सिमकोट बजारमा ठूला गाडी छिर्न थालेपछि सामानको मूल्य घट्यो

सिमकोट– विकास निर्माणका सामानको मूल्य सस्तिएको छ। हालसम्म सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा उत्तरी छिमेकी चीनसँगको सिमाना हिल्साबाट टिप्परहरु सिमकोटसम्म आउन थालेपछि विकास निर्माणका सामाग्रीको मूल्य सस्तिएको हो।

हवाईजहाजमा महंगो ढुवानी दर तिरेर सिमकोट उत्रने सामग्रीहरु भन्दा चीनबाट हिल्सा हुँदै सिमकोट आउने सामानहरुको ३५ देखि ४० प्रतिशतसम्म मूल्य सस्तो पर्न थालेको छ । नेपालगंजबाट हवाई जहाजमा प्रतिकेजी १२० देखि १५० रुपियाँ ढुवानी तिरेको सिमेन्ट पचास केजीको सिमेन्टको बोराको मुल्य आठ देखि दश हजार पर्ने गरेकोमा अहिले चीनबाट हिल्सा हुँदै ट्रिपरमा आउने उक्त सिमेन्टको मुल्य चार हजार पाँच सय पर्ने गरेको छ ।

विज्ञापन

त्यसै गरि ग्याबिन प्रतिकेजी ३५० मुल्य पर्ने गरेकोमा अहिले आएर दुई सय पचासमा झरेको छ यस्तै सरियो २०० रुपियाँ प्रतिकेजीको थियो भने अहिले १५० रुपैयाँमा किनबेच हुन्छ। यसरी एक बोरा सिमेन्टमा तीन हजार रुपियाँ सस्तो पर्ने गरेको छ ।

सिमकोट हिल्सा सडक आंसिक रुपमा सञ्चालनमा आउन थाले पछि आधा दर्जन ट्रिपरहरु खाद्य संस्थानका खाद्यान्न, विकास निर्माणका सामान र अन्य दैनिक उपभोग्य सामानहरु ढुवानी गरि रहेको निर्माण व्यवसायी संघका सचिव बुद्धि रोकायाले बताए । त्यति मात्र होइन ट्रिपरले सिमकोटबाट हिल्सासम्मको ९५ किलो मिटर यात्रा गरेको तीन हजार रुपियाँ भाडा लिन्छन्।

सडक सञ्चालनमा आएपछि नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको काठमाडौँ केरुङ तिब्बती मार्ग हुँदै हिल्साबाट सिमकोटसम्म आई पुगेको खाद्यान्न पनि हवाई मार्ग भन्दा प्रतिकेजी तीस रुपियाँसम्म सस्तो पर्ने गरेको छ ।

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्