तयारी चियाको व्यापारिक चिन्ह वितरणको तयारी

झापा– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक तथा बाह्य बिक्रीका लागि अनिवार्य व्यापारिक चिन्ह लिनका लागि नेपालका चिया प्रशोधन कारखानाहरुलाई आह्वान गरेको छ।

नेपालको चिया बिक्री वितरण आफूखुशी भएको भन्दै व्यवसायी, सरकार तथा बोर्डको सक्रियतामा करिब चार बर्ष अघिनै नेपालको तयारी चियाको छुट्टै व्यापारिक चिन्ह बनाएर बिक्री गर्ने तयारी थालेका थिए।

विज्ञापन

तर गत असोज २६ गते मात्र बोर्डले नेपाली तयारी चियाको आन्तरिक तथा बाह्य बिक्रीका लागि व्यापारिक चिन्ह लिनका लागि प्रशोधन कारखानाहरुलाई आह्वान गरेको हो।

बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालका अनुसार मंसीर ४ गतेसम्म व्यापारिक चिन्हका लागि निवेदन दिने म्याद तोकिएको छ। उनले भने, ‘त्यसपछि पनि केही दिन थप गर्नु पर्ने भए थप्ने योजनामा छौं।’

नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज बनाउने उद्धेश्यका साथ चार बर्ष अघि उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिन्ह बोर्डले उक्त चिन्ह चिया उद्योगीहरुलाई वितरण गर्ने तयारी थालेको हो।

व्यापारिक चिन्ह पाएपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्ने चिया व्यवसायीहरुको भनाइ छ।

खासगरि नेपालमा उत्पादन हुने अर्थोडक्स चिया विदेश निर्यात हुने गरेको छ। नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ तयार भएपछि नेपालको उत्पादनको आधिकारिक व्यापारिक चिन्ह कार्यान्वयनमा आएको हो।

बोर्डका निमित्त कार्यकारी निर्देशक खनालले भने, ‘निवेदन दिएपछि निर्देशिका अनुसार चियाको उत्पादन छ कि छैन भनेर हेर्नका लागि हामीले समिति बनाएका छौं। सोही समितिले स्थलगत हेरेर निर्णय गर्छ।’

व्यापारिक चिन्ह सेतो वा कालो रंगको पृष्ठभूमिमा खरानी वा सेतो रंगले दुईवटा हिमालको आकारसहित अङ्ग्रेजीमा ुनेपालु अनि हरियो रंगले ‘टि’ अर्थात चिया र त्यसको ठीक मूनि खरानी वा सेतो रंगले ‘क्वालिटी फ्रम द हिमालयज’ अर्थात हिमालयबाट गुणस्तर लेखिएको हुनेछ।

खनालका अनुसार असल कृषि अभ्यासबाट उत्पादित चियालाई उक्त व्यापारिक चिन्ह प्रदान गरिनेछ।

छिमेकी देश भारतको दार्जिलिङको चियाले विश्व बजारमा ख्याति कमाएको तर नेपालको चिया भारतकै मन्डीहरुमा लगेर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताका माझ व्यापारिक चिन्हले अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाले स्थान पाउने चिया उद्योगी बुद्ध तामाङ बताउँछन्।

अहिले जुन–जुन देशहरुमा नेपाली व्यवसायीले आफैंले चिया निर्यात गरिरहेका छन्, ती देशहरुमा सरकारले तुरुन्त व्यापारिक चिन्ह दर्ता गरिदिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। नेपालमा बार्षिक करीब ५० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको छ।

कार्तिक १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्