नेकपाका ‘हेडसर’ ले नेकपाका नेता–कार्यकर्तालाई नगर्न निर्देशन दिएका चार कुरा

झापा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य, स्कूल विभाग प्रमुख तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई प्रमुख चार कुरा नगर्न निर्देशन दिएका छन्।

नेकपा जिल्ला कमिटी झापाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनमा शुक्रबार रक्षामन्त्रीसमेत रहेका नेकपाका स्कूल विभाग प्रमुख पोखरेलले ती चार कुरा नेता तथा कार्यकर्ताले गरे पार्टी ध्वस्त हुने चेतावनी दिए।

विज्ञापन

उनले निर्देशन दिएका गर्न नहुने चार कुराः

१) राज्यको कानुनले अनुमति नदिएको काम नगर्नुहोस्।

२) कम्युनिष्ट आचरण र नैतिकसंग मेल नखाने काम नगर्नुहोस्।

३) समाजका अग्रगामी मूल्य मान्यतासंग मेल नखाने काम नगर्नुहोस्।

४) अपारदर्शी तरिकाले काम नगर्नुहोस्।

उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य पोखरेलले विगतको जस्तो ‘होल टाइमरु’भनेर हिँड्दा पार्टीलाई हानी पुग्ने बताए। त्यसरी हिँडे पनि कार्यकर्ताको आर्थिक लगायत सबै गतिविधि पारदर्शी हुनुपर्ने उनले बताए।

उनले भने, ‘अब विगतको जस्तो अपारदर्शी ढंगबाट पार्टी चल्दैन। त्यसैले मैले भनेका चार कुरामा ध्यान दिनुहोस् अनि पार्टीका लागि काम गर्नुहोस्।’

अबका कम्युनिष्ट कार्यकर्ता उत्पादनसँग गाँसिनु पर्ने पोखरेलको भनाइ थियो। अबको राजनीतिक कार्यदिशा समृद्धि प्राप्तिका लागि भएकाले त्यही अनुरुप हरेक कार्यकर्ताको गतिविधि हुनुपर्ने उनले बताए।

पोखरेलले भने, ‘यो समृद्धि भनेको वर्गीय हिसाबले प्राप्त गर्ने हुनुपर्छ। नत्र भने धनी हुने भएकै थिए। वर्गको कुरा किन उठाउनु पर्यो।’

समृद्धिका पाँच आधार

नेकपाका स्कूल विभाग प्रमुख पोखरेलले समृद्धिका पाँच आधारमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, आवश्यक्ता अनुसार औद्योगीकरण, उर्जा, पर्यटन र पूर्वाधार समृद्धिका पाँच आधार रहेको उनले बताए।

सोही अनुरुप पार्टीलाई अगाडि बढाउन उनले निर्देशन दिए। उनले कम्यूनिस्ट पार्टीका सबै नेता कार्यकर्ता उत्पादन, रोजगार र श्रममा जोडिनु पर्ने बताए।

पोखरेलले संगठनको बुझाइ र प्रचार एउटै हुनुपर्ने बताए। उनले भने, ‘दुई पार्टीबीचको एकतापछि झण्डा एक, पार्टी एक, व्यक्ति अलग–अलग हुनु हुँदैन।’

कार्तिक १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्