सिसहनियाँ पुल सञ्चालन नहुँदै बन्यो पर्यटकीय गन्तव्य

दाङ– तुलसा पौडेल ८२ वर्षको उमेरमा घुम्न निस्किएकी छिन् । तिहार मनाउन घर आएका छोरा–छोरी, नातिनातिनासँग नेपालको दोस्रो लामो सिसहनियाँ–महदेवा जोड्ने पुल हेर्न पुगिन । ‘कति लामो पुल रहेछ । हाम्रा पालामा पुलनै थिएन । डुंगाबाट नदी तर्नुपर्थ्या’, उनले भनिन्, ‘अबको पुस्तालाई सजिलो भयो ।’

पुल निर्माण कार्य सकिएको छ । तर, सञ्चालन हुन अझै दुई महिना लाग्ने भएको छ । पुल सञ्चालन नहुँदै पर्यटकीय गन्तव्य बनेको छ । दैनिक १५–२० ओटा टोली पुल अवलोकन गर्न राप्ती नदी पुलमा पुग्ने गरेका छन् ।

विज्ञापन

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो ।

यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । गेरुवा पुल भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।

अहिले पुल निर्माण सकेर पुलसम्म पुग्ने बाटो मर्मतको काम भइरहेको छ । बाटो बनाउने काम पूरा नहुँदा यातायातका साधन चलेका छैनन् । पैदलयात्री भर्‍याङ हालेर पुलमा उक्लिने गरेका छन् । ‘पुल नहुँदा नदी तरेर आउ जाउ गर्नुपर्थ्यो तर, अब पुल बनेपछि कुनै समस्या छैन’, ७० वर्षीय शिउराम चौधरीले भने, ‘अब त पुल माथिबाट हिँडेर गाउँ जान्छु ।’

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपर्थ्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले दाङको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको इञ्जिनियर शुदिप बस्यालले जानकारी दिए । यो पुलको उदघाटन् माघ महिनामा गर्ने तयारी भइरहेको छ ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू