बरामद भनिएको पेस्तोलको फिंगर प्रिन्ट जाँच गर्न तरुण दलको माग

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेपालगञ्जबाट पक्राउ परेका नगर सभापति सन्दीपजङ्ग शाहलाई प्रहरीले गलत मनसायका साथ फसाउन खोजेको आरोप लगाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति निकाल्दै शाहलाई प्रहरीले फसाउन खोजेको उल्लेख गरेका छन् ।

बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले शाहसहित ६ जनालाई अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । तर तरुण दलले उक्त पेस्तोल प्रहरीले आफै बोकेर लगेको दाबी गरेको छ । अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट तत्काल जाँच गर्न माग गरेका छन्।

विज्ञापन

‘प्रहरीद्वारा आफैले लगेको हतियार तरूण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने लोकतन्त्रवादी तरूणहरूलाई दुःख दिने कुत्सित मनसाय एंव दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरूण नेताहरूलाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन तरुण दल माग गर्दछ,’ बस्नेतले विज्ञप्तिमा भनेका छन्।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्