माफ गर्नुहोस् आमा, मैले तपाईँको सुनिनँ, आफ्नै अन्तरमनको सुनेँ

काठमाडौंमा जन्मिएर हिन्दु संस्कृति तथा परम्परामा हुर्किएकी म निकै जिज्ञासु थिएँ। अझै पनि छु। आमाले मेरा हरेक प्रश्नको जवाफ दिँदा ‘किन’ भन्ने प्रश्नमा विशेष जोड दिनुहुन्थ्यो।शायद त्यही कारणले होला- आज बीस वर्षकी भैसक्दा म हरेक कुरालाई ‘किन’ भन्ने प्रश्न गरी त्यसको जवाफ खोज्न तत्पर हुन्छु।

सामाजिक रीति तथा परम्पराको पालना गर्न बाल्यकालदेखि नै मैले तालिम पाएकी थिएँ।

विज्ञापन

यिनै रीति तथा परम्परामा खेल्दै रमाउने प्रक्रियामा मेरो बाल मनस्थितिले हाम्रो परिवारको एउटा अनौठो चलनलाई नियालेर हेरिरहेको थियो। आमा महिनाको केही दिन खाटमा सुत्नु हुन्नथियो, पूजा गर्नु हुन्नथियो र भान्साकोठा छिर्नु हुन्नथियो। सानो छँदा, किन हुँदैन आमा भनेर प्रश्न सोध्दा उहाँ भन्नुहुन्थ्यो-

‘रजस्वला भएको बेलामा छुनु हुँदैन, छोए पाप लाग्छ।’

उहाँको यस्तो जवाफको अर्थ र मतलव मैले कहिल्यै बुझिन। बिस्तारै ठुली हुँदै गएँ, मेरो प्रश्नको जवाफ कहिल्यै सन्तोषजनक आएन।

तर मेरा प्रश्न रोकिएनन्, मैले निरन्तर सोधि नैरहेँ-

‘कसले नछुने? किन नछुने? किन पाप लाग्छ? अनि कसरी पाप लाग्छ?’

उहाँ दिक्क मानेर हप्काउँदै झर्केर भन्नुहुन्थ्यो-

‘अब लाग्छ भने पछि मान न।’

तर यी सबै आधारहीन कारणहरु म कसरी मानूँ, मेरो मनले कहिल्यै बुझ्न सकेन।

मेरो पनि रजस्वला सुरु भयो। मेरा सामाजिक तथा सांस्कृतिक गतिशीलता र स्वतन्त्रतामा रोक लगाइए। कतिपय कामकुरा गर्न र कतिपय सामान छुन समेत दिनुभएन।

मलाई चित्त नबुझेका हरेक विषयमा म प्रश्न गरिरहन्थेँ- ‘किन’, ‘किन’, ‘किन’?

अनि उहाँको जवाफ आउँथ्यो, ‘यो हाम्रो परम्परादेखि चलिआएको चलन हो।’

तर, मलाई के चित्त बुझ्थ्यो र?

मलाई चित्त नबुझेको पहिलो कुरा, मेरो शरीरको जैविक प्रक्रियाबारे दुनियाँलाई के साह्रो चासो?  मेरो शरीरबाट रातो रगत बगोस् कि सेतो ल्युकोरिया बगोस्, अरुलाई मैले सुनाउनुपर्ने आवश्यकता देख्दिन।

नेपालको संविधान २०७२ बमोजिम, मेरो गोपनीयताको हक नेपाल सरकारले सुनिश्चित गरेको छ।

यही हकको उपयोग गर्दै मैले मेरो रजस्वला कहिले हुन्छ, कसरी हुन्छ भन्ने कुरा भन्न बन्द गरेँ।

मैले केही पाप गरेकी छैन। म त आफ्नो जीवन आफ्नै ढंगले जिउँदैछु, न त अरु कसैको काममा दखल दिएकी छु मैले,  न त कसैलाई दुख नै दिएकी छु।  मैले त मात्र आफ्नो गोपनीयताको हकको उपयोग गरेकी छु। त्यसमा के पाप गरेँ मैले?

मेरो रजस्वला नियमित रुपमा भइरह्यो, मैले पनि आफ्नो जीवन नियमित रुपमा जिउँदै गएँ। मेरो योनीबाट रगत बगिरहेको बेला भान्साकोठा, आमाबाबाको कोठा, परिवारको जमघट सबैतिर गएँ र छोएँ पनि। साथै परिवारमा निम्तो आएको बिहे, ब्रतबन्ध, पूजाआजा सबै क्रियाकलापमा भाग लिएँ।

म सोध्दिन आफैँलाई, मैले पाप गरेँ कि भनेर।

किनभने मेरो विचारमा मैले केही पाप गरेकी छैन। म त आफ्नो जीवन आफ्नै ढंगले जिउँदैछु, न त अरु कसैको काममा दखल दिएकी छु मैले,  न त कसैलाई दुख नै दिएकी छु।  मैले त मात्र आफ्नो गोपनीयताको हकको उपयोग गरेकी छु। त्यसमा के पाप गरेँ मैले?

तर आफू हुर्केको र आफूले अँगालेको सामाजिक तथा सांस्कृतिक परम्परा र चलनको विरुद्ध जानु सजिलो कदापि थिएन।

समाजमा सांस्कृतिक परम्परा र चलनमाथि रहेको विश्वास र आस्थालाई नकार्दै आफ्नो हक र अधिकारको उपयोग गर्ने अठोट गर्न सजिलो थिएन। सामाजिक तथा सांस्कृतिक मूल्यमान्यतामा हुर्किएका हामी, जहाँ हामीले जहिले अरुलाई अगाडि राख्न र अरुका लागि सोच्न सिक्यौँ, त्यहाँ आफ्नो लागि उठाएको यो कदमका लागि मैले मेरो मन निकै दह्रो पारेकी थिएँ। अन्तरमनमा चलेको द्वन्द्वमा मैले आफूलाई सही लागेको कुरामा प्राथमिकता दिएँ।

मैले यसबारे कसैसँग वादविवाद गरिन- न आमा, न बाबा। यो मेरो शरीरलाई नियन्त्रण गर्ने समाजको विरुद्ध म आफैँसँग लडेँ। कैयौं महिना यही अन्तरमनको द्वन्द्वमा अल्झिएँ।

कक्षा सातको पढाइको अन्त्यमा मैले रजस्वला हुँदा एउटा पूजामा भाग लिएँ। कसैलाई भनेकी थिइनँ- मेरो महिनावारी चलिरहेछ भनेर। पूजामा भाग लिएपछि मलाई केही भिन्न अनुभव भएन, पूजाअघि र पूजापछि उस्तै महसुस भइरहेको थियो। मेरो अन्तरमनले मलाई ‘के तँ सही गर्दैछस्’ भनी झक्झकाइरह्यो तर मलाई केही गलत गरेजस्तो पनि लागेन।’

बिस्तारै अन्य धार्मिक तथा सांस्कृतिक क्रियाकलाप र कामकाजमा जान थालेँ। यही क्रममा कक्षा आठमा पढिरहँदा म मेरी अर्की महिनावारी भइरहेकी साथीसँग मन्दिर छिरेँ।  एउटा अनौठो किसिमको उत्साहको अनुभूति भयो। मानौं १६५ फिटको उचाइबाट भोटेकोसीमा डोरीको सहाराले छलाङ हानिरहेको छु। नकोरिएका, नलेखिएका हाम्रा सामाजिक कानुनको विरुद्ध जाँदा, शरीरमा एड्रेनालाइन रसको अनुभूति भयो। भिन्न प्रकारको आत्मसन्तुष्टिकोआभास भयो। आफैँसँगको यो द्वन्द्वमा मलाई जितको महसुस भयो। जे सत्य हो भनी मानिआएका थियौँ, त्यो सत्य होइन रहेछ।

तर म र मेरी साथीको यो सामाजिक मूल्यमान्यताको विरोध र महिनावारी भएका बेलाको सहभागिताका बारे हामीले आफ्ना घरमा गएर केही भन्न सकेनौं। यो हाम्रै एउटा गोप्य कथा मात्र बन्यो। यो हाम्रो पहिलो खुड्किलो थियो, हाम्रो सानो विरोध।

आमा, मलाई माफ गर्नुहोला। मैले तपाईँको सुनिनँ, मेरो अन्तरमनको सुनेँ। आफ्नो अन्तरमनको सुन्ने संस्कार सायद मैले तपाईँहरुबाटै सिकेँ।

आजको हाम्रो सामाजिक बनोटमा मासिक बहिष्कारलाई एउटा रीति बनाइएको छ। यही रीतिमा रुमल्लिएका हाम्रा युवती र महिलाहरुलाई यो जन्जालबाट मुक्त हुन अत्यन्तै कष्ट छ। उहाँहरुलाई प्रोत्साहन जरुरी छ। यदि तपाईँहरु त्यस्तो प्रोत्साहनको खोजीमा हुनुहुन्छ भने म र मेरी साथीको यस गोप्य तर साहसी कथालाई प्रोत्साहनको रुपमा लिनुहोस्।

जानुहोस्, महिनावारी हुँदा नै मन्दिर जानुहोस्, पूजामा भाग लिनुहोस्, चुल्है निम्तो आएको धार्मिक कार्यक्रमहरुमा भाग लिनुहोस् र छमछमी नाच्नुस्। समुदाय र परिवारको जमघटको रौनक बनिदिनुस्। तपाईँको शरीर तपाईँको हो, यसमाथि कसैलाई नियन्त्रण गर्न नदिनुस्। आफूलाई अगाडि राखिहेर्नुस्  आज, अनि त्यो आनन्दकोआभास गर्नुस्।

धेरै धेरै माया।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्