कोलम्बोमा अशोक सिलवालको ‘श्रीलंका स्मृति’

काठमाडाैँ– लेखक तथा पत्रकार अशोक सिलवालको पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।

श्रीलंका संसदका सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का अध्यक्ष बीभी मल्ल्किार्जुनाले सिलवालको पुस्तक संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

विज्ञापन

एसएलपिएको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा निम्त्याइएका लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो।

अघिल्लो वर्षसमेत त्यहाँ निम्त्याइएका उनको त्यही बेलाको एक साता लामो श्रीलंका यात्रा पुस्तकमा समेटिएको छ।

‘एक साताको श्रीलंका यात्रा मात्र होइन, त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाइ, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवनशैलीसँग जोडिएका मसिना सम्झनाहरूको संग्रह हो यो पुस्तक’, सिलवालले भने, ‘यो पुस्तक श्रीलंका परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो, जहाँ नेपालका जस्तै पहाडी वस्तीहरू थिए। वुद्धका अनुयायीहरू थिए। नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो। छिमेकी भारत थियो। चियाका बगानहरू थिए। मोहक तालहरू थिए। हरियाली थियो।’ पुस्तकले दुई देशबीच अझ आत्मीयता थप्ने विश्वास पनि उनले व्यक्त गरे।

‘सगरमाथाको देशबाट सागरको देश र भुपरिवेष्ठित देशबाट समुन्द्रवेष्ठित देश गएको एउटा अन्वेषी यात्रुको कथा हो यो’, आएएफडब्लुजेकी विदेश सचिव गितिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन्।

नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमण बर्ष २०२० को निम्तोसमेत लिएर श्रीलंका पुगेका सिलवालले बुद्ध जन्मेको देश नेपाल र बुद्धप्रेमी देश श्रीलंकाबीचको हार्दिक सम्बन्धलाई पर्यटनमार्फत अझ बलियो बनाउन सकिने बताए।

कार्तिक १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्