बर्लिन वालसँग जोडिएको एउटा फुटबल कथा जहाँ समर्थकका रगत घोलिएका छन्

बर्लिन – दोस्रो विश्व युद्धपछि जर्मनी विभाजित भयो- पश्चिम जर्मनी र पूर्वी जर्मनीका रुपमा। पूर्वी जर्मनी कम्युनिस्ट विचराधाराको सोभियत युनियनको नियन्त्रणमा थियो।

यता पश्चिम जर्मनीलाई त्यतिबेलाका सोभियत युनियनका खास प्रतिद्धन्द्धीहरु अमेरिका, फ्रान्स र बेलायतको समर्थन थियो। पश्चिम जर्मनी र पूर्वी जर्मनीबीच लगभग पानी बाराबारको अवस्था थियो- अहिले उत्तर कोरिया र दक्षिण कोरियाबीच भएजस्तै।  एकले अर्कालाई देखि सहँदैन थिए।

विज्ञापन

यहि राजनीतिको क्रुरतामा पुरानो शहर बर्लिन पर्‍यो। सन् १९६१ मा बर्लिनमा पर्खाल लगाएर पूर्वी र पश्चिम जर्मनीबीच कित्ताकाट भयो। कैयौँका आफन्तलाई पर्खालले छेक्यो।

कतिसम्म भने यो स्थिति एउटै परिवारभित्र पनि देखियो। त्यो पर्खालले पूर्व र पश्चिम जर्मनीलाई मात्र छुट्याएन स्वयं बर्लिनलाई पनि विभाजित गर्‍यो। बर्लिन पनि दुई चिरा पर्‍यो। पूर्वी बर्लिन पूर्वी जर्मनीको र पश्चिम बर्लिन पश्चिम जर्मनीको भए।

पूर्वी जर्मनीमा चरम नियन्त्रण थियो। सन् १९९० मा दुवै जर्मनी एकिकरण भएर सिंगो जर्मनी बन्यो। बर्लिन पनि एक भयो। तर राष्ट्रियस्तरमा पूर्वी जर्मनीको उपस्थिती सँधै कमजोर रह्यो। किनभने पश्चिम जर्मनी समृद्ध थियो। तत्कालिन पूर्वी बर्लिनलाई समेत माथी उठ्न सजिलो थिएन। भएन।

गत मेमा पूर्वी बर्लिनको एफसी बर्लिन युनियन जर्मनीको शीर्ष लिग फुटबल बुन्डेस लिगाका लागि छनोट भयो। तत्कालिन पूर्वी बर्लिनबाट कुनैपनि फुटबल क्लबले यसअघि बुन्डेस लिगा खेल्न सकेका थिएनन्।

बुन्डेस लिगाको यो सिजन बर्लिन युनियन शनिबार राति हर्था बीएससीसँग खेल्दै छ। यो खेल अघि दुवै क्लबको चर्चा भइरहेको छ। किनभने बुन्डेस लिगाको इतिहाँसमा तत्कालिन पूर्वी बर्लिन र पश्चिम बर्लिनका क्लबहरु पहिलोपटक भिड्न लागेका हुन्। हर्था बर्लिन, तत्कालिन पश्चिम बर्लिनको चर्चित क्लब हो।

जर्मनीका खेल पत्रकार ज्याकोब स्विटम्यान भन्छन्- समर्थक (फ्यान) थिएनन् भने बर्लिन युनियन यहाँसम्म आईपुग्ने थिएन।

बर्लिनको एक सानो शहर कोपेनिकमा रहेको बर्लिन युनियनले बुन्डेस लिगाको आफ्नो पहिलो खेलमा आरबी लेइपजिगसँग खेलेको थियो। घरेलु मैदान स्टेडियन एन डर एल्टेन फोर्स्टेरेई ( अंग्रेजीमा स्टेडियम एट्याट ओल्ड फोरेस्टर्स लज)मा उत्रिएको बर्लियन युनियन त्यस खेलमा ४-० गोलले पराजित भयो। घरेलु समर्थक पाँच सय भन्दा बढी मृत समर्थकका पोस्टर बोकेर रंगशालामा हुटिङ गरेका थिए।

‘ त्यहाँ उपस्थित हुन नसकेका ती मृत समर्थकको पोस्टर बोक्नुले बर्लिन युनाइटेडको अर्थ बोकेको थियो’, पूर्वी बर्लिनका पत्रकार स्विटम्यान भन्छन्।

क्लबका एक समर्थक इंगो प्लाट्ज समर्थकका मृत आत्माप्रति सम्मान व्यक्त गर्न त्यसरी पोस्टर बोकिएको बताउँछन्।

सन् २००८ मा बर्लिन युनाइटेडको रंगशाला स्टेडियन एन डर एल्टेन फोर्स्टेरेई भत्कने अवस्था देखिएपछि क्लबले लाइसेन्स नै गुमाउने अवस्था देखिएको थियो। तर क्लबका २५ सय भन्दा बढी समर्थकले स्वयं सेवा गरे। उनिहरुले एक लाख ४० घन्टा काम गरेपछि २२ हजार दर्शक क्षमताको उक्त रंगशाला जिर्णोद्धार भएको थियो।

बर्लिन युनियनका सन्चार प्रमुख क्रिस्टियन आर्बेइट क्लबलाई बचाउन समर्थकले ‘ युनियनका लागि रगत देउ’ अभियान चलाएको बताउँछन्।

पत्रकार स्विटम्यान भन्छन्-   बर्लिन युनियनका समर्थकले धेरैपटक रक्तदान गरेका छन्। जर्मनीमा रक्तदान गरेबापत पैसा पाइन्छ। रक्तदान गरेबापत उनिहरुले पाएको पैसाकै कारण बर्लिन युनियन बचेको हो।

आर्बेइट बर्लिन युनियनका समर्थकहरु के गर्नसम्म तयार छन् भन्ने यसले देखाउने बताउँछन्।

हर्था बीएससीसँग भएको मैत्रिपुर्ण खेलका क्रममा बर्लिन युनियनका एक समर्थक, जसले रंगशाला जिर्णोद्धार गर्न श्रमदान गरेका थिए, उनले लगाएको क्यापमा लेखिएको थियो- घरमा कसैको आँखा पनि सुख्खा थिएन।

रंगशाला र बर्लिन युनियनप्रति स्थानीय समर्थकको औधी माया र समपर्ण छ। एकपटक, मेरी क्रिसमसको सुभकामना आदानप्रदान गर्न समर्थकको एक समूहले स्टेडियन एन डर एल्टेन फोर्स्टेरेईको पर्खाल तोडेर मैदान छिरेका थिए। त्यसयता हरेक वर्ष मेरिक्रिसमसमा यस रंगशालामा शुभकामना आदान प्रदान गर्न भिड लाग्ने गर्दछ।

‘क्रिसमस अघि खेलेको खेलमा बर्लिन युनियन पराजित भएपछि निराश भएका समर्थकहरुलाई लाग्यो- क्रिसमसमा एक अर्कालाई सुभकामना नदिएका कारण बर्लिन युनियन पराजित भएको हो। त्यसपछि उनिहरु तत्कालै पर्खाल तोडेर रंगशाला छिरे अनि भव्यताका साथ क्रिसमस मनाए। त्यसयता यो परम्परा नै बनेको छ’, जर्मनीका अर्का पत्रकार राइलान जेम्स किस्सा सुनाउँछन्।

स्टेडियन एन डर एल्टेन फोर्स्टेरेईमा बर्लिन युनियनले खेल्ने खेलको मध्यान्तरमा कुनै मनोरन्जन हुँदैन। गित र विज्ञापनहरु बज्दैनन्। क्लबका सन्चार प्रमुख आर्बेइट क्लबका समर्थकलाई कुनै अतिरिक्त मनोरन्जन आवश्यक नरहने बताउँछन्। ‘जब हाम्रो क्लबले गोल गर्छ तब त्यहाँ खुसी र उत्तेजनाको विस्फोट हुन्छ’, उनी भन्छन्।

क्लबको वर्तमान नाम बर्लिन युनियन सन् १९६६ मा राखिएको हो, क्लब स्थापना भएको झन्डै ६० वर्षपछि। यसलाई एककृत जर्मनी विरोधी पनि भन्ने गरिन्छ। वर्लिन युनियनले खेल्ने खेलमा फ्रिकिक पाएमा उसका समर्थकहरुबाट आवाज सुन्ने गरिन्छ – द वाल मस्ट गो (पर्खाल कायम हुनैपर्छ)। पूर्वी जर्मनीमा फ्रिकिकका समयमा मात्र समर्थकले यो नारा लगाउन पाउँछन्।

शीत युद्धका समयमा विद्रोहीहरुको आवाज प्रतिनिधित्व गर्ने एकमात्र क्लब थियो बर्लिन युनियन।

‘लामो कपाल र दाह्री भएका मानिसहरु बर्लिन युनियन जान्थे अनि स्वतन्त्रता र स्वच्छन्दता बाँच्थे।  राजनीतिक विरोध देखिने गरी हुन्थेन। तस्वतन्त्र पूर्वक बाच्न चाहने युवाहरु बर्लिन युनियन जान्थे’, आर्बेइट भन्छन्।

उनी बर्लिन युनियन बुन्डेस लिगामा छनोट भएको दिनका तस्विरहरुहरु हेर्दा अहिले पनि अनायसै आँसु आउने बताउँछन्।  भन्छन्,   ‘ फुटबलको ठुलो शक्ति देख्दा निकै खुसी लाग्छ जब मजस्तो समर्थक क्लबले हात पारेको विश्वास नै गर्न नसकिने  सफलता महसुस गर्छु।’

बुन्डेस लिगामा रहिरहन बर्लियन युनियनलाई सजिलो छैन। यो सिजन ९ खेलबाट ७ अंक मात्र भएको बर्लिन युनियन तालिकाको १५ औँ स्थानमा छ। लिगका १८ क्लबमध्ये अन्तिम दुई टोली सोझै रेलिगेसनमा पर्छन् भने १६ औँ स्थानको क्लबले प्ले अफको अवसर पाउँछ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्