नेपाल क्षेत्रिय छनोटबाटै बाहिरिएको टीट्वेन्टी विश्वकपमा को को छानिए ?

टीट्वेन्टी विश्वकपमा पहिलोपटक छनोट भएपछि पीएनजी।

काठमाडौँ- सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको समिकरण पुरा भएको छ। विश्वस्तरको छनोट सकिएसँगै विश्वकप खेल्ने १६ टोलीको टुंगो लागेको हो।

विश्वकपको विश्वस्तरको छनोटबाट पपुआन्युगिनी, ओमान, आयरल्यान्ड,स्कटल्यान्ड, नामिबिया र नेदरल्यान्ड्स छनोट भएका हुन्। आयरल्यान्डबाहेक अन्य सबै पाँच टोली आईसिसीका एसोसिएट सदस्य हुन्।

विज्ञापन

पपुआन्युगिनी टीट्वेन्टी विश्वकपका लागि पहिलो पटक छनोट भएका हुन्। ओमान लगातार दोस्रो र समग्रमा पनि दोस्रोपटक टीट्वेन्टी विश्वकपका लागि छनोट भएको हो।

सन् २०१८ को अन्त्यसम्म आईसिसीको टीट्वेन्टी वरियतामा शीर्ष १० स्थानमा रहने टोलीलाई सोझै छनोट गराइएको थियो। त्यसरी छनोट भएका आयोजकका रुपमा अस्ट्रेलियासहित पाकिस्तान, भारत, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश टेस्ट मान्यताप्राप्त टोली पनि हुन्।

विश्वकपको पहिलो चरणमा विश्वस्तरको छनोटबाट पुगेका ६ टोलीसहित बंगलादेश र श्रीलंका हुनेछन्। दुई वटा समूहका शीर्ष दुई टोली सुपर-१२ मा पुग्नेछन्।

नेपाल यसपटक विश्वकपको क्षेत्रीय छनोटबाटै बाहिरिएको थियो। नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टीट्वेन्टी विश्वकप खेलेको थियो। टीट्वेन्टी विश्वकपको आगामी संस्करण सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ तारिखसम्म सन्चालन हुँदै छ।

प्रतियोगिताको साविक विजेता वेस्ट इन्डिज हो। वेस्ट इन्डिजले दुई पटक तथा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र श्रीलंकाले एकएक पटक उपाधि जितेका छन्।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्