सुतेकै ठाउँमा पर्यटक भरियाको मृत्यु

सोलुखुम्बु – खुम्बु पासङल्हामु गाउँपालिका–४ फेरुचेमा एक पर्यटक भरियाको सुतेकै ठाउँमा ज्यान गएको छ । माप्यदूधकोशी गाउँपालिका–७ वाप्साका ४६ वर्षीय जङ्गबहादुर विश्वकर्माको फेरुचेस्थित हिमालयन होटलमा राति सुतेकै अवस्थामा ज्यान गएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।
उनी नाम्चेबाट सगरमाथा बेस क्याम्पतर्फ पर्यटकको भारी बोकेर जाँदै थिए । दुई जना स्पेनिस नागरिकसँगै भरियाका रुपमा गएका उनलाई बुधबार बिहान सुतिरहेको अवस्थामा मृत भेटिएको होटल सञ्चालक पेम्बा शेर्पाले बताए ।
इलाका प्रहरी कार्यलय नाम्चेबाट गएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शवलाई निकोलनिकी अस्पताल लुक्लामा राखेको छ । शवलाई परीक्षणका लागि बिहीबार जिल्ला अस्पताल फाप्लु ल्याइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । मङ्गलबार मात्रै एक बेलायती नागरिकको समेत सोही क्षेत्रमा सुतेकै अवस्थामा मृत्यु भएको थियो ।