर अध्यक्ष सुवेदीले आकांक्षी हुन पाइने र अन्तिममा पार्टीले उम्मेद्वार निर्णय गर्न सक्ने जानकारी दिए। उनले भने, ‘सहमतिको आधारमा अन्तिम समयसम्म एकजनाको नाम पेश गर्ने तयारीमा छौ। यदि त्यो हुन सकेन सबै आकांक्षीको नाम जिल्लालाई पठाउने छौ।’

हाल मेयर पदका लागि तत्कालिन एमालेबाट विजय राई, प्रकाश राई, मनोजकुमार मेन्याङ्बो, त्यसैगरि एमाओवादीबाट अइन्द्र विक्रम बेघा, चोत्लुंग र अशोक राईको चर्चा रहेको छ। विजय राई र अइन्द्र विक्रम बेघा प्रदेश कमिटि सदस्य हुन्।

त्यसैगरि प्रकाश राई, चोत्लुंग, अशोक राई भने जिल्ला कमिटि सदस्य हुन्। मनोजकुमार मेन्याङ्बो पूर्व नगरप्रमुख हुन्। आएका नाम मध्ये केन्द्र र स्थानीयमा विजय राईको प्रभाव रहेको नेकपाका एक जिल्ला सदस्यले बताए।

उनकाअनुसार धरानमा मेयर पदको सहमति हुन नदिन पार्टी भित्रकै गुट उपगुटले काम गरिरहेको छ। धरानलाई यसअघि माधवकुमार नेपालको पकड क्षेत्रका रुपमा हेरिएपनि पछिल्लोसमय पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको पनि दबदबा देखिने उनी प्रस्टाउछन्।

सुनसरीस्थित निर्वाचन आयोगका अनुसार धरानमा ९२ हजार ८ सय ५२ जना मतदाता रहेकाछन्। तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गर्दै मेयर बनेका थिए। उनका निकट प्रतिद्वन्दी काङ्ग्रेसका तिलक राईले १६ हजार १ सय २ मत हासिल गरेका थिए।

संघीय समाजवादी पार्टीसँग गठबन्धन गरेको माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याउँदै तेस्रो भएका थिए। सुब्बाको गतवर्ष साउन १ गते काठमाडौंमा उपचारका क्रममा निधनपछि धरानमा मेयर पद रिक्त रहेको छ।

कात्तिक १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्