नशामा बेहोश युवतीमाथि हिंसा नभएको भन्दै सामूहिक बलात्कार मानिएन

स्पेनको एक अदालतले १४ वर्षीया एक युवतीमाथि भएको सामूहिक बलात्कारको आरोपलाई खारेज गर्दै यो घटनालाई मात्र यौन दुर्व्यवहार ठहर गरेको छ । अदालतको फैसलापछि त्यहाँ महिला अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।

यो घटनामा अभियुक्त रहेका पाँचजनालाई सामूहिक बलात्कारको साटो यौन दुर्व्यवहारमा सजाय सुनाइएको छ । अदालतले आफ्नो फैसलामा भनेको छ कि यो बलात्कार होइन किनभने पीडित युवती बेहोस अवस्थामा थिइन् र दोषीहरुले उनीमाथि कुनै किसिमको हिंसा गर्न आवश्यकता परेन । यही कारण यो घटनामा अभियुक्त रहेका पाँचजनालाई कम सजाय सुनाइएको छ ।

स्पेनको कानुन अनुसार कुनै अपराधलाई बलात्कार या यौन शोषण तब मानिन्छ जब त्यहाँ शारीरिक बल या धम्कीको प्रयोग हुन्छ । अदालतको यो फैसला तब आयो जब यही वर्षको सुरुवातमा नै स्पेनको सर्वोच्च अदालतले यस्तै किसिमको एक फैसलालाई उल्ट्याएको थियो र अभियुक्तहरुलाई रेपिस्ट बताएको थियो ।

महिलाअधिकारकर्मीहरु अदालतको फैसलाको विरोधमा उत्रेका छन् ।

के हो घटना ?


यो घटना अक्टुबर २०१६ को हो । केटेलोनियाको उत्तर पूर्वी क्षेत्रमा रहेको मानरेसा शहरमा मादक पदार्थसहितको पार्टी चलेको थियो । ती युवती त्यहाँ थिइन् ।

अभियोजन पक्षले अदालतमा भने अनुसार स्पेनका दुई, क्यूबाका दुई र अर्जेन्टिनाका एक युवकले मिलेर ती युवतीमाथि यौन दुर्व्यवहार गरे । जुन समयमा युवतीमाथि यौन दुर्व्यवहार भयो त्यसबेला उनी अल्कोहल र ड्रग्सको नशामा थिइन् ।

पाँच अभियुक्तहरुलाई १० देखि १२ वर्षको सजाय सुनाइएको छ । यदि यौन शोषण ठहर भएको भए उनीहरुलाई १५ देखि २० वर्षको जेल सजाय हुन सक्थ्यो ।

युवतीले अदालतमा भनेकी थिइन् कि उनीमाथि जे भएको थियो त्यसबारे उनलाई अलिअलि याद छ । युवतीका अनुसार एक युवकले उनलाई बन्दुक देखाइरहेका थिए ।
सबै अभियुक्तले आरोप इन्कार गरे तर एक युवकको डीएनए युवतीसँग मिल्यो ।

एल पेस नाम गरेको स्पेनिश पत्रिकाका अनुसार अदालतले आफ्नो फैसलामा भनेको छ कि पीडितलाई यो कुरा थाहा थिएन कि उनी के गरिरहेकी छन् ।

यस कारण उनले अभियुक्तहरुसँग शारीरिक सम्बन्ध राख्ने कुरामा सहमति या असहमति दिन सक्ने अवस्था भएन । साथै अभियुक्तहरुले हिंसा र धम्कीको प्रयोग नगरेरै शारीरिक सम्बन्ध राखे ।

कात्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्