आस्थाको महापर्व छठ, यस्तो छ पौराणिक र वैज्ञानिक महत्व

जनकपुरधाम – जनकपुरधामसहित तराई मधेशमा आज यहाँको सबैभन्दा ठूलो पर्व छठ मनाईँदै छ । छठ पर्व एकदम निष्ठा पूर्वक गरिने गरिन्छ त्यहि भएर यो पर्वलाई एकदम कठोर पर्वको रुपमा मानिन्छ ।

दीपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएलगत्तै तराई मधेशमा अहिले आस्थाको पर्व छठको रौनकताले छोएको छ । जसरी दियोको पर्व दीपावलीको तयारी १५ दिन अघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि हुन थाल्छ ।

विज्ञापन

कार्तिक मासको शुक्ल चतुर्थीेको दिनबाट सुरु हुने छठ पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यस पर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ ।

यस पर्वमा गरिब, धनी, ठूलो जाती, सानो जातीको ख्याल नगरी एक साथ एक ठाउँमा मिलेर मनाइने गरिन्छ । जसले गर्दा समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन सहायक शिद्ध हुने गरेको सांस्कृतिविद् डा. भोगेन्द्र झा बताउँछन् ।

पर्व प्रतिको अटुट आस्थाले यसलाई जीवनको प्रारम्भ देखिनै जनमानसको विश्वाससँग जोडेर राखेको वरिष्ठ साहित्यकार रामभरोस कापडि भ्रमर बताउँछन् । उनका अनुसार पर्व प्रति रहेको आस्थाकै कारण आज यो पर्व मिथिलांचल बाहेक पनि प्रशस्त श्रद्धालुहरु सँग जोडिँदै गएको छ ।

छठ पर्वको बिधि


छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानपख उदाउँदै सूर्यलाई अघ्र्य दिई पर्वको समाप्ति गरिन्छ । करोडौ हात अर्धको लागी एक्कै चोती सूर्य तिर फर्काएर नमन गर्दाको अद्भूत दृश्य विश्वमै विरलै होला ।

आस्थाको यही लोक परम्परा आज सर्वजनीन भएको छ, एकान्त आस्थाको प्रतिक भएको छ । छठ पूजामा साँझको समयमा जुन सामाग्री सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ सोहि प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा दिईने परम्परा रहेको छ ।

सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरु साँझदेखि बिहानसम्म जलाशयमा बनाईएको घाटमा नै राखिन्छ तर जुन ठाउँमा नदीहरुमा हुन्छ त्यस्ता ठाउँमा अचानक आउ सक्ने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसादहरु घर लगिन्छ र भोली बिहान सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याईन्छ ।

बिहानीको अर्घ्य दिइसकेपछि ब्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।

छठको पौराणिक महत्व


छठ पर्वको आफ्नै पौराणिक महत्व छ । छठ पर्वलाई लिएर धेरै मान्यताहरु विद्यमान रहेको छ । प्राचिन कालमा भगवान रामले रावणलाई बध गरेर लंकामाथि विजय गरेपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास गरेका थिए र सूर्यदेवको आराधना गरेको मान्यता रहेको छ । दुवैजना सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरे ।

यस प्रकार छठ पर्वको आरम्भ भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठुलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रहरुमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । त्यस्तै दोस्रो एक मान्यता अनुसार छठ पर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको शुरुवात सूर्य पुत्र कर्णले गरेको जनविश्वास रहेको छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए ।

उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए । महाभारतमा सूर्य पूजाको अर्को वर्णन समेत पाईन्छ । पाण्डव पत्नी द्रौपदी आफ्नो परिजनहरुको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन् ।

छठ पर्वको वैज्ञानिक महत्व


छठ पर्वको पौराणिक, सांस्कृतिक महत्व मात्र नभई यसको वैज्ञानिक महत्व समेत रहेको छ । षष्ठी तिथि एक विशेष खगोलीय अवसरको रुपमा रहेको छ जुन समयमा पृथ्वीको दक्षिणी गोलार्धमा सूर्य रहन्छ र दक्षिणायनक सूर्यको अल्ट्राभवाइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ ।

किनभने यस समयमा सूर्य आफ्नो तलको राशि तुलामा रहेको हुन्छ । जसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरुको आँखा, पेट र छालाआदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई पराबैजनी प्रकाशबाट जीवहरुको हानी नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकिएको विज्ञानका जानकारहरुको भनाई रहेको छ ।

छठको सन्देश


छठ पर्व पूर्ण रुपले स्थानिय स्तरमा उत्पादन हुने सामाग्रीमा निर्भर रहेको छ । यसमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाईन्छ । जस्तै स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङलो, कनसुप्ती, माटोद्वारा निर्मित सामाग्रीहरु, ढकना, सरबा, दियो, हाथी आदि ईत्यादि सामाग्रीहरु रहेको छ ।

हिन्दु धर्म संस्कृतिमा छठ पर्वको विशिष्टता आफैमा महत्पूर्ण रहेको छ । यस पर्वमा उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकै प्रकारको आस्था र निष्ठाका साथ पूजिन्छ ।

त्यसैगरि हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन् जसले उक्त कुरालाई प्रस्ट्याउछ की सृष्टि सबैको लागि समान हो यहाँ कोही ठूलो सानो, धनी गरिब छैनन् । त्यसैगरी वातावरणीय हिसाबले पनि छठ पर्व महत्वपूर्ण रहेको छ ।

वर्षमा एक पटक भएपनि आफ्नो जीवनसँग जुडेको प्रकृतिलाई संरक्षण गर्नुपर्छ र पोखरी, तालतलैया, नदीलगायत पानीको मुहान सरसफाई गरिन्छ जसले हामीलाई जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्दै आएको पानीलाई हामीले संरक्षा गर्नुपर्छ भन्ने खालका सन्देश दिएको छ ।

समुदायलाई जोड्ने काम गर्छ


छठ पर्वले विभिन्न समुदायका व्यक्तिहरुलाई जोड्ने काम गरेको छ । कुनै समय तराई मधेशमा रहेका हिन्दुधर्मावलम्बिहरुले मनाउने गरेतापनि अहिले यसको विस्तार भएको छ । अहिले तराई सहित पहाड र हिमाली क्षेत्रमा सहेत यस पर्वलाई बडो श्रद्धापूर्वक मनाइने गरिन्छ ।

त्यस्तै अहिल यो पर्वप्रति मुस्लीम समुदायका व्यक्तिहरु समेत आकर्षित भएको छ । यस पर्वको कारणले विभिन्न समुदाय, जात, धर्मका व्यक्तिहरु बिच सदभाव बढेको छ ।

समयसँगै आधुनिकता


छठ पर्व पूर्ण रुपले स्थानियस्तरबाट उत्पादन हुने सामाग्रीहरुको प्रयोग हुँदै आएकोमा अहिले आएर यसमा पनि आधुनिकता आएको छ । पहिले पहिले हातबाट बनेको बाँसका सामाग्री नांगलो, कन्सुप्ती, छिट्टी त्यस्तै माटोबाट बनेको हाति, घँईटो, ढकना लगायतको ठाउँमा पितलबाट बनेको सामाग्रीहरुको प्रयोग हुन थालेको छ ।

पितलको सामाग्री प्रयोग गर्नुलाई हरेक व्यक्ति आफ्नो आफ्नो तर्क दिन्छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का सीता देवी विगत २० वर्र्ष देखि छठ पर्व मनाउँदै आएको छ । उनले भने, ‘पहिले पहिले बाँस र माटोबाट बनेको सामग्री प्रयोग गरेपनि अहिले यसको मुल्य प्रत्येक वर्ष आकाशिदै गर्दा हामी पितलबाट बनेको सामाग्री प्रयोग गर्न थालेका छौ ।’

त्यस्तै वडा नं. ४ का रमेश साह भने अहिले बाँस र माटोबाट बनेको सामाग्री भेटन गाह्रो हुन थालेपछि आधुनिक प्रकारको सामाग्री प्रयोग गर्न थालेको बताए । अहिले छठ पर्वमा पितलका विभिन्न सामाग्रीहरु प्रयोग हुन थालेको छ ।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्